काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले देशभर सञ्चालन गरिरहेको ‘एकता सन्देश सभा अभियान’ केवल राजनीतिक गतिविधि मात्रै नभई वर्तमान शक्ति–समीकरण, राष्ट्रिय संकट, चुनावी अनिश्चितता र जनमनोविज्ञानको प्रत्यक्ष अभिव्यक्ति बनेको छ ।
देशका विभिन्न भूभागमा भइरहेका सभाहरूमा देखिएको जनसहभागिता सहज र सामान्य भीडभन्दा फरक, संगठित, उत्साहित र राजनीतिक रूपमा सजग देखिन्छ । यो उपस्थितिले एउटा कुरा स्पष्ट गर्छ-जनता राजनीतिक परिवर्तनको नयाँ बाटो खोजिरहेका छन् । र त्यो बाटाेलाई अहिले कम्युनिस्ट एकता अभियानले परिभाषित गर्न थालेको छ ।
नेपाल विगत केही वर्षयता अस्थिरताको चक्रमा अल्झिएको छ । सरकारहरूको असक्षम व्यवस्थापन, ठूला दलहरूको अविश्वसनीयता, राष्ट्रियता सम्बन्धी विवाद, विदेशी हावीपन, भ्रष्टाचार, आर्थिक गतिविधि सुस्त, बेरोजगारी र संघीय संरचनामा देखिएका अव्यवस्थाले जनतालाई थकित बनाएको छ । यस्ता समयहरूमा राजनीतिक विकल्पप्रति जनतामा स्वाभाविक रूपमै आकर्षण बढ्छ । र अहिले त्यो विकल्प कम्युनिस्ट एकता र नयाँ कम्युनिस्ट आन्दोलनको बहसमा परिलक्षित भइरहेको छ ।
यही सन्दर्भमा पोखरामा भएकाे गण्डकी प्रदेशकाे सन्देशसभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिएको भाषण राजनीतिक घटनाक्रमको केन्द्रबिन्दु देखिन्छ । प्रचण्डको अभिव्यक्तिमा तीन तहका राजनीतिक संकेतहरू देखिन्छन् ।पहिलो, मुलुक गम्भीर राष्ट्रिय संकटमा छ । दोस्रो, यस्तो संकटबाट देशलाई उम्काउन कम्युनिस्ट एकता अपरिहार्य छ ।र तेस्रो, आगामी फागुन २१ को चुनाव यो संकटको समाधानका लागि अवश्यम्भावी छ । उनको भाषणमा बारम्बार दोहोरिने “चुनाव त हामी जित्छौँ, तर राष्ट्र बचाउन राष्ट्रिय एकता अनिवार्य छ । याे केवल उत्साहजनक वक्तव्य मात्र होइन, नेपाली कम्युनिस्ट पार्टीले आगामी वर्षहरूका लागि बनाइरहेको दीर्घकालीन राजनीतिक नक्सानकनकाे संकेत जस्तै हो ।
प्रचण्डले कांग्रेस–एमालेको दुईतिहाइ अवधि उल्लेख गर्दै राष्ट्र संकटमा परेको तर्क अघि सारेका थिए । भ्रष्टाचारविरुद्ध लड्न नदिइएको, स्वाधिनता कमजोर पारिएको र देशलाई धरापमा पुर्याउन खोजिएको दाबी मार्फत उनले वर्तमान राजनीतिक शक्तिहरू प्रति जनआक्रोशलाई संगठित बनाउने प्रयास गरेका छन् । उनका भाषणहरूले चुनावलाई सत्ता प्राप्तिको साधनभन्दा बढी, ‘राष्ट्रिय उद्धारकाे चरण’ का रूपमा चित्रण गर्छ, जहाँ कम्युनिस्टहरू एकताबद्ध भएर अर्को राजनीतिक चरणतर्फ अघि बढ्छन् ।
यसैगरी विराटनगरमा सहसंयोजक माधवकुमार नेपालको भाषण पनि त्यही राजनीतिक रेखाको निरन्तरता हो । माधव नेपालको अभिव्यक्तिमा वैचारिक संगति, राजनीतिक विवेक र संगठनात्मक सावधानी देखिन्छ । उनले कम्युनिस्ट एकतालाई केवल गठबन्धनमूलक राजनीतिक समीकरण होइन, राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने ‘राजनीतिक निर्णय’ का रूपमा प्रस्तुत गरेका थिए । यसले कम्युनिस्ट एकतालाई वैचारिक गहिराइ प्रदान गर्छ । उनले विकृति–विसंगति अन्त्य, सुधारको प्रतिबद्धता, पार्टीलाई गतिशील बनाउने संकल्प र जनताको पीडा सम्बोधन गर्ने क्षमता विकासलाई कम्युनिस्ट आन्दोलनको नयाँ दिशासँग जोडेका छन् । उनकाे वक्तव्यले कम्युनिस्ट एकतालाई चुनावी तयारीभन्दा ठूलो—भविष्य निर्माणको मूलभूत कार्यका रूपमा व्याख्या गर्छ ।
नेता भीम रावलले बाेल्ने कार्यक्रमा पूरै अभियानलाई अर्को आयाम दिन्छ । सुरक्षा, शान्ति र संविधानिक अधिकारकाे सवाल । रावलले चुनाव स्वतन्त्र, निष्पक्ष र भयमुक्त हुनुपर्ने अनिवार्य सर्त उठाउँदै आएका छन् । जेनजी आन्दाेलनमा खोसिएका हतियार–गोलाबारुद फिर्ता नआएसम्म राज्य संयन्त्र कमजोर देखिने, जनतामा असुरक्षा बढ्ने र चुनाव अपूर्ण रहने उनको चेतावनी चुनावी प्रक्रियाको गहिरो राजनीतिक पक्ष हो । उनले जनतालाई संविधानले दिएको हक–अधिकार पूर्ण रूपमा उपयोग गर्न सकिने वातावरण निर्माणमा राज्य संयन्त्र गम्भीर हुनुपर्ने सन्देश दिदै आएका छन् ।
यी तीनै नेताका भाषणहरूको ‘सिन्थेसिस’ गर्दा एउटा राजनीतिक संरचना स्पष्ट देखिन्छ । कम्युनिस्ट एकता अब केवल एक दलको आन्तरिक अभियान होइन, देशको राजनीतिक संकट समाधान, राष्ट्रियता संरक्षण र भविष्यको समाजवादी रूपान्तरणको लागि तयार गरिँदै गरेको रणनीतिक कार्यक्रमजस्तै बन्दै गएकाे छ ।
देशभर भइरहेको सन्देश सभाहरूमा कम्युनिस्ट नेताहरूले उठाएका मुद्दा—राष्ट्रियता, स्वाधिनता, भ्रष्टाचारविरुद्धको संघर्ष, जनअधिकार, संक्रमण अन्त्य, वैचारिक स्पष्टता, जनसंगठनहरूको निर्माण—यत्रतत्र छरिएका विषयजस्तो देखिए पनि, राजनीतिक रूपमा ती सबै एउटै केन्द्रीय बिन्दुतर्फ जोडिन्छन् । त्यो बिन्दु हो-“नयाँ कम्युनिस्ट आन्दोलनको तयारी ।”
चुनावलाई ‘अन्तरिम कडी’ का रूपमा प्रस्तुत गर्ने र चुनावपछि ‘समाजवादी क्रान्तिकाे आधार निर्माण’ गर्ने संकेत नेताहरूले बारम्बार दिएको देखिन्छ । यसको अर्थ, कम्युनिस्ट पार्टी राष्ट्रिय संकटका बीच अवसर खोज्दै, आफ्नो आधार पुनःसंगठित गर्दै, भविष्यमा वैचारिक तथा राजनीतिक रूपान्तरणकाे बलियो आधार बनाउँदैछ ।
समग्रमा यो अभियानले केही महत्वपूर्ण राजनीतिक तथ्यहरू उजागर गर्छ । जनता फेरि वैकल्पिक राजनीति खोजिरहेका छन्, कम्युनिस्ट एकता त्यसको केन्द्रमा आएको छ, चुनाव राजनीतिक मोड बदल्ने निर्णायक क्षण बन्नसक्छ, र आगामी चरणमा समाजवादी परिवर्तनको राजनीतिक बहस अझ तीव्र बन्ने सम्भावना छ ।
यस्तो परिवेशमा कम्युनिस्ट उपलब्धि केवल चुनाव जित्नु होइन । राष्ट्रको राजनीतिक दिशा पुनर्संरचना गर्ने, राज्य संयन्त्रमा सुधार ल्याउने, जनता–शक्ति पुनर्संगठित गर्ने र समाजवादी संरचनाको पूर्वाधार तयार गर्ने दीर्घ राजनीतिक परियोजना हो ।
त्यसैले, नेपाली कम्युनिस्ट पार्टीको यो एकता अभियान आजको राजनीति मात्र होइन, भविष्यको सत्ता-समीकरण, राष्ट्रियता, जनअधिकार र सामाजिक रूपान्तरणसमेतसँग जोडिएको ‘बहुआयामिक राजनीतिक यात्रा’ को आरम्भिक चरण बनेर उदाउँदै छ ।
प्रतिकृया लेख्नुहोस्: