काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–सँगै उठौँ, अगाडि बढौँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
गैरआवासीय नेपाली संघ, ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजक समिति तथा चीनस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद्को मुख्य आयोजनामा हुने सम्मेलनमा नेपाल तथा एसिया प्रशान्त क्षेत्रका गैरआवासीय नेपालीका साथै राजनीतिक नेतृत्व, सरकारी प्रतिनिधि, कूटनीतिज्ञ, व्यवसायी तथा संघका अग्रज नेतृत्वको सहभागिता रहनेछ।
सम्मेलनको उद्घाटन अगस्ट १५ मा हुनेछ। उद्घाटन समारोहको अध्यक्षता एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक दीपक कँडेलले गर्नेछन् भने प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका सचेतक तथा सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा गैरआवासीय नेपाली संघका संस्थापक र अग्रज नेतृत्वको समेत सहभागिता रहनेछ।
सम्मेलनमा नेपालमा गैरआवासीय नेपालीको लगानी भित्र्याउनेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार, नागरिकताको निरन्तरता, पर्यटन प्रवर्द्धन, महिला तथा युवा सहभागिता र संघको भावी संरचनासम्मका विषयमा छलफल हुने आयोजकले जनाएको छ।
नेपालमा लगानी र व्यापारका विषयमा नीतिगत बहस
सम्मेलनको पहिलो सत्रमा गैरआवासीय नेपाली र नेपालको व्यापार तथा ढुवानी क्षेत्रमा लगानीका अवसरबारे छलफल हुनेछ। नेपालमा लगानीको वातावरण, उपलब्ध सम्भावना र गैरआवासीय नेपालीलाई आर्थिक गतिविधिसँग जोड्ने विषयमा नीतिगत बहस गरिनेछ।
एसिया प्रशान्त क्षेत्रमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूलाई थप प्रभावकारी बनाउने विषयमा पनि छुट्टै सत्र सञ्चालन हुनेछ। विभिन्न देशमा रहेका परिषद्हरूबीच अनुभव आदानप्रदान, संगठन विस्तार र गैरआवासीय नेपालीका मुद्दालाई साझा रूपमा अघि बढाउने विषयमा छलफल हुने आयोजकको भनाइ छ।
सुरक्षित वैदेशिक रोजगारी र आप्रवासीका अधिकारमा जोड
सम्मेलनमा वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगिरहेका समस्या पनि प्रमुख एजेन्डाका रूपमा रहनेछन्।
सुरक्षित वैदेशिक रोजगारी, पुनःएकीकरण, सीमापार मानव बेचबिखन तथा आप्रवासी कामदारको अधिकार सुरक्षाका विषयमा विस्तृत छलफल गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई सीप, पुँजी र अनुभवका आधारमा पुनःस्थापित गर्ने विषयमा समेत विचारविमर्श हुनेछ।
त्यस्तै गैरआवासीय नेपाली नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा पनि सम्मेलनमा महत्वपूर्ण बहस हुने भएको छ।
पर्यटनमा गैरआवासीय नेपालीको शक्ति उपयोग गर्ने प्रयास
नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा रहेका नेपालीको सञ्जाललाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषय पनि सम्मेलनको अर्को महत्वपूर्ण एजेन्डा हो।
विशेषगरी पर्वतीय पर्यटन तथा स्वास्थ्य पर्यटनमार्फत नेपाललाई विश्व बजारमा थप चिनाउने र गैरआवासीय नेपालीलाई पर्यटन प्रवर्द्धनका साझेदारका रूपमा अघि बढाउने विषयमा छलफल हुनेछ।
नेपालको प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको प्रचारमा विदेशमा रहेका नेपालीको पहुँचलाई प्रयोग गर्न सकिने सम्भावनाबारे पनि सहभागीबीच विचार आदानप्रदान हुने आयोजकले जनाएको छ।
महिला र युवाका लागि छुट्टै सत्र
सम्मेलनमा महिला तथा युवालाई पनि विशेष प्राथमिकता दिइएको छ। महिलालाई उद्यमशीलतासँग जोड्ने र आर्थिक रूपमा सक्षम बनाउने विषयमा छुट्टै सत्र सञ्चालन हुनेछ।
त्यस्तै विदेशमा हुर्किरहेका नेपाली मूलका दोस्रो पुस्ताका युवाको पहिचान, नेतृत्व विकास र विश्वव्यापी नेपाली सञ्जालसँग उनीहरूको सम्बन्ध विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ।
‘व्यवसाय निर्माण, रूपान्तरण नेपाल’ भन्ने उद्देश्यसहित महिला तथा युवाको क्षमता, नेतृत्व र उद्यमशीलतालाई नेपालको आर्थिक विकाससँग जोड्ने प्रयास सम्मेलनबाट गरिने आयोजकको भनाइ छ।
संघको पुनर्संरचनाबारे पनि छलफल
सम्मेलनमा गैरआवासीय नेपाली संघको संगठनात्मक पहिचानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने भएको छ।
संघको भावी दिशा, संगठनलाई समयअनुकूल बनाउने उपाय तथा विश्वभर छरिएर रहेका नेपालीलाई एउटै सञ्जालमा थप प्रभावकारी रूपमा जोड्ने विषयमा विचारविमर्श गरिनेछ।
सम्मेलनका विभिन्न सत्र सम्पन्न भएपछि अगस्ट १६ मा ‘ग्वाङ्झाउ घोषणापत्र २०२६’ जारी गरिनेछ। घोषणापत्रमा सम्मेलनमा उठेका प्रमुख विषय तथा गैरआवासीय नेपालीका साझा मुद्दालाई समेटिने आयोजकले जनाएको छ।
सम्मेलनपछि ग्वाङ्झाउबाट छिङयुआनसम्म भ्रमण
सम्मेलनको अन्तिम दिन अगस्ट १७ मा सहभागी प्रतिनिधिका लागि चीनको छिङयुआन सहरस्थित प्रसिद्ध गुलोङ स्यिया काँचको पुलको अवलोकन भ्रमण आयोजना गरिएको छ।
ग्वाङ्झाउबाट करिब ७० देखि ८० किलोमिटर उत्तरमा रहेको उक्त क्षेत्रमा प्रतिनिधिलाई भ्रमण गराउने कार्यक्रम तय गरिएको हो।
आयोजकका अनुसार सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप बलियो बनाउनुका साथै नेपालमा लगानी, पर्यटन, सीप तथा प्रविधि भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गैरआवासीय नेपालीलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग थप प्रभावकारी रूपमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको सम्मेलनलाई यस क्षेत्रका नेपालीको साझा मञ्चका रूपमा हेरिएको छ।
आयोजक समितिले सम्मेलनमा सहभागी भई समाचार सम्प्रेषणका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
सम्मेलन एसिया प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलको नेतृत्वमा आयोजना हुँदैछ।
प्रतिकृया लेख्नुहोस्: