बाँके। बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट उत्पादन हुने जमेको वीर्य ९सिमेन०को माग उल्लेखनीय रूपमा बढेको छ। माग अत्यधिक भएकाले आपूर्ति व्यवस्थापन गर्न चुनौती भइरहेको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा। खिमानन्द खनालका अनुसार नेपाली रैथाने भैँसीको नश्ल सुधार गरी दूध तथा मासु उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याइएका मुर्रा राँगाबाट उत्साहजनक नतिजा प्राप्त भएपछि किसान र प्राविधिकहरूको आकर्षण बढेको हो।
उनका अनुसार नेपाली मुर्रा राँगाको वीर्यबाट जन्मिएका भैँसीले एक बेतमा करिब २ हजारदेखि २ हजार ५०० लिटरसम्म दूध उत्पादन गर्ने गरेका छन् भने भारतीय मुर्रा राँगाको आमाबाट एक बेतमा ३ हजार ८०० देखि ४ हजार लिटरसम्म दूध उत्पादन हुने तथ्यले यसको माग बढाएको हो।
भारत सरकारले २०८० मङ्सिरमा नेपाललाई उपलब्ध गराएका १५ वटा भारतीय मुर्रा राँगामध्ये तीन वटा नेपालगञ्जस्थित कार्यालयमा, सात वटा पोखरामा र पाँच वटा लाहानमा राखिएका छन्। नेपालगञ्जमा रहेका तीनमध्ये हाल दुई वटा राँगाबाट नियमित रूपमा वीर्य सङ्कलन तथा उत्पादन भइरहेको छ। २०८० चैतदेखि उत्पादन सुरु गरिएको वीर्यबाट कृत्रिम गर्भाधान गराइएका भैँसीबाट पाडा जन्मिन थालेका छन्।
गत वर्ष खजुरा गाउँपालिका–२ का किसान बमराज रेग्मीको भैँसीले भारतीय मुर्रा राँगाको वीर्यबाट नेपालमै पहिलो पाडा जन्माएको कार्यालयले जनाएको छ।
तीन वर्षमा ३५ हजारभन्दा बढी डोज उत्पादन
कार्यालयका अनुसार भारतीय मुर्रा राँगाबाट हालसम्म ३५ हजार ७२७ डोज जमेको वीर्य उत्पादन भएको छ भने २९ हजार ६३८ डोज वितरण गरिएको छ।
एक आर्थिक वर्षमै १ लाख ९० हजार डोज उत्पादन
पशु विकास अधिकृत डा. मिलनकुमार चौधरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले कुल १ लाख ९० हजार ४१५ डोज जमेको वीर्य उत्पादन गरेको छ।
त्यसमध्ये जर्सी र होलिस्टिन साँढेबाट ७५ हजार ११२ डोज, नेपालगञ्ज मुर्रा, भारतीय मुर्रा तथा गड्डी राँगाबाट १ लाख ९ हजार ७२३ डोज तथा बोयर बोकाबाट ५ हजार ५८० डोज वीर्य उत्पादन गरिएको हो।
सोही अवधिमा ७० हजार ६५९ डोज वीर्य वितरण गरिएको कार्यालयले जनाएको छ। वितरण गरिएका वीर्यमध्ये भारतीय मुर्रा राँगाको २५ हजार ५६५ डोज रहेको छ, जुन सबैभन्दा बढी हो।
विभिन्न प्रदेशमा वीर्य आपूर्ति
नेपालगञ्जमा उत्पादन भएका वीर्य मागअनुसार पोखरा र लाहानस्थित कार्यालयमा पठाइने तथा त्यहाँ उत्पादन नहुने वीर्य आवश्यकताअनुसार नेपालगञ्ज ल्याइने व्यवस्था रहेको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा नेपालगञ्जबाट २१ हजार डोज मुर्रा राँगाको वीर्य पोखरा तथा ५ हजार डोज बोयर बोकाको वीर्य लाहान पठाइएको थियो। त्यसैगरी पोखराबाट ५ सय डोज सेक्स सिमेन तथा लाहानबाट ४ हजार डोज साँढेको वीर्य नेपालगञ्ज ल्याइएको थियो।
७९ लाखभन्दा बढी राजस्व सङ्कलन
पशु सेवा प्राविधिक देवनारायण जैसीका अनुसार वीर्य बिक्री, तरल नाइट्रोजन, घाँसको बिउ तथा अन्य सेवा शुल्कबाट गत आर्थिक वर्षमा ७९ लाख ८२ हजार ७६२ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
उक्त अवधिमा ५४ हजार ८७७ वटा पशुचौपायामा कृत्रिम गर्भाधान गरिएको थियो। तीमध्ये ३२ हजार २८९ गाई, २२ हजार २३ भैँसी र ५६५ बाख्रा रहेका छन्। प्राकृतिक गर्भाधानमार्फत ७१६ वटा पशुचौपायालाई सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ।
२५ जिल्लामा सेवा विस्तार
राष्ट्रिय पशु प्रजनन कार्यालयले हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका २५ जिल्लामा सेवा प्रवाह गर्दै आएको छ।
२०३६ सालमा भैँसी फाराम (बुल सेन्टर)का रूपमा स्थापना भएको कार्यालयले विभिन्न चरण पार गर्दै २०७५ सालदेखि राष्ट्रिय पशु प्रजनन कार्यालयका रूपमा सेवा दिँदै आएको छ। २०७८ सालदेखि जमेको वीर्य उत्पादन सुरु गरेको कार्यालयले हालसम्म कुल ४ लाख ६६ हजार ५३१ डोज वीर्य उत्पादन गरिसकेको जनाएको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा वित्तीय प्रगति ७९.०१ प्रतिशत र भारित प्रगति ९३.९२ प्रतिशत हासिल भएको छ।
प्रतिकृया लेख्नुहोस्: