Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

कानुन मिचेर रकमान्तर

खबरडबली संवाददाता

काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब रु २९ करोड रकमान्तर गरिसकेको छ ।

अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरूले रु १६ करोड १५ लाख ४२ हजार बराबर आन्तरिक रकमान्तर गरेका छन् भने अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट रु १२ करोड ८४ लाख ५० हजार बराबर रकम विभिन्न मन्त्रालय र निकायलाई रकमान्तर गरेको देखिन्छ । यसरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रु २८ करोड ९९ लाख ९० हजार बराबर कानुन विपरीत रकमान्तर भएको हो । यसमा स्रोतान्तर र थप निकासा शीर्षकको रकम समावेश छैन ।

गत भदौमा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कानुन विपरीत आन्तरिक रकमान्तर गरेका छन् भने असोजमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियमावलीको व्यवस्था विपरीत रकमान्तर गरेको देखिन्छ । त्यस्तै, अर्थ विविध शीर्षकबाट भदौमा अर्थ मन्त्रालयका लागि एक पटक र असोज महिनामा गृह मन्त्रालयका लागि चार पटकसम्म रकमान्तर भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले यो रकम अनिवार्य दायित्व सृजना भएको अवस्थामा भुक्तानीका लागि प्रयोग भएको बताए । “विनियोजन ऐनमा त्रुटि भएर कुनै योजना तथा कार्यक्रमलाई बजेट नपरेको वा कम भएको, अदालतको आदेशबाट सरकारलाई दायित्व सृजना भएको र मन्त्रिपरिषद्बाट आर्थिक सहयोगका लागि उपलब्ध निर्णय भए बमोजिम त्यसको भुक्तानीका लागि यो रकम दिइएको हो । यसलाई कानुन विपरीत रकमान्तर भएको मिल्दैन”, प्रवक्ता पाण्डेयले भने ।

अर्थ मन्त्रालयको विवरणअनुसार चालु आर्थिक वर्षको बजेटमा अबण्डा शीर्षकमा राखिएको अर्थात् अर्थ विविध शीर्षकबाट गृह मन्त्रालयलाई असोज ९ गते रु सात करोड ६५ लाख, असोज २१ गते रु तीन करोड आठ लाख र असोज २२ गते रु ३० लाख रकमान्तर भएको छ । मन्त्रालयहरूले आन्तरिक रूपमा गरेको र अर्थ मन्त्रालयले स्वीकृति दिएको रकमान्तरको अवस्था हेर्दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत असोजमा रु १३ करोड ७६ लाख २३ हजार बराबर रकमान्तर गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु दुई करोड १७ लाख ८३ हजार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु २१ लाख ३६ हजार बराबर रकम असोजमा रकमान्तर गरेको छ ।

अर्थ मन्त्रालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको सुरुवाती पाँच महिना अर्थात् मङ्सिर मसान्तसम्ममा करिब रु आठ अर्ब बराबर रकमान्तर भएको छ । जसमध्ये विभिन्न मन्त्रालयहरूले रु छ अर्ब ८७ करोड ७५ लाख ७२ हजार बराबर आन्तरिक रकमान्तर गरेका छन् भने अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट रु ९३ करोड ५० लाख ५२ हजार रकमान्तर गरेको छ ।

त्यसो त अर्थ मन्त्रालयले गत साउन १ गते सबै मन्त्रालय र निकायहरूलाई बजेट कार्यान्वयन मार्गदर्शन पठाउँदा पनि पहिलो त्रैमासिक अवधिमा रकमान्तर नगर्नु भनेर परिपत्र गरेको थियो । बजेट कार्यान्वयन मार्गदर्शनको बुँदा नम्बर ५५ मा कुन–कुन अवस्थामा रकमान्तर गर्न हुँदैन भनेर खुलाइएको छ । सुरु विनियोजन नभएको खर्च संकेतमा, नयाँ क्रियाकलापमा, आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा र असार महिनामा रकमान्तर नगर्नु भनेर अर्थ मन्त्रालयले परिपत्र गरेको देखिन्छ । यसरी नियमावली र बजेट कार्यान्वयन मार्गदर्शन विपरीत हुने गरी अर्थ मन्त्रालय आफैबाट समेत रकमान्तर हुनु आर्थिक अनुशासनको उल्लङ्घन मात्र नभई कानुनको अटेरी हुन जाने जानकारहरूको बुझाइ छ ।

अर्थविद् डा डिल्लीराज खनाल पहिलो त्रैमासमा रकमान्तर गरिनु विद्यमान कानुनको बर्खिलाप रहेको बताउँछन् । कानुनको उल्लङ्घन हुँदासमेत कसैलाई जिम्मेवार बनाउन नसकिएको उनको भनाइ छ । “आफैँले बनाएको कानुन हामी आफैँ परिपालना गरिरहेका छैनौँ । उल्लङ्घन गर्दा कोही जिम्मेवार हुन नपर्ने अवस्था छ”, उनले रासससँग भने, “बजेट प्रणालीमा भद्रगोल र अराजकता छ । हाम्रो वित्तीय र समग्र प्रणाली असफल हुने भनेको यस्तै बेथिति बढ्दै गएर हो ।”

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावली विपरीत मन्त्रालयहरूबाट रकमान्तर गर्ने गरेको यो पहिलोपटक भने होइन । अघिल्ला वर्षहरूमा विभिन्न मन्त्रालयले आर्थिक वर्ष सुरु भए लगत्तै रकमान्तर, स्रोतान्तर र थप निकासा गर्ने गरेको देखिन्छ । तुलनात्मक रूपमा हेर्ने हो भने यस वर्ष भएको कानुन विपरीतको रकमान्तर अघिल्ला वर्षहरूको भन्दा कम हो ।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा रु दुई अर्ब ५१ करोड ७४ लाख ६७ हजार बराबर रकमान्तर भएको थियो । जसमध्ये उखु किसानले पाउने अनुदान र दुग्ध किसानले रकम भुक्तानीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई मात्र रु दुई अर्ब ३६ करोड रकमान्तर भएको थियो ।

यसरी कानुन विपरीत रकमान्तर भएको विषयलाई महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष आफ्नो प्रतिवेदनमा उल्लेख गर्ने गरेको छ । महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८२ ले पहिलो त्रैमास र वर्षान्तमा रकमान्तर गर्ने, शून्य बजेट विनियोजन भएका आयोजना तथा कार्यक्रममा रकमान्तर गर्ने, राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटसमेत रकमान्तर गर्ने जस्ता कानुन विपरीतका काम रोकिनुपर्ने उल्लेख गरेको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक अवधिमा मात्र रु ११ अर्ब ६४ करोड सात लाख अर्थात् कूल वार्षिक रकमान्तरको चार दशमलव ५४ प्रतिशत रकमान्तर भएको थियो । यो वर्षको रकमान्तरमध्ये २०८१ असार महिनामा रु २६ अर्ब ९० करोड ३४ लाख र २०८१ असार महिनाको अन्तिम हप्तामा मात्र रु १५ अर्ब ९८ करोड ३० लाख रकमान्तर गरिएको थियो । त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा बजेट विनियोजन नभएको खर्च शीर्षकमा रकमान्तर गर्न नपाइने व्यवस्था रहेकोमा शून्य बजेट विनियोजन भएका २३ वटा कार्यक्रमका लागि रु ११ अर्ब ७५ करोड ९८ लाख रकमान्तर भएको महालेखापरीक्षकको ६२ औँ प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य आयोजनामा रकमान्तर गर्न पाइँदैन । तर आर्थिक वर्ष २०८०/८१ मा आठ वटा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रु पाँच अर्ब २८ करोड ५० लाख अन्य आयोजनामा रकमान्तर गरिएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को कूल वार्षिक बजेट रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखमध्ये रु ९५ अर्ब २९ करोड ७४ लाख अर्थात् वार्षिक विनियोजनको पाँच दशमलव ३१ प्रतिशत रकमान्तर भएको छ । सोमध्ये २०८० असारमा मात्र रु २३ अर्ब १० करोड ६५ लाख र असारको अन्तिम हप्तामा मात्र रु १३ अर्ब ८१ करोड ९९ लाख रकमान्तर गरी विभिन्न शीर्षक/उपशीर्षकमा थप घट गरिएको थियो । सो आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र रु ३३ अर्ब १५ करोड १९ लाख अर्थात् कूल रकमान्तरको ३४ दशमलव ७९ प्रतिशत रकमान्तर भएको छ । यस्तो कार्य गर्दा कानुनको परिपालना गरिनुपर्ने महालेखापरीक्षकको ६१ औँ प्रतिवेदनमा उल्लेख छ 

विनियोजन ऐन, २०७९ को दफा ३ (३) मा रकमान्तर गर्दा जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी अनुदान सङ्ख्याबाट अर्को एक वा एकभन्दा बढी अनुदान सङ्ख्यामा रकमान्तर गर्न सकिने व्यवस्था रहेको छ । सो कानुनी व्यवस्थाको प्रतिकूल हुने गरीसमेत रकमान्तर भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending