काठमाडौं । भनिन्छ, जितको सदैव महत्त्व रहन्छ, हारले त मन मात्र खिन्न बनाउँछ। तर कहिलेकाहीँ जितनजिक पुगेर हार्नु पनि जितसरह हुने रहेछ। यस्तो हारले अंकमा भने अर्थ राख्दैन। यस्तै किसिमको हार नेपालले आइसिसी टी–ट्वान्टी विश्वकपमा आइतबार इङ्ल्यान्डसँगको खेलमा बेहोर्नुपर्यो।
भारतको मुम्बईमा भएको विश्वकपमा नेपाल पहिलो खेलमै इङ्ल्यान्डसँग चार रनले स्तब्ध भयो। निडरतापूर्वक ब्याटिङ र अन्तिम बलसम्मको लडाइँले पनि नेपाल एकपल्ट फेरि ठुलो राष्ट्रलाई हराउन असफल रह्यो। वाङ्खडे स्टेडियममा इङ्ल्यान्डले १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। पूरै ओभर खेल्दै नेपालले ६ विकेटको क्षतिमा १८० रन मात्र जोड्न सक्यो।
नेपाल फेरि पनि विश्वकपमा टेस्ट राष्ट्रसँग जितनजिक पुगेर पराजित भयो। नेपालले पराजय बेहारे पनि वाङखडे स्टेडियमा १७ हजारभन्दा बढी समर्थक नेपाली खेलाडीका प्रशंसक नै बने। गत विश्वकपमा पनि नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो। त्यतिबेला अन्तिम बलसम्म लडेर नेपालले दक्षिण अफ्रिकालाई नतिजा सुम्पेको थियो। यसपल्ट पनि सोही नियति नेपालले भोग्नुपर्यो।
भारतीय भूमिमा आइतबार जित्नेको भन्दा हार्नेको चर्चा भयो। हारपछि विश्व क्रिकेटका चर्चित क्रिकेटर डेल स्टेनले आफू नेपाली क्रिकेटमा सेवा गर्न इच्छुक रहेको भनी प्रस्ताव नै राखे। ‘नेपाल, यदि आवश्यक छ भने म सेवा गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
उनले नेपाली क्रिकेट विकास भइरहेको पनि संकेत गरे। खेलपछि विदेशी पत्रकारले नेपाली बलर नन्दन यादवसँग डेल स्टेनले नेपाली क्रिकेटमा काम गर्ने प्रस्ताव राखेको प्रसंग उठाए तर नन्दनले यो क्यानको हातमा रहेको भन्दै मुस्कुराउँदै खुसी प्रकट गरेका थिए। कुनै पनि खेल चलिरहँदा प्रेस बक्समा पत्रकारको भूमिका नै तटस्थ हुने गर्छ। त्यो खेल आफ्नै देशको नै किन नहोस् तर इङ्ल्यान्डसँग खेल हुँदा फरक दृश्य देखियो। नेपाली पत्रकारहरू शान्त देखिए।
यद्यपि विदेशी पत्रकारहरू नेपाली ब्याटरको निडरतापूर्वक हरेक सटको प्रशंसा गर्थे। ‘नाइस’, ‘वाउ’, ‘आउटस्ट्यान्डिङ’ लगायत शब्दहरू उनीहरूले नेपाली खेलाडीका लागि खर्चिए। विश्व क्रिकेटमा शक्ति राष्ट्रसँग खेल्दा जित मात्र होइन, यस किसिमको प्रदर्शनले पनि विशेष अर्थ राख्छ। विश्वकै नजर परेको खेलमा व्यक्तिगत प्रदर्शनले उनीहरूका लागि ठुला फ्रेन्चाइज प्रतिस्पर्धाको बाटो पनि खुल्नेछ।
हुन त विश्वकप खेल्न आएको नेपालका लागि जितले अर्थ राख्छ तर कहिलेकाहीँ यस्ता शब्दहरूले आगामी दिनमा पनि अप्रत्यासित जितको बाटो कोर्नेछ। त्यो हारले विश्व क्रिकेटको मन जित्यो। विपक्षी टोली इङ्ल्यान्डका विल ज्याक्सले पनि नेपाली टोलीको प्रशंसामा धेरै शब्द खर्चिए। उनले आफूलाई नेपाली टोलीसँग खेल्दा धेरै डर लागेको प्रतिक्रियासमेत दिए। ‘जितका लागि १० रन बाँकी छँदा मेरो मुटु धेरै धड्किएको थियो। नेपाल हरेक क्षेत्रमा उत्कृष्ट थियो। उनीहरूलाई यो प्रदर्शनको पूर्ण श्रेय दिनुपर्छ। तर साम करणले उत्कृष्ट बलिङ गरे। महत्त्वपूर्ण जित निकाल्यौं,’ उनले भने, ‘आजको प्रदर्शनले कुनै पनि खेल सहज हुनेछैन भन्ने स्पष्ट पारेको छ।’
ज्याक्सको यो अभिव्यक्तिले नेपाल विश्वकपका लागि सुपर आठको दाबेदार रहेको पनि देखाएको छ। जहाँ नेपालले दुईपल्टको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्नेछ।
नन्दन यादवले पनि नेपाल सुपर आठमा पुग्ने सम्भावना रहेको विश्वास व्यक्त गरेका छन्। अब नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा खेल्नेछ। उक्त खेलमा पनि नेपालले यस्तै प्रदर्शन गर्दै विश्वकपको दोस्रो चरणमा पुग्ने सम्भावना जीवन्त राख्न सक्नेछ।
यादगार ब्याटिङ
यसपल्ट फेरि नेपालले यादगार ब्याटिङ प्रेरणामा जित इनिङ अन्तिम बलसम्म लड्यो। यद्यपि निडरतापूर्वक ब्याटिङ गरे पनि नेपाल असफल भयो। अन्तिम बलमा ६ रन आवश्यक हुँदा लोकेश बमले सफलता पाउन सकेनन्। उनले नै १८औं र १९औं ओभरमा ठुला सट खेल्दै नेपाललाई जितनजिक पुर्याएका थिए। लोकेशको आक्रामक ब्याटिङसँगै अन्तिम ओभरमा नेपाललाई १० रन आवश्यक बन्यो तर साम करणको बलमा नेपालले पाँच रन मात्र बनाउन सक्यो। लोकेश ३९ रनमा अविजित रहे। उनले २० बलमा चार चौका र दुई छक्का हिर्काए। अनुभवी सामले नायकी बलिङ गरे। उनले १५औं र डेथ ओभरमा किफायती बलिङ गरेपछि नेपाल ऐतिहासिक जितबाट चुक्यो। सामले खेलको सर्वाधिक ठुलो साझेदारी पनि तोडे।
कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले ‘रनिङ बिटविन विकेट’मा राम्रो गर्दै इनिङ समाले। यी दुईले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरे। चौथो नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रले ४४ रन बनाए। उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरे। यो नै सर्वाधिक ठुलो व्यक्तिगत स्कोर रह्यो। दुई ब्याटर क्रिजमा रहँदासम्म नेपाल बलियो स्थितिमा थियो तर १५औं ओभरमा टर्निङ पोइन्ट बन्यो।
सामले यस ओभरमा आफ्ना अनुभवको पूर्ण सदुपयोग गरे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पूरै ओभरमा सात विकेट गुमाउँदै १८५ रन जोडेको हो। ज्याकबले ५५ रन र कप्तान ह्यारी ब्रुकले ५३ रनको इनिङ खेल्दै नेपाललाई बलियो लक्ष्य दिएका हुन्।
अन्तिम ओभरमा करण केसीले २० रन दिए। डेथ ओभरमा पनि नेपालले राम्रो गर्न नसकेको नन्दनले स्वीकार गरे। उनले डेथ ओभरमा सुधार आवश्यक रहेको उल्लेख गरेका छन्। नेपालको बलिङमा नन्दन र दीपेन्द्रसिंहले समान दुई तथा शेर र सन्दीपले समान एक विकेट लिए। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: