काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लाग्दै जाँदा नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापाको राजनीतिक यात्रामा अर्को महत्वपूर्ण मोड आएको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा थापा कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
राजावादी धारको विरासत बोकेर राजनीति थालेका थापाले कांग्रेस प्रवेश गरेपछि निरन्तर उकालो यात्रा तय गर्दै आएका थिए । बुधबार उनको राजनीतिक जीवनमा अर्को ‘सुनौलो अध्याय’ थपिएको छ, जब उनी कुनै प्रतिस्पर्धाबिनै राष्ट्रिय सभाको सदस्य बने ।
संयोगवश विपक्षी दल नेकपाका उम्मेदवार समयमै निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित नहुँदा कांग्रेसका उम्मेदवार थापाका लागि राष्ट्रिय सभाको ढोका स्वतः खुल्यो । नेकपाले कोशी प्रदेशबाट हेमराज घिमिरेलाई उम्मेदवार बनाएको थियो । संखुवासभाबाट विराटनगर पुग्न ढिलाइ भएपछि घिमिरे मनोनयन प्रक्रियामा सहभागी हुन सकेनन् र थापा निर्विरोध निर्वाचित भए ।
राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिन थापाले राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयबाट राजीनामा दिएका थिए । उनी १६ चैत २०७९ मा राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत थिए । राष्ट्रिय सभा निर्वाचनका लागि थापाले गत १ पुसमा औपचारिक रूपमा सचिवालयबाट राजीनामा दिएका थिए ।
थापा नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता हुन् । कांग्रेस प्रवेश गर्नुअघि उनी राप्रपाबाट २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा–२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उक्त क्षेत्र उनका पिता सूर्यबहादुर थापाको परम्परागत निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ ।
२०७४ जेठमा गठन भएको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा थापा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मतमा सीमित हुनुपरेको थियो ।
राप्रपाको राजनीति कमजोर बन्दै गएपछि २०७७ सालमा थापा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेस प्रवेशकै बेला सभापति शेरबहादुर देउवाले उनलाई पार्टीको सह–महामन्त्री जस्तो शक्तिशाली पदको जिम्मेवारी दिएका थिए । त्यसपछि उनी पार्टीभित्र क्रमशः प्रभावशाली नेताका रूपमा स्थापित हुँदै गए ।
राजनीतिमा आउनुअघि थापाले संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशमा लामो समय काम गरेका थिए । आकर्षक अन्तर्राष्ट्रिय जागिर छाडेर राजनीतिमा प्रवेश गरेका उनी कांग्रेस प्रवेश गरेपछि भने पछाडि फर्केर हेर्नु परेको छैन ।
सह–महामन्त्री, केन्द्रीय सदस्य, राष्ट्रपतिको राजनीतिक सल्लाहकार हुँदै अब राष्ट्रिय सभा सदस्यसम्मको यात्रा तय गरेका थापा अहिले कांग्रेसभित्र उदाउँदो र संस्थापनसँग नजिकको अनुहारका रूपमा हेरिन थालेका छन् । राजावादी राजनीतिबाट लोकतान्त्रिक मूलधारसम्म आइपुगेका थापाको यो यात्राले नेपाली राजनीतिमा विचारभन्दा अवसर र सन्तुलन कति निर्णायक हुन्छ भन्ने तथ्यलाई पुनः उजागर गरेको छ ।
प्रतिकृया लेख्नुहोस्: