सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबीच आठ बुँदे सहमति भएको छ।
शनिबार बिहान सिराहामा भएको भेटवार्तापछि गृहमन्त्री गुरुङले परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठ बुँदे सहमति भएको जानकारी दिए।
सहमतिअनुसार घटनाको सत्यतथ्यबारे निष्पक्ष छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ।
यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराइने, गणेश यादवको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने तथा शव बुझेर दाहसंस्कार गर्ने सहमति भएको छ। दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि सहमतिमा उल्लेख छ।
गृहमन्त्री गुरुङका अनुसार पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। अनुसन्धानलाई प्रभावकारी बनाउन शव त्यहाँ पठाइएको र हेलिकोप्टरमार्फत सिराहा ल्याई परिवारलाई जिम्मा लगाइने उनले बताए।
घटनाको निष्पक्ष अनुसन्धानबारे उठेको प्रश्नमा गृहमन्त्रीले अनुभवी अनुसन्धानकर्ता र विज्ञहरू सम्मिलित स्वतन्त्र छानबिन समिति गठन गरिएको जानकारी दिए। समितिले सुनसरी र सिरहाका घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्ने र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ।
गृहमन्त्रीले सरकारले पीडित परिवारलाई न्याय दिलाउन प्रतिबद्ध रहेको दोहोर्याउँदै घटनाको अनुसन्धान आफूले प्रत्यक्ष रूपमा अनुगमन गरिरहेको बताए।

प्रतिकृया लेख्नुहोस्: