काठमाडौं । ५६ वर्षको इतिहासमा पहिलो पटक नेपाल विद्यार्थी संघ (नेविसंघ) ले महिला नेतृत्व पाएको छ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल नियुक्त भएसँगै संगठनले नयाँ अध्याय सुरु गरेको छ।
कांग्रेस सभापति गगन कुमार थापाले पार्टी विधानको दफा ४२(१) बमोजिम कटुवाललाई अध्यक्ष नियुक्त गरेका हुन्। उनी नेविसंघको इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी छन्।
५६ वर्षपछि महिला नेतृत्व
वि.सं. २०२७ वैशाख ६ गते स्थापना भएको नेविसंघको पहिलो अध्यक्ष विपिन कोइराला थिए। त्यसयता शेरबहादुर देउवासहित २० जना पुरुष नेताले संगठनको नेतृत्व सम्हालेका थिए। करुणाको नियुक्तिसँगै नेविसंघले पहिलो पटक महिला नेतृत्व प्राप्त गरेको हो।
नेविसंघको पृष्ठभूमिबाट आएका धेरै नेताहरू नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभावशाली स्थानमा पुगेका छन्। तर संगठनमा महिला सहभागिता उल्लेख्य भए पनि नेतृत्व तहमा पुग्ने अवसर भने अहिलेसम्म प्राप्त भएको थिएन।
महाधिवेशन गराउने जिम्मेवारी
समयमै महाधिवेशन गर्न नसकेपछि कांग्रेसले नेविसंघसहित आफ्ना भ्रातृ संस्थाहरूको म्याद थप नगर्ने निर्णय गरेको थियो। यस्तो अवस्थामा सभापति थापाले करुणालाई ११ बुँदे कार्यादेशसहित संगठनको नेतृत्व सुम्पिएका छन्।
कटुवालसामु सबैभन्दा ठूलो चुनौती निर्धारित समयभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्नु रहेको छ। अध्यक्षको टुंगो लागे पनि केन्द्रीय समितिको आकार, संरचना र समावेशी प्रतिनिधित्वको विषय अझै स्पष्ट भइसकेको छैन।
अध्यक्ष नियुक्तिपछि प्रतिक्रिया दिँदै कटुवालले नेविसंघलाई पुनः सशक्त बनाउने र देशभरका इकाइलाई सक्रिय पार्दै समयमै महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
विद्यार्थी आन्दोलनमा महिलाको योगदान
नेपालको विद्यार्थी आन्दोलनमा महिलाहरूको योगदान ऐतिहासिक रहँदै आएको छ। २०१७ सालमा पञ्चायती शासनविरुद्ध शैलजा आचार्य र नोना कोइरालाको नेतृत्वमा विद्यार्थीहरूले गरेको विरोध आन्दोलन त्यसको महत्वपूर्ण उदाहरण मानिन्छ।
यद्यपि, लामो समयसम्म महिला नेतृहरू नेतृत्वको शीर्ष तहमा पुग्न सकेनन्। विद्यार्थी संगठनहरूमध्ये रामकुमारी झाँक्री, नवीना लामा र पञ्चा सिंहले नेतृत्व सम्हाले पनि नेविसंघले भने अहिले मात्रै पहिलो महिला अध्यक्ष पाएको हो।
विभाजित कांग्रेसबीच कठिन जिम्मेवारी
पछिल्लो एक दशकमा नेविसंघले केवल एउटा महाधिवेशन मात्रै गर्न सकेको छ। २०७३ सालपछि नैनसिंह महर, राजीव ढुंगाना र दुजाङ शेर्पा नेतृत्वका कार्यकालमा महाधिवेशन हुन सकेन।
विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको आन्तरिक ध्रुवीकरण र गुटीय प्रतिस्पर्धाका बीच सबै पक्षलाई समेटेर विधिसम्मत महाधिवेशन सम्पन्न गर्नु करुणा कटुवालको नेतृत्वको वास्तविक परीक्षा हुनेछ।
महिला नेतृत्वको ऐतिहासिक उपलब्धिलाई संगठनात्मक सफलतामा रूपान्तरण गर्न सक्ने वा नसक्ने भन्ने प्रश्नको जवाफ अब आगामी महाधिवेशनले दिनेछ।
प्रतिकृया लेख्नुहोस्: