धनगढी । कैलालीकाे धनगढडीको कर्भडहल वरिपरि शुक्रबारको दिउँसो असामान्य चहलपहल थियो । भीड, नाराबाजी, र नेताहरूको आगमनले त्यो क्षणलाई साधारण राजनीतिक कार्यक्रमभन्दा फरक बनाएको थियो ।
देश गम्भीर राजनीतिक मोडमा उभिएको वेला-तीन/तीन जना शीर्ष वाम नेताहरू एउटै मञ्चमा उभिएर ‘एकता’, ‘स्वच्छ राजनीति’ र ‘नयाँ दिशा’ का कुरा गरिरहेका थिए ।
यस पटकको सभा भव्य सजावट वा ठूला खर्चका कारण होइन, वातावरणकै कारण खास थियो । केन्द्रबाट बजेट नआएको खुलासा गर्दै आयोजक नेताहरू आफैंले चिन्ता व्यक्त गरेका थिएऔ-‘सहभागिता कतै कम त हुँदैन ?’ तर अन्तिममा जनसागरको उपस्थिति नै उनीहरूका लागि पहिलो सन्देश बन्यो । जनताले ‘कुनै कुरा सुन्न चाहिरहेका छन्’।
जुन मोडमा देश छ, एकता बाहेक विकल्प छैन: प्रचण्ड
सभाको पहिलो ठूलो स्वर संयोजक प्रचण्डको थियो । उनी भावनात्मक थिए । खासगरी सुदूरपश्चिमबारे । जनयुद्ध, जनआन्दोलन, बलिदान, संघर्ष… यी सबै शब्द आजभन्दा विगतसँग धेरै जोडिए पनि प्रचण्डले त्यसलाई अहिलेको ‘राजनीतिक मोड’सँग सावधानीपूर्वक बाँधे ।

“देश यस्तो मोडमा पुगेको छ जहाँ वामपन्थी तथा देशभक्त शक्तिको बृहद् एकता अब अपरिहार्य छ,” उनले दुईचोटि दोहोर्याएजस्तै बोले । उनका वाक्यहरूमा राजनीतिक आग्रहभन्दा बढी सन्देश थियो । आगामी चुनाव नै ‘निकासको मुख्य मार्ग’, र त्यसमा ‘वृहत् एकता’।
१५ वाम घटक एक ठाउँमा आएको उल्लेख उनले गर्वका साथ गरे । “यो इतिहासकै पहिलो रेकर्ड हो,” उनीभित्र केही समयपछि राजनीतिक गणित होइन, भावनात्मक गर्व नै प्रधान रह्यो । तर त्यो गर्वको पछाडि एउटा संकेत छिपिएको थियो ।उनको मधुरो तर स्पष्ट भनाइ, “हाम्रो ध्यान एमालेतिर पनि छ ।”
यही एक वाक्यले सुदूरपश्चिमको भीडभाडभन्दा पर राष्ट्रिय सत्ता–समीकरणमा कुनै नयाँ ‘चलखेल’ भइरहेको संकेत गर्थ्यो ।
दलालीकरण सिध्याएर स्वच्छ राजनीतिमा फर्कनुपर्छ: नेपाल
यदि प्रचण्डको भाषण भावनागत थियो भने माधव नेपालको शैली विश्लेषणात्मक थियो । उनी सीधा–सिधा समस्यामा प्रहार गर्दै थिए । दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण, र अपराधीकरण ।
यो सूची उनले कुनै पुस्तकबाट पढेजस्तो होइन, आफ्नै वर्षौँको अनुभवबाट उतारेजस्तो लाग्थ्यो । “राजनीतिमा इमानदारी, समर्पण र देशप्रेम हरायो भने देश बन्ने स्थिति आउँदैन,” उनले भने । उनी ‘कसुर’ देखाउँदै थिए र त्यसलाई ‘सुधार गर्ने’ जिम्मा आफ्नो पार्टी लिन तयार रहेको अवस्था सिर्जना गर्दै थिए ।
नेपाली राजनीति धेरै पटक ‘शुद्धीकरण’को नारा सुनिसकेको छ । तर माधव नेपालका वाक्यहरूको तीखोपना यसपालि विशेष सुनिन्थ्यो—किनकि उनी ‘एकीकृत वाम’को नयाँ उद्घोषको बीचमा यो कुरा गरिरहेका थिए ।
मिशन होइन, पतन ०८४: भीम रावल
भीम रावलको प्रवेशसँगै सभाको वातावरण समीकरण–प्रधान बन्दै गयो । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ गरिएको राजनीतिक प्रहार छुपाएनन् । “मैले पहिले नै भनेको थिएँ, मिशन ०८४ होइन, पतन ०८४ आउँछ ।”
उनको स्वर चुनौतीपूर्ण थियो । जेनजी आन्दोलनका जलेका संरचना, खरानी धस्ने आरोप, र जनता तर्साउने आरोप… यी सबै वाक्यहरू सभालाई लामो समय राजनीतिक बहसतिर तानिरहन्थे ।
रावलले अर्को सन्देश दिँदै भने-“अब सुदूरपश्चिमबाटै नेपाली कम्युनिस्ट पार्टी एक नम्बर दल बन्नेछ ।” यो दाबी विकास, भू-राजनीति वा जनसांख्यिकीका आधारमा भन्दा बढी ‘आगामी राजनीतिक लडाइँको मनोवैज्ञानिक तयारी’ जस्तै सुनियो ।
नयाँ विकल्प
तीन नेताहरूबाट आएका तीन भिन्न–भिन्न आवाज एकै बिन्दुमा गएर ठोक्किए-राष्ट्र संकटमा छ, समाधान वाम एकताको बृहत् आकारले मात्र सम्भव छ ।
धनगढीको त्यो भीड केबल औपचारिक कार्यक्रममा सहभागी भएको होइन । उनीहरूले नेताहरूलाई ध्यानपूर्वक सुनेको देखिन्थ्यो । राजनीतिक स्थिरताका लागि जनता थाकेका छन् । परिवर्तनका लागि कुनै नयाँ भरोसा खोजिरहेका छन् ।
सभाले यही सन्देश घर–घर पुर्याउन खोज्यो । विभाजित वाम राजनीति अब एकीकृत बन्दैछ । नयाँ राजनीतिक समीकरणलाई जनताले ध्यानपूर्वक हेर्दै छन् ।
प्रतिकृया लेख्नुहोस्: