किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार हालसम्म २४६ वटा संदिग्ध सङ्क्रमण देखिएको छ भने कम्तीमा ६५ जनाको मृत्यु भइसकेको छ । सीमित स्वास्थ्य पहुँच, असुरक्षा र सीमापार आवागमनका कारण रोग अझ फैलिन सक्ने जोखिम बढेको भन्दै क्षेत्रीय समन्वय तीव्र पारिएको छ ।
अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९अफ्रिका सीडीसी० ले शुक्रबार जारी गरेको वक्तव्यमा अधिकांश मृत्यु तथा संदिग्ध सङ्क्रमण मोङ्गवालु र रुवाम्पारा स्वास्थ्य क्षेत्रमा फेला परेको जनाएको छ । इबोला अत्यधिक सङ्क्रामक भाइरस हो । यो बान्ता, रगत, वीर्य वा अन्य शारीरिक तरल पदार्थमार्फत सर्न सक्छ । यसले गम्भीर र प्राय: ज्यानै जाने प्रकृतिको रोग निम्त्याउने भएकाले स्वास्थ्य अधिकारीले यसलाई अत्यन्त संवेदनशील प्रकोपका रूपमा लिएका छन् ।
एजेन्सीका अनुसार प्रयोगशालाबाट पुष्टि भएका बिरामीमध्ये चार जनाको मृत्यु भइसकेको छ । साथै इटुरी प्रान्तको राजधानी बुनियामा पनि केही संदिग्ध सङ्क्रमण देखिएको बताइएको छ, यद्यपि ती अझै पुष्टि हुन बाँकी छन् । प्रारम्भिक परीक्षणका क्रममा जाँच गरिएका २० नमूना मध्ये १३ वटामा इबोला भाइरस पुष्टि भएको अफ्रिका सीडीसीले जनाएको छ ।
यो प्रकोप कङ्गोमा अघिल्लो इबोला महामारी अन्त्य भएको घोषणा गरिएको करिब पाँच महिनापछि देखिएको हो । त्यसअघिको प्रकोपमा ४३ जनाको मृत्यु भएको थियो । इटुरी प्रान्त कङ्गोको पूर्वी दुर्गम क्षेत्रमा पर्छ, जहाँ सडक सञ्जाल कमजोर छ र राजधानी किन्शासाबाट एक हजार किलोमिटरभन्दा बढी दूरीमा रहेको छ । यातायात र स्वास्थ्य पूर्वाधार कमजोर भएकाले त्यहाँ रोग नियन्त्रण थप कठिन बन्ने चिन्ता व्यक्त गरिएको छ ।
अफ्रिका सीडीसीले तीव्र जनसङ्ख्या आवागमन, मोङ्गवालु क्षेत्रमा हुने खानी गतिविधि, असुरक्षा अवस्था, सम्पर्कमा आएका व्यक्तिको पूर्ण सूची तयार गर्न नसकिएको अवस्था तथा नियन्त्रण सम्बन्धी चुनौतीले रोग थप फैलिन सक्ने जोखिम बढाएको जनाएको छ । युगान्डा र दक्षिण सुडानसँग प्रभावित क्षेत्रको भौगोलिक निकटताले सीमापार सङ्क्रमणको खतरा पनि बढाएको स्वास्थ्य अधिकारीको भनाइ छ ।
यसै कारण अफ्रिका सीडीसीले शुक्रबार कङ्गो, युगान्डा र दक्षिण सुडानका स्वास्थ्य अधिकारीसँग संयुक्त राष्ट्रसङ्घीय निकाय र अन्य अन्तर्राष्ट्रिय साझेदारलाई समेटेर उच्चस्तरीय समन्वय बैठक बोलाएको छ । एजेन्सीका अनुसार बैठकमा तत्काल प्रतिकार्य योजना, सीमापार समन्वय, निगरानी, प्रयोगशाला सहयोग, सङ्क्रमण रोकथाम, जोखिम सञ्चार, सुरक्षित र सम्मानजनक अन्त्येष्टि तथा आवश्यक स्रोत परिचालनका विषयमा विशेष ध्यान केन्द्रित गरिने छ ।
सन् १९७६ मा पहिलो पटक इबोला पुष्टि भएयता कङ्गोमा यो १७ औँ प्रकोप हो । सन् २०१८ देखि २०२० सम्म पूर्वी कङ्गोमा फैलिएको इबोलाले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो । त्यसभन्दा अघि सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको ठूलो इबोला महामारीमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो क।
नयाँ प्रकोपले पहिले नै हिंसा र अस्थिरतासँग जुधिरहेको कङ्गोका लागि थप चुनौती सिर्जना गरेको छ । देशको पूर्वी क्षेत्रमा एम–२३ विद्रोही समूहसहित विभिन्न सशस्त्र समूह सक्रिय छन् । एम(२३ ले गत वर्षदेखि तीव्र आक्रमण गर्दै केही महत्त्वपूर्ण सहर कब्जा गरेको थियो । विशेष गरी इटुरी क्षेत्रमा इस्लामिक स्टेटसँग सम्बन्धित मानिने एलाइड डेमोक्रेटिक फोर्स समूहको हिंसात्मक गतिविधिले पनि स्थानीय अवस्था असुरक्षित बनाएको छ ।
यस समूहको आक्रमणमा पूर्वी कङ्गोका विभिन्न क्षेत्रमा दर्जनौँ मानिस मारिइसकेका छन् । अफ्रिकाको दोस्रो ठूलो भूभाग भएको कङ्गोले स्वास्थ्य सङ्कटका बेला बारम्बार रसद र पहुँच सम्बन्धी समस्या झेल्दै आएको छ । गत वर्षको तीन महिने इबोला प्रकोपका क्रममा पनि विश्व स्वास्थ्य सङ्गठनले सीमित पहुँच र अपर्याप्त बजेटका कारण खोप वितरणमा गम्भीर कठिनाइ सामना गर्नुपरेको थियो ।
प्रतिकृया लेख्नुहोस्: