माघ २३ गते, २०७३ आइतवार 5th February, 2017 Sun०८:५१:२२ मा प्रकाशित
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल समकालीन शीर्ष नेतामध्ये गहिरो राजनीतिक विश्लेषण क्षमता भएका थोरैमा पर्छन् । सैद्धान्तिक रूपमा खारिएका र गीतसंगीतमा पनि रुचि राख्ने खनाल राजनीतिक संवादमा सक्रिय छन् । चार दशक लामो नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय खनालले समकालीन ११ नेताबारे गरेको टिप्पणी :प्रचण्ड : राष्ट्रियतामा कमजोर
पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको महत्वपूर्ण व्यक्तित्व हुनुुहुन्छ । उहाँले १० वर्ष यो देशमा सशस्त्र संघर्ष चलाउनुभयो । त्यो नेपालको इतिहासमा अभूतपूर्व नै हो । युद्ध, हिंसा व्यापक हुनु, ठूलो संख्यामा जनता मारिनु र ठूलो रक्तपात हुनुबाहेक त्यसबाट केही हुँदैन भन्ने कुरा बुझ्न उहाँलाई १० वर्ष लाग्यो । उहाँले आखिरमा कुरा बुझ्नुभयो ।
युद्धकालमा भारतको नयाँ दिल्लीमा उहाँसँग मेरो लामो वार्ता भएको थियो । हामीले पनि एक समय (२०२८ सालमा) युद्ध गरेका थियौँ । देशको समग्र परिस्थिति अध्ययन गरेपछि नेपालमा जनवादी क्रान्ति दीर्घकालीन जनयुद्धबाट होइन, जनविद्रोहबाट मात्रै सम्भव छ भन्ने कुराको निष्कर्षमा हामी पुगेका थियौँ । मैले उहाँसँग यसबारे लामो कुरा गरेपछि उहाँ पनि हत्याहिंसाले मात्र क्रान्ति सफल हुँदैन भन्ने निष्कर्षमा पुग्नुभयो । शान्तिपूर्ण ढंगले लोकतान्त्रिक धारमा आउने उहाँको अहिलेको प्रवृत्ति सकारात्मक हो । तर, अहिले राष्ट्रियताको सवालमा उहाँभित्र गम्भीर समस्या मैले देखिरहेको छु ।
ओली : पहिला कमजोर, अहिले सफल
केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि निरन्तर संघर्षमा लागेर आइरहेको एउटा योद्धा हुनुहुन्छ । उहाँले झापा संघर्षमा महत्वपूर्ण योगदान गर्नुभयो । त्यसपछि उहाँ लामो समयावधिसम्म जेल बस्नुभयो । जेलबाट बाहिर आएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्यका रूपमा उहाँले योगदान गर्दै आउनुभयो । पछिल्लो अवधिमा उहाँलाई अध्यक्ष बन्ने महत्वकांक्षा प्रबल भएपछि उहाँले समूह बनाउन थाल्नुभयो । पार्टीमा समूह बनाउने, गुट बनाउने, अलग ढंगले उहाँले काम गर्नुभयो । उहाँले यो राम्रो गर्नुभएन । यी उहाँका कमजोरी नै हुन् । अन्ततः नवौँ महाधिवेशनमा उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँले राजनीतिक रूपले पार्टीलाई अगुवाइ गर्ने काम गर्नुभएको छ । सफलतापूर्वक नै गरिरहनुभएको छ । हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्दा उहाँले राम्रो भूमिका निर्वाह गर्नुभयो । भारत र चीनसँगको सम्बन्ध निर्वाह गर्ने कुरामा पनि उहाँले राम्रो भूमिका निर्वाह गर्नुभएको छ ।
देउवा : बुझ्नै गाह्रो
शेरबहादुर देउवाका के–के गुण छन् र वैगुन छन् भन्ने कुरा बुझ्न नै गाह्रो छ । यति छिटोछिटो बोल्नुहुन्छ कि, उहाँको बोली नै बुझिँदैन । व्यक्तिगत रूपमा शेरबहादुरजीसँग मेरो राम्रो सम्बन्ध छ । उहाँलाई म सम्मान पनि गर्छु । अहिले नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । उहाँको कार्यकाल सफल ढंगले बितोस्, मेरो शुभकामना छ । तर, नेपाली कांग्रेसलाई राष्ट्रियताको पक्षमा दह्रो बनाउनुस्, देशभक्त पार्टीको रूपमा विकास गर्न सक्नुस्, समाजवादी पार्टीको रूपमा विकास गर्न सक्नुस्, त्यसका निम्ति मेरो शुभकामना छ । नेपाली कांग्रेसलाई आत्मसमर्पणवादी, लम्पसार पर्ने लाइनमा होइन । देशको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा दृढ भएर उभिने पार्टीका रूपमा विकास गर्न सक्नुस् ।
नेपाल : सैद्धान्तिक गहिराइको कमी
विभाजित अवस्थाको नेपाल नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने समयदेखि माधवकुमार नेपाल निरन्तर क्रियाशील हुनुहुन्छ । हामीले अर्डिनेसन केन्द्र निर्माण गर्ने थालनी गरेदेखि उहाँ निरन्तर सक्रिय हुनुहुन्छ । एउटा खास कालखण्डमा पार्टी महासचिव भएर उहाँले नेतृत्व गरेर आउनुभएको छ । उहाँको राजनीतिक जीवन पनि म सफल जीवन देख्छु । उहाँले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने कुरामा महत्वपूर्ण योगदान गर्नुभएको छ । समग्रमा उहाँको वैचारिक, राजनीतिक पक्षहरू ठिकै छन् । एउटा अवधिभरि पार्टीलाई हाँकेर आउनुभएको छ । तर, सैद्धान्तिक पक्षमा उहाँको त्यति गहिराइ देखिँदैन । त्यो पक्षलाई उहाँले अझै गहिरो बनाउन सके उहाँको योगदान अझ राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।
डा. भट्टराई : अस्थिर तर महत्वाकांक्षी
डा. बाबुराम भट्टराई अस्थिर नेता हुनुहुन्छ । उहाँमा बौद्धिकता छ । तर, त्यो बौद्धिकता र विद्धतालाई उहाँले सही रूपमा प्रयोग गर्न सक्नुभएन । कम्युनिस्ट आन्दोलनमा निकै लामो समय लाग्नुभयो, तर अहिले बाहिरिएको देख्छु म । अहिले उहाँले निर्माण गरेको नयाँ शक्ति भनेको उहाँको दिमागमा भएको ठूलो अलमलको परिणाम हो । उहाँको राजनीतिक जीवन खतरामा परेको देख्छु । अगाडि बढ्ने महत्वाकांक्षा उहाँको ठूलो छ । तर, उहाँले आफ्नै खुट्टा भासतिर फसाएजस्तो देख्छु । नयाँ शक्तिको औचित्य केही पनि छैन । नयाँ शक्ति नै होइन त्यो । पुराना पार्टीहरूबाट विभिन्न ढंगले असफल भएर निस्किएका मान्छे भगौडाका रूपमा अहिले नयाँ शक्तिमा छन् । त्यस्ता मान्छेबाट कुनै नयाँ शक्तिको जन्म हुन्छ भन्ने मलाई लाग्दैन ।
पौडेल : महत्वाकांक्षी तर कमजोर आधार
रामचन्द्र पौडेल नेपाली कांग्रेसमा लामो समयदेखि काम गर्दै आएका एउटा योद्धा हुनुहुन्छ । लोकतन्त्रप्रति उहाँको निष्ठा म अटुट नै देख्छु । तर, उहाँ अलि महत्वकांक्षी हुनुहुन्छ । महत्वाकांक्षा पूर्ति गर्नका लागि आवश्यक आधार भने तयार गर्न सक्नुहुन्न । उहाँ १७ पटक प्रधानमन्त्रीका लागि निर्वाचनमा भिड्नुभयो तर असफल हुनुभयो । अहिले पनि प्रधानमन्त्री बन्ने इच्छा उहाँमा प्रबल छ । तर, परिस्थितिले उहाँलाई त्यो पदबाट सम्मानित गर्छजस्तो मलाई लाग्दैन । किनभने नेपाली कांग्रेसमा अलि भिन्नै परिस्थिति विकसित भएर आएको छ ।
अब देउवाजीको कार्यकालभरि उहाँले त्यो चान्स पाउनुहोलाजस्तो देखिँदैन । सम्भावना एकदमै न्यून छ । देउवाजीको कार्यकालपछि पनि उहाँको पालो आउलाजस्तो नै लाग्दैन । अहिले नै उमेरका हिसाबले पनि ७० को लगभगमा पुगिसक्नुभयो । उहाँको उमेरले नै छेक्ने सम्भावना देख्छु । राजनीतिमा असफल भन्न त मिल्दैन । उहाँ सभामुख हुनुभयो, उपप्रधानन्त्री हुनुभयो, पटकपटक मन्त्री हुनुभयो । लोकतन्त्र ल्याउने क्रममा यत्रो कालखण्डमा आएका परिवर्तनहरूमा उहाँ खटेरै आउनुभयो । अहिले पनि उहाँ खटिइरहनुभएको छ ।
वैद्य : दर्शन र संस्कृतिमा अगाडि
मोहन वैद्य राष्ट्रवादी चिन्तन भएको माक्र्सवादी नेता हुनुहुन्छ । उहाँले राजनीतिमा भन्दा पनि दर्शन संस्कृतिमा अलि बढी दख्खल राखेजस्तो मलाई लाग्छ । दर्शन र संस्कृतिको क्षेत्रमा लेखनकार्य मात्रै पनि अलिक बढी गर्नुभयो भने त्यो नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनका लागि योगदान हुन सक्छ । तर, राजनीतिक चिन्तनचाहिँ उग्रवामपन्थी भड्काउले ग्रस्त छ । त्यसो हुनाले उहाँ र उहाँले नेतृत्व गरेको संगठन सफलतातिर जाने सम्भावना म बिल्कुलै देख्दिनँ । त्यो संगठन असफल हुन बाध्य छ ।
ठाकुर : इमानदार तर सधैँ भावुक
महन्थ ठाकुर तराई मधेसबाट विकसित भएका सम्मानित नेता हुनुहुन्छ । तर, उहाँ एकदमै भावनात्मक हुनुहुन्छ । धेरै बोल्नुहुन्न, बोल्दा भावनात्मक कुरा गर्नुहुन्छ । उहाँलाई म सम्मान गर्छु । व्यक्तिगत रूपमा उहाँसँग मेरो राम्रै सम्बन्ध छ । तर, उहाँको दृष्टिकोणमा भयावह किसिमका गलत धारणा जमेका छन् ।
सिंगो मधेसलाई एक राष्ट्र अनि पहाडलाई अर्को राष्ट्रका रूपमा देख्ने, देशलाई दुई राष्ट्रमा विभाजित गरिएको दृष्टिकोण उहाँले बोक्नुभएको छ । यो उहाँको राजनीतिक जीवनकै निम्ति अत्यन्त अनुत्पादक र घातक विचार हो । त्यसले सिंगो देशलाई पनि घात गर्छ, तराई मधेसलाई पनि घात गर्छ र उहाँ आफँैलाई पनि घात गर्छ । यसबाट मुक्त भएर अहिलेको संविधान मानेर अगाडि बढ्नुभयो भने तराई मधेसको एउटा सम्मानित नेताका रूपमा अझै पनि स्थापित हुने सम्भावना देख्छु ।
थापा : देशलाई माया गर्ने दक्षिणपन्थी
कमल थापा पूर्वपञ्चहरूभित्रको एउटा प्रखर नेता हो । उनमा राष्ट्रवादी भावना छ । त्यो भावनाको प्रशंसा गर्नुपर्छ । तर, उहाँ नेपाली जनतामा भएको हिन्दू धर्मप्रतिको आस्था र राजतन्त्रको हतियार लिएर नेपालमा राजनीति गर्न तम्सिनुभएको छ । यी दुईवटै आधुनिक समाजका प्रबल हतियार होइनन् । राजतन्त्र नेपालको इतिहासमा कालातीत भइसकेको विषय हो । उहाँले राजतन्त्रको हतियारसमेत समाउनुभएको छ ।
राजतन्त्रलाई पुनस्र्थापित गर्ने विचार राख्नुभएको छ । यसले उहाँलाई सफल हुन दिँदैन । दोस्रो, जनतामा भएको धर्मभिरू भावनालाई जगाएर राजनीति गर्दै हुनुहुन्छ । नेपाललाई हिन्दू राष्ट्र बनाउने उहाँको सपना छ । त्यो सपना पनि पूरा हुने देख्दिनँ मैले । यो दक्षिणपन्थी भड्काउबाहेक अरू केही पनि होइन । तर, देशलाई माया गर्ने नेताचाँहि हो, उहाँ ।
बिजुक्छे : भक्तपुरमा वर्चस्व
नारायणमान बिजुक्छे पनि नेपालको कम्युनिस्ट आन्दोलनको योद्धा हो । उहाँले ठूलो पार्टी बनाउन नसके पनि कमसेकम नेमकिपा निर्माण गरेर भक्तपुरमा काम गर्नुभएको छ । एउटा राजनीतिक आधार बनाएर लाग्नुभएको छ । त्यो विस्तार गरेर देशभरि फैलिन कहिल्यै पनि सक्दैन । त्यो सम्भव म देख्दिनँ । एकाध ठाउँमा अलिअलि कार्यकर्ता बनाउनुहुन्छ, दुईचार वर्ष काम हुन्छन्, फेरि नेकपा एमालेमा आइहाल्छन् । उहाँमा धेरै काम गर्न सक्ने अवस्था देख्दिनँ । तर, पनि भक्तपुरमा रोहितजी हुन्जेल नेमकिपाको राम्रै वर्चस्व हुने देख्छु म ।
सिंह : पुरानै अडान राख्ने आदरणीय पात्र
मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका आदरणीय पात्र हुनुहुन्छ । उहाँले धेरै उमेर खाइसक्नुभएको छ । तर, आफ्नो अडानमा दृढ भएर बसिरहने नेता हुनुहुन्छ । यस मानेमा उहाँलाई सम्मान पनि गर्नुपर्छ । समाज, देश, दुनियाँ बदलिइसक्यो, तर उहाँ पुरानै अडानमा बसिरहनुहुन्छ । उहाँले नेतृत्व गरेको धार विकसित हुन, विस्तृत हुन, फैलिन र सफल हुन कहिल्यै सकेन । उहाँले नेतृत्व गरेको कम्युनिस्ट पार्टी ३० को दशकमा सबैभन्दा ठूलो थियो । तर, त्यसलाई एकताबद्ध बनाएर राखिरहन उहाँले सक्नुभएन ।
उहाँकै कतिपय अडानसँग भिन्न अडान प्रकट भएपछि त्यो पार्टी विभाजित र विखण्डित हुँदै गयो । अहिले एउटा सानो समूहलाई उहाँले अगुवाइ गरिरहनुभएको छ । अहिलेको बदलिँदो विश्व परिस्थिति र बदलिँदो राष्ट्रिय परिस्थितिअनुरूप उहाँले अहिले पनि आफ्ना धारणा परिस्कृत र परिमार्जित गर्नुभए, नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न योगदान गर्नुभए धेरै राम्रो हुने थियो ।
नयाँ पत्रिकाबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: