गत असार २६ गते राति ढल्केवरस्थित माँ भवानी होटल एण्ड गेष्ट हाउसमा धादिङकी ५१ वर्षीया चेलीमाया तामाङ अचेत अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि जानकी मेडिकल कलेज लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार घटनाका बेला उनीसँगै कोठामा रहेका सिन्धुपाल्चोकका ५० वर्षीय एबनारायण श्रेष्ठलाई नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रारम्भमा दुवैले आफूलाई श्रीमान–श्रीमती भन्दै होटलमा कोठा बुक गरेका थिए। तर अनुसन्धानका क्रममा उनीहरू वैवाहिक सम्बन्धमा नरहेको खुलेको प्रहरीले जनाएको छ।
होटल सञ्चालक मुकुन्द अधिकारीले पुरुषको सवारी चालक अनुमतिपत्रको विवरण लिएर कोठा उपलब्ध गराइएको तर महिलाको परिचयपत्र नमागिएको स्वीकार गरे। उनीहरू विवाहित जोडी नै होलान् भन्ने विश्वासका आधारमा कोठा दिइएको उनको भनाइ छ।
यसअघि गत चैत १८ गते पनि ढल्केवरस्थित जुन तारा स्टप लाइन होटलमा पोखरा महानगरपालिका–१३ की २३ वर्षीया जेनिसा विक मृत फेला परेकी थिइन्। मुखबाट फिँज निस्किएको अवस्थामा भेटिएकी जेनिसा ढल्केवरमै डेरा गरेर बस्दै आएकी थिइन्। परिवारका अनुसार होटल सञ्चालकको फोन आएपछि उनी होटल पुगेकी थिइन्। उक्त घटनाको अनुसन्धान पनि अझै जारी छ।
लगातार दुई महिलाको रहस्यमय मृत्यु भएपछि ढल्केवरका केही होटलमा अवैध यौन गतिविधि सञ्चालन भइरहेको स्थानीयको आरोप फेरि चर्किएको छ। स्थानीयवासीका अनुसार केही होटलमा युवती राख्ने र मागअनुसार विभिन्न स्थानमा पठाउने काम हुने गरेको चर्चा लामो समयदेखि चल्दै आएको छ। तर यसबारे प्रभावकारी निगरानी र कारबाही हुन नसकेको उनीहरूको गुनासो छ।
यद्यपि प्रहरी भने यस्तो आरोप स्वीकार गर्न तयार छैन। प्रहरी निरीक्षक केसीले नियमित अनुगमन भइरहेको दाबी गर्दै हालसम्म सार्वजनिक रूपमा आरोप लागेजस्तो प्रमाण फेला नपरेको बताए। उनले दुवै मृत्युका घटनामा गम्भीर अनुसन्धान भइरहेको पनि जानकारी दिए।
ढल्केवर क्षेत्रमा सञ्चालनमा रहेका डान्सबारबारे पनि स्थानीय असन्तुष्ट छन्। केही स्थानीयले डान्सबारका गतिविधिले सामाजिक वातावरण बिग्रिएको आरोप लगाउँदै आन्दोलनको तयारीसमेत गरिरहेका छन्। गत वर्ष पनि अश्लील गतिविधिको आरोप लगाउँदै स्थानीयले दुई वटा डान्सबारमा तोडफोड गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको र्यापिड एक्सन टिम, मिथिला नगरपालिकाका संयोजक सुनिलकुमार महतोले सामाजिक सञ्जालमार्फत ढल्केवरमा गैरकानुनी गतिविधि बढेको टिप्पणी गर्दै कडा नियमनको माग गरेका छन्।
यता मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष मुन्नाकुमार सिंहले अवैध गतिविधिमा संलग्न व्यवसायीलाई कुनै संरक्षण नगर्ने स्पष्ट पारे। होटल व्यवसायको प्रतिष्ठामा आँच पुग्ने गतिविधिमा संलग्न व्यवसायीलाई कानुनी दायरामा ल्याउन संघले सम्बन्धित निकायसँग सहकार्य गर्ने उनको भनाइ छ।
पूर्व–पश्चिम राजमार्ग र मधेश प्रदेशको राजधानी जनकपुरधाम जोड्ने प्रमुख व्यापारिक केन्द्र ढल्केवरमा दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्छन्। यस्तो संवेदनशील क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा गेष्टहाउसको दर्ता, अतिथि अभिलेख, परिचयपत्र परीक्षण र कानुनी मापदण्डको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवाज अहिले थप बलियो बनेको छ। दुवै घटनाको सत्यतथ्य अनुसन्धानबाट मात्र खुल्ने भए पनि यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको कडा निगरानी र प्रभावकारी नियमन अपरिहार्य देखिएको छ।
प्रतिकृया लेख्नुहोस्: