Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

कुलमानले सहमतिभन्दा अतिरिक्त मागेपछि भाँडियो रास्वपासँगको एकता

खबरडबली संवाददाता

काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसिङले पार्टीको नाम, पदाधिकारी–केन्द्रीय सदस्य र समानुपातिक–प्रत्यक्ष सांसदतिर धेरै संख्या मागेपछि रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा)को एकता सम्झौता १२ दिनमै भंग हुने अवस्थामा पुगेको हो ।

१४ पुसमा भएको एकीकरणसम्बन्धी सातबुँदे सहमति शनिबार भंग भएसँगै दुवै पार्टीले आ–आफ्ना राजनीतिक कदम अगाडि बढाएका छन् । रास्वपा सचिवालय बैठकले उनेपासँगको सहमति अनुमोदन नगर्ने निर्णय लिएको छ भने उनेपाको केन्द्रीय समिति बैठकले आगामी निर्वाचनमा ‘चिम’ चुनाव चिह्नमा भाग लिने निर्णय गरेको छ ।

सहमतिभन्दा धेरै माग गरेकाले एकता भाँडिएको रास्वपाको दाबी छ भने घिसिङले सहमति कार्यान्वयनका नाममा अल्झाइएकाले बाध्यात्मक कदम चालिएको बताएका छन् । पार्टी एकताको सम्झौता हुँदा उज्यालो नेपालका संरक्षक रहेका घिसिङ सम्झौता भंग भएको दिनै शनिबार केन्द्रीय समिति बैठकबाट अध्यक्षमा चयन भएका छन् ।

रास्वपा प्रवक्ता मनीष झाले सचिवालय बैठकले उनेपासँगको सहमति अनुमोदन नगर्ने निर्णय गरेको बताए । उनका अनुसार सुरुदेखि नै समानुपातिक सूची र सिट बाँडफाँटमा मर्मविपरीत अभ्यास देखिएपछि समस्या भएको हो । 

‘सहकार्य गरेर सँगै अगाडि बढ्ने अभिप्रायले सहमति गरेका थियौँ । सुरुमै हाम्रो मर्मविपरीत उहाँहरूले समानुपातिक सूचीमा फरक अभ्यास गरिदिनुभयो । ससुरा, भान्जा, छिमेकी सिफारिस भयो । त्यसबाट मूल्य चुकाउनुपर्‍यो,’ झाले भने, ‘त्यसमाथि उहाँले यति जना कन्फर्म हुनुपर्छ भन्नुभयो । चुनाव भएकै छैन, हामीले कसरी त्यो ग्यारेन्टी गर्न सक्छौँ ? प्रत्यक्षमा पनि सत्ता बाँडफाँटको कुरा अहिलेदेखि गर्न थाल्नुभयो । हामीले बालेन शाहलाई प्रधानमन्त्री प्रस्ताव गरेका छौँ, बाँकी निर्वाचन परिणामपछि छलफलको कुरा हो ।’ 

बैठकमा सभापति रवि लामिछानेले अधिकतम लचकता देखाउँदा पनि पार्टी एकता जोगाउन नसकिएको ब्रिफिङ गरेका थिए । ‘पार्टी एकता बचाउन अधिकतम लचकता अपनाएको हुँ । तर, उज्यालो नेपालसँगको एकता हाललाई स्थगित गर्नुपर्ने अवस्था आयो,’ लामिछानेको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

रास्वपा नेताहरूका अनुसार घिसिङले पार्टीको नाममा ‘उज्यालो’ थप्नुपर्ने, प्रत्यक्ष निर्वाचन क्षेत्र तोकेर दिनुपर्ने तथा वरिष्ठ उपसभापति र महामन्त्री पाउनुपर्ने माग राखेका थिए । ‘अहिले नै सिट तोकेर भागबन्डा गर्नु उपयुक्त हुँदैन,’ लामिछानेको भनाइ उद्धृत गर्दै एक नेताले भने । रास्वपाको पछिल्लो बैठकले एक महामन्त्री पद थपेर बालेन शाह समूहलाई दिने निर्णय भएको थियो ।

सुरुको सहमतिअनुसार उज्यालो नेपाल समूहले पहिलो वरीयताको उपसभापति, २१ केन्द्रीय सदस्य, १८ समानुपातिक उम्मेदवार पाउने सहमति भएको थियो । तर, सचिवालयसहित सबै कमिटीमा ३० प्रतिशत हिस्सा, पार्टीको नाममा उज्यालो थप्नुपर्ने, बन्दसूचीमा ६ जना निर्वाचित हुने गरी राख्नुपर्नेलगायत माग राखेपछि समायोजन कठिन भएको रास्वपा नेता असीम शाहले बताए । ‘मागहरू थपिँदै जाने, वार्तामाथि वार्ता हुँदै जाने कुराले लिंगरिङ मात्र भयो । अब च्याप्टर क्लोज भयो,’ उनले भने ।

रास्वपासँगको सहमतिमा घिसिङ पहिलो वरीयताको उपसभापति बन्न तयार भएका थिए । ठोस सहमति गर्ने भन्दै लामिछाने र घिसिङबिच शुक्रबार र शनिबार पनि छलफल भएको थियो । लगातार पेल्ने नीति, समानुपातिकमा विभेद, संंख्या कटौती, नाममा उज्यालो थप्ने प्रस्ताव अस्वीकार गरेपछि सँगै जान नसकिएको उनेपाको भनाइ छ ।

सहमति भंग भएपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले आफूले कुनै ठुलो पदका लागि बार्गेनिङ नगरेको दाबी गरेका छन् । ‘म त रास्वपाको साधारण सदस्य भएर बस्नसमेत तयार थिएँ । तर, हाम्रो केन्द्रीय समितिका साथीहरूको समायोजन हुनुपर्ने कुरा राख्दा पनि सहमति कार्यान्वयन भएन,’ शनिबार साँझ त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने ।

संविधानका आधारभूत विषयमा सहमति कायम गर्न पूरक सम्झौता गरौँ भन्दा पनि रास्वपाले नमानेको र उसले एकतर्फी सहमति तोडेको घिसिङको भनाइ छ । ‘१२ दिन अत्यन्तै पीडादायक रह्यो । यो अवधिमा उज्यालो नेपालका सदस्य र शुभेच्छुक साथीहरूले धेरै पीडा बेहोर्नुपरेको छ । उनीहरूले हामीलाई सहमति कार्यान्वयनको प्रक्रियामा इन्गेज गराएर ठाउँ–ठाउँमा पार्टी प्रवेशका कार्यक्रम राखे,’ उनले भने, ‘हामी जेन–जी आन्दोलनले चाहेको नयाँ शक्ति सम्बोधन गर्न सकभर सहमति कार्यान्वयन होस् भन्नेमा थियौँ । चुनावका वेला लामो समय इन्गेज गरेर बस्दा उज्यालो नेपाल पार्टीलाई ठुलो क्षति भएको छ ।’

देशको परिस्थिति, जेन–जी युवाको भावना र सम्पूर्ण नेपाली जनताको भावना र आकांक्षाअनुसार नयाँ भनिएका शक्ति एक हुनुपर्छ भनेर सम्पूर्ण कुरा त्यागेर रास्वपासँग सहमति गरेको उनले स्मरण गरेका छन् । तर, सहमति कार्यान्वयन नगरी रास्वपाले एकतर्फी रूपमा भंग गरेको उनको दाबी छ । ‘पटक–पटक छलफल हुँदा पनि सहमति कार्यान्वयन भएन । हीनताबोधका साथ अगाडि बढ्नुपर्ने अवस्था आयो । लिखितमा नभएका सहमति पनि धेरै थिए,’ उनले भने, ‘हाम्रो साथीहरूले कुनै ठुलो डिमान्ड राखेको थिएन । मिडियामा धेरै बार्गेनिङ गरेको कुरा आएको छ, त्यो गलत हो । वरीयतामा धेरै तल भएर पनि सहेर सहमति गरेका थियौँ ।’

उनले लचक हुँदा कमजोरी ठानिएको गुनासो गर्दै सहमति भंग हुँदा मर्माहत भएको बताए । ‘सुशासन र समृद्धिको विषय उठाएर जेन–जी आन्दोलन भयो । त्यसलाई सम्बोधन गर्न वैकल्पिक शक्ति सबै एक हुनुपर्छ भन्ने सुरुदेखिकै हाम्रो धारणा थियो । मैले प्रधानमन्त्री मागेको थिइनँ, पार्टी अध्यक्ष पनि मागेको थिइनँ,’ उनले भने, ‘सहमति ब्रेक गर्नुभयो । १२ दिनसम्म लक गरेर अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन । हाम्रो त्यागलाई कमजोरी ठानियो । म अत्यन्त मर्माहत भएको छु । यो अवस्था आउँछ भन्ने लागेको थिएन ।’ 

घिसिङले उज्यालो नेपाल पार्टीको सदस्यता शनिबार मात्रै लिएको र आफूलाई केन्द्रीय समिति बैठकले अध्यक्ष चयन गरेको बताए । ‘आज उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु र आजै उज्यालो नेपाल पार्टीको अध्यक्ष चयन भएको छु,’ घिसिङले भने, ‘पार्टीलाई देशव्यापी रूपमा प्रभावकारी रूपमा अगाडि बढाउनेछु ।’ उनले प्रत्येक घरमा बत्ती पुर्‍याएको भन्दै देश र जनताको पक्षमा काम गर्न एकपटक निर्वाचनमा जिताउने आह्वान पनि गरे ।

रास्वपासँग एकताको सहमतिपछि उनेपाले समानुपातिक बन्दसूची बुझाएको छैन । यसमा अध्यक्ष घिसिङले समानुपातिकका विषयमा नयाँ ढंगले सोच्ने बताए । ‘हामी जसरी पनि व्यवस्थापन गर्छौँ । भएन भने प्रत्यक्ष मात्रै भए पनि लड्छौँ,’ उनले भने । 

यस्तै, घिसिङले गठबन्धनको विकल्प खुला राखेको पनि सुनाए । ‘सबैसँग गठबन्धनको विकल्प खुला छ । कुनै आग्रह–पूर्वाग्रह छैन । रास्वपासँग पनि गठबन्धन हुन सक्छ,’ घिसिङले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending