म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल वसन्त ऋतुको आगमनसँगै मनमोहक र रमणीय बनेको हो ।
घोडेपानीका बासिन्दा देवेन्द्र पुन (सुशील)ले गुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी पाहुनाको पर्खाइमा रहेको बताए। “ढकमक्क गुराँस फुलेर पाखा रङ्गिन थालेको घोडेपानी पाहुनाको स्वागतका लागि आतुर छ”, उनले भने, “घोडेपानीको दायाँ र बायाँ रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।”
स्वच्छ हावापानी र शान्त वातावरणले तनमन चङ्गा बनाएको बेनीबाट घोडेपानी घुम्न गएका मिलन खत्रीले अनुभव सुनाए। “गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनायो”, उनले भने, “हिमाल हेर्दै गुराँससँग रमाउँदा समय बितेको पत्तै पाइँदैन ।” गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने आन्तरिक पर्यटक प्रमिला जोशी श्रेष्ठले बताए। श्रेष्ठको टोली गत शनिबार घोडेपानी पुगेर गुराँसका बोटमा रमाउने र तस्बिर खिचाएर फर्किएको थियो ।
चैत–वैशाख गुराँस फुल्ने याम हो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्यावलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ ।
पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धवलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए।
एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको उहाँको दाबी छ । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ ।
घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो । गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ । फर्कँदा प्यारीबराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ।
घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ । प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी (पोन्नी ट्रेल)मा जान सकिन्छ ।
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि बसन्त ऋतुको प्रमुख आकर्षण गुराँस हो । याम सुरु भए पनि यसपालि पर्यटक आगमन अपेक्षाकृत हुन नसकेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष जुली ठकुरी पुनले गुनासो गरे ।
मध्यपूर्वका देशहरूमा उत्पन्न तनाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र प्रतिकूल मौसमका कारण पर्यटक आगमन हुन नसकेको उहाँले बताउनुभयो । विदेशी पर्यटकको आगमन कम भए पनि विद्यालयहरूको वार्षिक परीक्षा र माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि विद्यालयहरू बिदा हुने, शिक्षक र कर्मचारीहरू नयाँ वर्षको अवसर पारेर घोडेपानी घुम्न आउने अपेक्षा होटल व्यवसायीहरूले गरेका छन्।
स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएका छन् । घोडेपानीमा रहेका २७ होटललाई सुविधा र पूर्वाधारका आधारमा दुई समूहमा वर्गीकरण गरेका छन् । एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु नौ सय ५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । घोडेपानीका होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन्।
घोडेपानीमा सवारीसाधन र पैदलयात्रा गरेर पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार, शिख, चित्रे हुँदै २१ किलोमिटर दूरीका पुगिने घोडेपानीमा पोखरादेखि बस सञ्चालन हुन थालेको छ । कास्कीको नयाँ पुलदेखि बिरेठाँटी–उल्लेरी हुँदै घोडेपानी जोड्ने कच्ची सडक पनि गत कात्तिकदेखि सञ्चालनमा आएको छ।
घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाँडातर्फबाट घोडेपानी पुग्न सकिने पदमार्गहरू रहेका छन् । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले पदमार्गको संरक्षण, पुनर्निर्माण, सडक स्तरोन्नति र सहायक गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिइएको बताए।
“सडकमार्ग भएर मुस्ताङ जाने–आउने पर्यटकलाई घोडेपानी भित्र्याउन पोखरेबगरदेखि कास्कीको नयाँ पुल जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएको छ”, उनले भने, “घोडेपानीमा पर्यटकको बसाइ लम्ब्याउन ‘गुराँस पार्क’, घोडामार्ग, साइकल मार्ग र सहायक गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।”
प्रतिकृया लेख्नुहोस्: