स्थानीय तहमा ३६ हजार ६ सय ५४ प्रतिनिधि, कहाँ कति प्रतिनिधि ?
फाल्गुन २९ गते, २०७३ आइतवार 12th March, 2017 Sun०७:१७:३४ मा प्रकाशित
काठमाडौं, २९ फागुन । स्थानीय तहको संख्या ७ सय ४४ भएसँगै निर्वाचनपछि ३६ हजार ६ सय ५४ जनप्रतिनिधि हुनेछन् । संविधानअनुसार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर र महानगरमा प्रमुख र उपप्रमुख रहनेछन् । हरेक वडामा वडाअध्यक्षसहित पाँच जनप्रतिनिधि रहने व्यवस्था छ । यसरी जम्मा ३४ हजार नौ सय तीन प्रतिनिधि जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् ।
आजको नयाँ पत्रिकामा खबर छ– दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभामा दुईजना र नगरसभामा तीनजना जनप्रतिनिधिहरूद्वारा निर्वाचित हुन्छन् । यसरी निर्वाचित हुने एक हजार सात सय ५१ सहित कुल प्रतिनिधि ३६ हजार ६ सय ५४ पुग्छन् । जिल्ला समन्वय समितिमा भने स्थानीय तहकै प्रतिनिधिहरूमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार ६ हजार ६ सय ८३ वटा वडामा पाँचजनाको दरले जनप्रतिधि निर्वाचित हुने व्यवस्था छ । अधिकारीले भने, ‘केही स्थानमा अझै समस्या देखिएको र मिलाउनुपर्ने भएकाले सायद राजपत्रमा सच्चाइएको भनेर प्रकाशित गर्ने कि भन्नेबारे छलफल भएको छ । त्यसो भएमा केही वडा फरक पर्न सक्छन् ।’
कहाँ कति प्रतिनिधि ?
– ४ महानगर– प्रमुख-उपप्रमुख : ८
-१३ उपमहानगर– प्रमुख-उपप्रमुख : २६
–२४६ नगरपालिका– प्रमुख-उपप्रमुख : ४९२
-४८१ गाउँपालिका– प्रमुख-उपप्रमुख : ९६२
–६,६८३ वडा– वडाअध्यक्ष : ६,६८३
-प्रत्येक वडामा चार सदस्य : २६,७३२ (प्रत्येक वडामा महिला एक र अल्पसंख्यक÷दलित एक सदस्य)
-गाउँसभामा अल्पसंख्यक-दलित २ सदस्य : ९६२
-महानगर, उपमहानगर र नगरसभामा दलित-अल्पसंख्यकबाट ३ सदस्य : ७८९
गाउँसभामा को–को ?
अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरू र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित सदस्य हुनेछन् । कम्तीमा दुईजना महिला हुनेछन् ।
नगरसभामा को–को ?
नगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरू र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य तथा दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित नगर कार्यपालिका सदस्य हुनेछन् । कम्तीमा दुईजना महिला हुनेछन् ।
वडामा को–को ?
वडामा एक अध्यक्ष र चार सदस्य गरी पाँचजना हुनेछन् । चार सदस्यमध्ये दुई महिला हुनेछन् । दुई महिलामा पनि एकजना दलित महिला हुनुपर्नेछ ।
कति महिला जनप्रतिनिधि ?
जिल्ला समन्वय समिति ७५ वटा हुनेछन् । अब गठन हुने जिल्ला समन्वय समिति कम्तीमा ६ देखि नौ सदस्यीय हुनेछ । जिल्ला समन्वय समितिमा तीनजना महिला हुने भएकाले ७५ वटा जिल्ला समन्वय समितिमा दुई सय २५ जनप्रतिनिधि महिला हुनेछन् । संविधानको धारा २२२ र २२३ अनुसार प्रत्येक गाउँसभा र नगरसभामा दुईजना महिला निर्वाचित हुनेछन् । यसरी हेर्दा ६ हजार ६ सय ८३ वटा वडाबाट १३ हजार तीन सय ६६ महिलाले नगरसभा र गाउँसभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।
कति दलित जनप्रतिनिधि ?
संविधानको धारा २१६ अनुसार हरेक नगरसभा र गाउँसभामा तीनजना दलित वा अल्पसंख्यक प्रतिनिधि हुनेछन् । एक हजार चार सय ८८ जना दलित वा अल्पसंख्यक नगर र गाउँसभामा प्रतिनिधि हुनेछन् ।
स्थानीय तहले तत्काल गर्ने काम
स्थानीय निकायबाट हुँदै आएका सबै काम अब स्थानीय तहबाट हुनेछ । स्थानीय तहले तत्कालका लागि आर्थिक, प्रशासन, योजना तथा आयोजना सञ्चालन, कर तथा राजस्व संकलन र सम्पत्ति हस्तान्तरणका काम गर्नेछन् ।
‘स्थानीय निकाय खारेज भएकाले अब जनताका सबै काम स्थानीय तहबाट हुनेछन् । यसका लागि कार्यदेशसमेत जारी भइसकेको छ,’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले भने, ‘सबै स्थानीय तहलाई तत्काल लेटरप्याड र छाप बनाउन भनेका छौँ । स्थानीय तहकै नाममा बैंक खाता खोल्न भनेका छौँ । नाम परिवर्तन गर्न निर्देशन पनि दिएका छौँ ।’
तत्कालको कामका लागि सरकारले ‘स्थानीय तहको शासन सञ्चालनसम्बन्धी आदेश, २०७३’ जारी गरेको छ । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आएपछि उनीहरूले नै कानुन बनाउनेछन् । ‘जननिर्वाचित प्रतिनिधि नआएसम्म मात्रै कार्यदेशले काम गर्छ । निर्वाचित प्रतिनिधि आएपछि स्थानीय तहको कानुन बनाउनेदेखि योजना तर्जुमासम्मका सबै काम सम्बन्धित तहका प्रतिनिधिले नै गर्नेछन्,’ उनले भने ।
स्थानीय तहको काम आर्थिक प्रशासन
‘स्थानीय तहको शासन सञ्चालनसम्बन्धी आदेश, २०७३’ अनुसार साबिकका गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिका बैंक खाता बन्द हुनेछन् । नयाँ खाता सम्बन्धित गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिको नाममा खोलिनेछ । ती खातामा गाविस, नगरपालिका र जिविसको बैंक मौज्दात सारिनेछ । स्थानीय तहले तत्काल एक स्थानीय सञ्चिती कोष बनाउनेछन् । सोही कोषमा गाउँपालिका र नगरपालिकाबाट संकलन हुने आम्दानी जम्मा हुनेछ । नेपाल सरकारबाट प्राप्त बजेट र अनुदान पनि सोही कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ ।
आयोजना सञ्चालन
स्थानीय निकायबाट सञ्चालन भएका योजना तथा आयोजना अब स्थानीय तहले सञ्चालन गर्नेछन् । जिल्ला विकास समितिले सञ्चालन गर्दै आएको योजना तथा आयोजना जिल्ला समन्वय समितिले सञ्चालन गर्नेछ । गाविसबाट सञ्चालित योजना तथा आयोजना गाउँपालिका वा वडाले सञ्चालन गर्नेछन् । नगरपालिकामा पनि त्यस्तै हुनेछ । आर्थिक वर्ष ०७४-७५ को बजेट निर्माणका काम पनि स्थानीय तहले नै गर्नेछन् ।
कर तथा राजस्व संकलन
स्थानीय निकायबाट चालू आर्थिक वर्षका लागि तय भएका कर तथा राजस्व संकलन अब स्थानीय तहबाट हुनेछ । कर तथा राजस्व संकलनको दर भने साबिक रहेका स्थानीय निकायले तोकेबामोजिमकै हुनेछन् । यस्तो कर तथा राजस्व संकलन स्थानीय तहबाट निर्धारण गरिएका वडा कार्यलयबाटै हुनेछन् ।
सम्पत्ति हस्तान्तरण
स्थानीय निकायका सबै चलअचल सम्पत्ति तथा दायित्व स्थानीय तहको नाममा तत्काल नामसारी हुनेछ । जिल्ला समन्वयय समितिको सम्पत्ति सम्बन्धित गाउँपालिका वा नगरपालिकालाई दिनुपरेमा सरकारले ताकेको नियमबमोजिम स्थानीय तहले हस्तान्तरण गर्न पाउनेछ ।
जिल्ला समन्वय समितिले बजेट बनाउन नपाउने
स्थानीय तहले नै आव ०७४-७५ को बजेट तथा कार्यक्रम बनाउने भएकाले जिल्ला समन्वय समितिले वार्षिक योजना र करको विषयमा जिल्ला परिषद् बैठक गर्नेछैन । स्थानीय तहको शासन सञ्चालनसम्बन्धी आदेश, २०७३ को ९ नम्बर बुँदामा भनिएको छ, ‘जिल्ला समन्वय समितिले आर्थिक वर्ष ०७४÷७५ का लागि वार्षिक योजना र कर लगाउनेजस्ता नीतिगत विषयमा जिल्ला परिषद्को बैठक नगर्ने, गरिसकेको भए कार्यान्वयन नगर्ने ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: