काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्णयमा पुगेका छन् । उनीहरूले पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार पेसी तोकेकाले त्यतिन्जेल पर्खने निर्णय कोइराला पक्षधर नेताहरूले यसअघि नै गरेका थिए । तर अदालतले आइतबार पेसीमा नचढाई सुनुवाइ स्थगन गरेको थियो । ‘अब अदालतको प्रतीक्षा पनि सकियो । अर्को तारिख कुरेर पार्टीलाई थप क्षति हुन दिन हुन्न । पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्छ,’ अघिल्लो केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री रहेका जीवन परियारले भने ।
परियारले आफूहरू एकताकै पक्षमा रहेको र एकताका लागि संवादको नेतृत्व सभापति गगन थापाले लिनुपर्ने बताए । उनले थपे, ‘शेखर कोइरालाले पनि पार्टी एकताकै लागि आफू संघर्षरत रहेको बताउँदै आउनुभएको छ । अलग्गिएर होइन, सम्पूर्ण एकतामा मात्रै पार्टीको भविष्य छ ।’
२७–३० पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले २ माघमा मान्यता दिएपछि पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले ४ माघमा सर्वोच्चमा रिट हालेका थिए । त्यही मुद्दाको पेसी आइतबार तोकिएको थियो । निर्वाचन पछाडि देउवा पक्षले संस्थागत रूपमै समानान्तर गतिविधि चलाउँदै आएपछि कांग्रेसभित्र विवाद चुलिएको थियो । केन्द्रीय अनुशासन समितिले १८ चैतमा खड्कालाई सचेत गराउने र समानान्तर गतिविधि दोहोरिए कारबाही गर्ने चेतावनी दिएको थियो ।
खड्काले निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनेर १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक भनेर गत साता धुम्बाराहीमा बैठक राखेका थिए । कोइरालाकै असहमतिले उक्त बैठक अनौपचारिक भेलामा परिणत भएको थियो । ‘समानान्तर बैठकका नाममा ब्यानर राख्न दिएनौं । यसबाट कुनै पनि निर्णय भनेर बाहिर ल्याउन दिएनौं,’ कोइराला पक्षकै अर्का एक नेताले भने, ‘अब कार्यवाहकको हैसियतमा बोलाइने कुनै पनि छलफलमा पनि हामी सहभागी हुँदैनौं । आवश्यक परे कोइरालालाई बैठक बोलाउनुहोस् भनेका छौं ।’
देउवा पक्षको ‘कोर समूह’ भित्र पनि एकताका लागि दबाब सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा भोटसमेत नहालेर १३ फागुनमा सिंगापुर गएका देउवा अझै फर्केका छैनन् । उनले त्यतैबाट गुट चलाउँदै आएका छन् र त्यसको नेतृत्व यता खड्काले गर्दै आएका छन् । उनीनिकट नेताहरूका अनुसार गत साता नै नेपाल फर्कने योजना रहेकामा मुलुकको पछिल्लो घटनाक्रमका कारण केही दिन बसाइ लम्बिएको छ ।
देउवा पक्षका नेता जीवनबहादुर शाही मुद्दाको प्रतीक्षा गरेर बस्न नहुने बताउँछन् । पार्टी एकताका लागि संवाद गर्ने वा अर्को पार्टी बनाएर जाने दुइटा विकल्प मात्रै रहेको उनको भनाइ छ । ‘अहिलेको चुनौतीपूर्ण घडीमा पार्टी चोइट्याउनु कुनै पनि हालतमा राम्रो होइन । एकताका लागि संवाद गरिनुपर्छ,’ उनले भने ।
महामन्त्री प्रदीप पौडेल संवैधानिक निकायले गरेको निर्णय नमान्ने छुट कसैसँग नभएकाले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकार गरेपछि सबै नेता जोडिन सहज हुने बताउँछन् । ‘विशेष महाधिवेशनको मुख्य कार्यादेश नै १५ औं महाधिवेशन गराउनु हो । महाधिवेशनबाट पार्टीभित्र बृहत् एकता कायम गर्न सकिन्छ,’ उनी भन्छन् ।कांग्रेसले आगामी १६–१९ असोजमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । देउवा समूहलाई मिलाउन संस्थापन पक्षले अनौपचारिक संवाद पनि थालेको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: