काठमाडौँ । सिंहदरबार परिसरबाट राष्ट्रिय अभिलेखालय सार्ने निर्णय भएपछि ५० हजार हस्तलिखित बहुमूल्य ग्रन्थ जोगाउन नसकिने भएको छ ।
मन्त्रिपरिषद्को २०७१ वैशाख २५ गतेको बैठकले अभिलेखालयले चर्चेको १३ रोपनी जग्गा सर्वोच्च अदालतलाई दिने निर्णय गरेको थियो । अभिलेखालयलाई नारायणहिटीमा जग्गा दिने निर्णय गरिए पनि मन्त्रिपरिषद्को २०७१ साउन २२ गतेको बैठकले अन्यत्रै दिने निर्णय गरे पनि ठाउँ तोकेको छैन । मन्त्रिपरिषद्को निर्णयअनुसार अभिलेखालय सार्नुपरे हस्तलिखित बहुमूल्य हजारौँ सामग्री नाश हुने अभिलेखालय प्रमुख सौभाग्य प्रधानाङ्गले बताए । पुरातात्विक महत्वका बहुमूल्य सामग्री संरक्षणकै लागि भारत सरकारको सहयोगमा अभिलेखालयको यो भवन निर्माण भएको हो । अभिलेखालयको मूल भवन पछाडिको माइक्रोफिल्म भवन जर्मन सरकारको सहयोगमा बनेको हो । “दाता राष्ट्रले पुरातात्विक सामग्रीको महत्व बुझेर संरक्षणका लागि सहयोग गरेकामा नेपाल सरकारले यसको मूल्य विचार नगरी बहुमूल्य सामग्री नष्ट हुन दिनुहुन्न”, उनले भने । सिंहदरबारमा सुरक्षाको दृष्टि र सबैलाई पायक पर्ने कारणले उचित स्थानमा अभिलेखालय रहेकाले हटाउन नहुने प्रमुख प्रधानाङ्गको माग छ । दुवै भवन भूकम्प प्रतिरोधी भएकाले २०७२ वैशाख १२ गतेको भूकम्पले समेत कुनै क्षति पुगेन । बहुमूल्य सामग्री संरक्षणका लागि वातानुकूलित कोठामा यन्त्र जडान गरिएकाले कार्यालय सार्दा खर्चका साथै जग्गा पनि बढी लाग्छ । यसैगरी कार्यालयमा खर्च जुटाएर सुरक्षा घण्टीसमेत राखिएको छ । विसं २०२४ असोज १७ गते वीर पुस्तकालयमा सुरक्षित हस्तलिखित बहुमूल्य पुस्तक संरक्षण गर्ने उद्देश्यले अभिलेखालयको स्थापना भएको थियो । अभिलेखालयमा १३औँ शताब्दीको ‘कारण्य वियोग’, ‘स्कन्द पुराण’, ‘सत्धर्म कुण्डलिका’, जयस्थिति मल्लको पालाको ‘न्यायविकासिनी’, लालमोहर, सन्धिपत्र, इस्तिहार, चिठी जस्ता बहुमूल्य सामग्री राखिएको अभिलेख अधिकृत मनिता न्यौपानेले बताइन । हस्तलिखित ग्रन्थ संस्कृत, नेवारी, मैथिली, हिन्दी, तिब्बतीयन र केही बंगाली भाषाका पनि सक्कली छन् । अभिलेखालयमा दुई लाख ग्रन्थको माइक्रोफिल्म गरेर राखिएको छ । अभिलेखालयमा संग्रह गरिएको नवौँ शताब्दीको शैव धर्मको हस्तलिखित ग्रन्थ ‘निश्वासतत्व संहिता’ मेमोरी अफ वल्र्ड हेरिटेजमा सूचीकृत एक मात्र ग्रन्थ हो । अभिलेखालयले स्थापनाको स्वर्ण महोत्सव मंगलबार मनाउने कार्यक्रम राखेको छ । स्वर्ण महोत्सव समारोहको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । अभिलेखालयले विसं २०७२ देखि राष्ट्रिय अभिलेखालय दिवस मनाउन शुरु गरेको छ । असोज १७ गते मनाउने गरिएको यो दिवस यस वर्ष विजयादशमीको भोलिपल्ट परेकाले कुनै औपचारिक कार्यक्रम हुन सकेन । दिवसको कार्यक्रम पनि मंगलबार स्वर्ण महोत्सवका अवसरमा गरिने अभिलेखालयले जनाएको छ ।रासस
प्रतिकृया लेख्नुहोस्: