आश्विन २० गते, २०७५ शनिवार 6th October, 2018 Sat०८:५८:०२ मा प्रकाशित
काठमाडाै । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालका विज्ञहरूले केही गर्न नसकेको टिप्पणी धेरै नै सुनिन्छन् । तर, यथार्थमा ती टिप्पणीमा पूर्ण सत्यता छैन । यो क्षेत्रमा सरकारको लगानी र अवसरको तुलनामा धेरै प्रयास भएका छन् । बरु, ती प्रयासलाई व्यवहारमा ल्याउन नसकेको सत्य हो । प्लास्टिक, परिकार तयार गरेपछि उब्रिएर खेर जाने डढेको तेल र सजिवनबाट डिजेल उत्पादन गर्न सकिने प्रविधिको विकास नेपालकै वैज्ञानिकले गरेका छन् । रासायनिक मलको विकल्पमा बायोचार मल उत्पादन गर्ने प्रविधिको विकास पनि गरेका छन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबत्र छ - अन्तरिक्षमा पठाउने भूउपग्रह निर्माणमा वैज्ञानिक टोली जुटेको छ । भुइँचालो आउनुभन्दा २२ सेकेन्ड पहिला सर्वसाधारणलाई जानकारी दिने सेन्सरको आविष्कार मात्रै होइन, भूकम्प सुस्त गराउने पर्खाल डिजाइन पनि हाम्रा इन्जिनियरले गरेका छन् । यस्ता सफल प्रयास समेटेर योगेश ढकालले तयार पारेको रिपोर्ट :
विज्ञान र प्रविधिमा कुल बजेटको ०.३८% मात्रै
देशका वैज्ञानिक नयाँ–नयाँ खोजका लागि तल्लीन हुन खोज्छन् । केही प्रयोगमा सफल पनि भएका छन् । तर, प्रयोगको सफल परीक्षणपछि पनि उनीहरूलाई सरकारको साथ मिल्दैन । विज्ञान र प्रविधिको क्षेत्रमा फड्को मार्न सरकारले नै प्रभावकारी कदम चालेको छैन ।
उत्सुकतासमेत देखिँदैन । वार्षिक बजेटमा सरकारले छुट्याउने रकमले नै यसलाई पुष्टि गर्छ । कुल बजेटको औसत ०.३८ प्रतिशत रकम मात्र सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा खर्च गर्ने गरेको छ । राज्यले नै तदारुकता नदेखाएकाले विज्ञान र प्रविधिको विकास सक्नेजति हुन नसकेको गुनासो विज्ञहरूको छ ।
अन्तरिक्षमा पठाउन नानो स्याटलाइट
सन् २०१९ मा नेपालले अन्तरीक्षमा आफ्नै स्याटलाइट पठाउने तयारी गरिरहेको छ । नानो स्याटलाइट (सानो भूउपग्रह) अहिले जापानमा बनाइँदै छ । नेपाल, जापान र श्रीलंकाको संयुक्त टोलीले नानो स्याटलाइट बनाइरहे पनि अर्को वर्ष नासाबाट आ–आफ्नै देशका लागि अन्तरिक्षमा पठाउनेछन् । यो स्याटलाइट निर्माणको नेतृत्व आभाष मास्केले गरिरहेका छन् ।
मास्केले जापान र श्रीलंकाको टोलीको पनि नेतृत्व गर्दै छन् । टिममा हरिराम श्रेष्ठ पनि संलग्न छन् । नानो स्याटलाइट निर्माणमा आवश्यक यन्त्र खरिदका लागि नेपाल सरकारले २ करोड रुपैयाँ खर्चिएको छ । नास्टका प्रविधि विभाग प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले आउँदो वर्ष नास्टमै ग्राउन्ड स्टेसन पनि बनाइनेछ ।
स्याटलाइटबाट जुनसुकै ठाउँको बाढीपहिरो, हिमपहिरो, आगलागीलगायत प्रकोपबारे जानकारी प्राप्त हुन्छ । नेपालले अहिलेसम्म यस्तो जानकारी लिन अन्य मुलुकको स्याटलाइट प्रयोग गरिरहेको
छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका अनुसार वर्षमा करिब ३ अर्ब रुपैयाँ स्याटलाइटको नाममा बिदेसिन्छ ।
नेपालले नानो स्याटलाइट अन्तरिक्षमा पठाए उक्त रकम बचत हुने ढकाल बताउँछन् । नानो स्याटलाइट संसारको नयाँ प्रविधि पनि हो । जर्मनीले सन् २०१८ र जापानले २०१७ मा नानो स्याटलाइट अन्तरिक्षमा पठाएका थिए । नास्टका ढकालले ठूलो स्याटलाइट बनाउन भने करिब ६० अर्ब रुपैयाँ र १० देखि १२ वर्ष लाग्ने बताए ।
प्लास्टिकबाट डिजेल उत्पादन
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकले प्लास्टिकबाट डिजेल उत्पादन गरिसकेका छन् । दैनिक प्रयोगबाट खेर जाने प्लास्टिक प्रशोधन गरेर उनीहरूले डिजेल उत्पादन गरेका हुन् । सफल परीक्षण भए पनि प्रयोगमा भने आउन सकेको छैन । कुन प्लास्टिकबाट कति तेल, कुन गुणस्तरको उत्पादन हुने भन्ने पनि अध्ययन भइसकेको छ । सवारीसाधनमा प्रयोग गर्न मिल्ने उच्च गुणस्तरको भएको डा. ढकालले जानकारी दिए ।
अध्ययनअनुसार १ किलो प्लास्टिकबाट १ लिटर डिजेल उत्पादन हुन्छ । तर, काठमाडौं महानगरपालिकाबाट निस्कने फोहोरमा पाइने प्लास्टिकबाट भने १० किलोबराबर ६ किलो डिजेल मात्रै उत्पादन हुन्छ । महानगरको फोहोर प्लास्टिकमा बालुवा, माटोलगायत फोहोर हुने भएकाले डिजेल कम उत्पादन भएको अनुसन्धानले देखाएको छ ।
काठमाडौं महानगरमा दैनिक ७५ टन फोहोर उत्पादन हुने गरेको छ । त्यसबाट ४५ टन डिजेल उत्पादन हुने नास्टको अध्ययन बताउँछ । प्लास्टिकबाट उत्पादित डिजेल खुद्रा बजारमै प्रतिलिटर ५० रुपैयाँमा बिक्री गर्न सकिने बताउँछन् डा. ढकाल ।
यो आधारमा ४५ टन डिजेल बिक्री गर्दा दैनिक २२ लाख रुपैयाँ आम्दानी हुन्छ । प्लास्टिकबाट डिजेल उत्पादनसम्बन्धी नास्टका प्रविधि विभाग प्रमुख डा. ढकालको कार्यपत्र संयुक्त राष्ट्रसंघमा उत्कृष्ट १० मा छनोटसमेत भएको थियो ।
सजिवन र अडिरको दानाबाट पनि डिजेल
फोहोर प्लास्टिकबाट मात्रै होइन सजिवन र अडिरको दानाबाट पनि नेपालका वैज्ञानिकले डिजेल उत्पादन गरिसकेका छन् । जैविक डिजेलको प्रयोग पनि सफल भएको छ । सजिवनबाट डिजेल उत्पादन गर्न पाल्पा र चितवनमा प्रशोधन केन्द्र पनि स्थापना भयो ।
तर, विभिन्न पक्षले वातावरण र कृषि क्षेत्रमा हानि हुने प्रश्न उठाएपछि गति लिन सकेन । करिब १९ लाख हेक्टर जमिन बाँझो रहेको जमिनमा सजिवन खेती गर्ने भनिएको डा. ढकाल बताउँछन् । सजिवनबाट डिजेल सस्तोमा उत्पादन हुन सक्ने ढकालको भनाइ छ ।
ढकालका अनुसार सजिवनको ३ किलो दानाबाट १ लिटर डिजेल उत्पादन गर्न सकिन्छ । तर, २ किलो अडिरबाट भने १ लिटर डिजेल उत्पादन हुन्छ । अडिरबाट डिजेल उत्पादन गर्ने प्रक्रिया पनि सजिवनकै जस्तो हो ।
डढेको तेलबाट गाडी गुड्ने तेल
होटेल तथा पार्टी प्यालेसमा खानेकुरा पकाएपछि डढेको तेल उब्रिने गर्छ । यस्तो तेलबाट डिजेल उतपादन गर्न सकिने प्रविधिको पनि देशमा विकास भएको छ । नास्टले गरेको अध्ययनबाट खानेकुरा पकाउन प्रयोग गरेको तेलबाट सवारीसाधनमा प्रयोग गर्ने गुणस्तरको डिजेल उत्पादन हुन्छ ।
समोसा, सेलरोटी, फिंगर चिप्सलगायत जति पनि तेलमा तारेर पकाइने खानेकुरा छन्, ती खानेकुरा उक्त तेलमा २ पटकभन्दा बढी प्रयोग गर्न मिल्दैन । उक्त तेल धेरै प्रयोग गरे क्यान्सर हुन सक्ने जीवाणु उत्पादन हुन्छ । तर, त्यसरी प्रयोग गरेको तेलबाट गुणस्तरीय डिजेल उत्पादन गर्न सकिन्छ ।
नास्टको अध्ययनअनुसार काठमाडौं उपत्यकामा होटेल, पार्टी प्यालेसलगायतबाट प्रयोग गरेको अर्थात् फ्राइड तेल वर्षमा ११ करोड लिटर निस्कन्छ । यस्तो १ लिटर तेलबाट एक लिटर नै डिजेल उत्पादन गर्न सकिने नास्टको अध्ययनले देखाएको छ ।
यो हिसाबमा वर्षमा ११ करोड लिटर डिजेल उत्पादन गर्न सकिन्छ । नास्टको अध्ययन र प्रयोगशालबाट भएको उत्पादनको सम्पूर्ण खर्च हेर्दा यसरी उत्पादन भएको डिजेल बजारमा १६५ रुपैयाँमा विक्री गर्न सकिन्छ ।
रासायनिक मलको विकल्पमा बायोचार
खेर जाने पात–पतिंगर, वनमारालाई प्रयोग गरेर बायोचार अर्थात् प्रांगारिक मल उत्पादन गरिन्छ । बायोचारले कृषि उत्पादन रासायनिक मलले भन्दा दोब्बर बढाउने नास्टको अध्ययनले देखाएको छ । एकप्रकारको अंगारलाई मलका रूपमा प्रयोग गराएर बायोचार तयार गर्ने अभियानमा नास्ट देशव्यापी रूपमा लागेको छ ।
पातपतिंगर, वनमारा, घसेटा, जंगलमा खेर जाने अन्य सामग्रीलाई एउटा खाडलमा राखेर डढाइन्छ । तर, पूरै खरानी हुने गरी भने डढाउन हुँदैन । डढाएर तयार पारेको अंगारको डल्लोमा गाईको पिसाब मिसाइन्छ । त्यसपछि बन्छ बायोचार । बायोचारको प्रयोग गर्ने किसानको संख्या २ हजार पुगिसकेको छ । नास्टले १५ वटा सामुदायिक वनसँग बायोचार उत्पादनका लागि सहकार्य गर्न थालेको छ ।
बर्दिया, मकवानपुपर र नवलपरासीमा यो काम भइरहेको डा. ढकालले बताए । उनका अनुसार वनमारालाई जीवनस्तरसँग जोड्न यो प्रविधिको विकास गरेको हो । कर्णाली प्रदेश सरकारले ‘अर्गानिक प्रदेश’ बनाउने घोषणा गरेपछि बायोचार मलको प्रयोग कर्णालीमा बढाउन नास्टले जोड दिएको छ । एकचरण तालिम पनि दिएको छ ।
भुइँचालोबारे २२ सेकेन्डअघि नै जानकारी
नेपालकै वैज्ञानिकले भुइँचालोबारे पूर्वजानकारी दिने प्रविधि बनाएर उपयोगमै ल्याइसकेका छन् । तर, यो प्रविधि निर्माणमा नास्टलाई चीन सरकारले सहयोग गरेको हो । उपकरणहरू चीनले निःशुल्क दिएपछि वैज्ञानिकले थप अध्ययन गरेर उपयोगमा ल्याएका हुन् ।
यो प्रविधिले भुइँचालो आउनुभन्दा २२ सेकेन्ड पहिला जानकारी दिन्छ । नास्टले देशका ८० स्थानमा उक्त प्रविधिका सेन्सर जडान गरिसकेको छ । ती सेन्सर १५ किमि दूरीको फरकमा छन् । नास्टका प्रविधि विभाग प्रमुख डा. ढकालका अनुसार कास्की, लमजुङ, गोरखा, तनहुँ, चितवन, बारा, पर्सा, रौतहट, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर र धादिङमा ती सेन्सर जडान भएको छ ।
स्मार्ट फोन प्रयोगकर्तालाई यो प्रविधिको सदुपयोग सहज हुनेछ । स्मार्ट फोनमा उपयोग हुने गरी एउटा एप्स बनाइनेछ । एप्स डाउनलोड गरेपछि ५ रेक्टरभन्दा ठूला भुइँचालोबारे जानकारी आउँछ । कहाँ, कति रेक्टरको आउँदै छ भन्ने सूचना उक्त एप्सले दिन्छ ।
भुइँचालो गइरहेको स्थानबाट नास्टको सर्भरमा आइपुग्न र त्यहाँबाट स्मार्ट फोनकर्तासम्म पुग्न २ देखि ३ सेकेन्ड समय लाग्छ । नास्टले देशका विभिन्न स्थानमा ती सेन्सर जडान गर्न करिब १५ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
भूकम्पको कम्पन आधा कम गराउने पर्खाल
नास्टले आफ्नै अध्ययनबाट भूकम्पलाई सुस्त बनाउने पर्खालको डिजाइनसमेत गरेको छ । नास्टका पूर्वउपकुलपति प्रा.डा. जीवराज पोखरेलले यो प्रविधि डिजाइन गरेका हुन् । नास्टका अनुसार यो पर्खालले भूकम्पको कम्पनलाई आधा कम गराउनेछ । आफू बस्ने घरलाई घेरा हालेर यस्तो पर्खाल बनाउन सकिन्छ ।
लौठ सल्लामा क्यान्सर प्रतिरोधी क्षमता
प्रविधिको क्षेत्रमा आफ्नो प्रयास गरिरहेका वेला स्वास्थ्यको क्षेत्रमा वैज्ञानिक विकास भएको छ । लौठ सल्लामा क्यान्सर रोगसँग लड्ने क्षमताको गुण हुने अध्ययन भएको छ । नास्टले गरेको यो अध्ययनबाट लौठ सल्लाको चोपमा क्यान्सर प्रतिरोधी क्षमताको गुण पत्ता लागेको हो । डा. ढकालका अनुसार लगानीकर्ता आकर्षित नहुँदा औषधि उत्पादन हुन सकेको छैन । कच्चा पदार्थ भने नेपालबाट निर्यात भइरहेको छ ।
जंगली च्याउबाट कृषि उत्पादन बढाउने मल
जंगली च्याउबाट मल बनाउन सकिने प्रविधिको विकाससमेत नेपालमा भएको छ । नास्टले गरेको अध्ययनले च्याउबाट ढुसीमल बनाएर कृषि उत्पादन वृद्धि गराउन सकिने देखाएको छ । प्रविधिको विकास भए पनि प्रयोगमा ल्याउन नसकिएको डा. ढकालले बताए ।
राज्यबाटै पहल आवश्यक छ- प्रा.डा. जीवराज पोखरेल पूर्वउपकुलपति, नास्ट
नेपालका पुराना संरचना हेर्दा पहिलेदेखि नै धेरै वैज्ञानिक रहेको देखिन्छ । उनीहरूबाट गुणस्तरीय इन्जिनियरिङ भएको देखिन्छ । पुरानो बस्ती, धरहरालगायतको डिजाइनले पनि यो पुष्टि गर्छ । अहिले पनि केही वैज्ञानिक र इन्जिनियर नयाँ अध्ययनमा लागेका छन् । तर,राज्यको पर्याप्त सहयोग भने आवश्यक पर्छ ।
लगानीकर्ताले साथ दिए धेरै गर्न सम्भव- डा. रवीन्द्रप्रसाद ढकाल प्रमुख, प्रविधि विभाग, नास्ट
नेपाली सीप, कला र क्षमताअनुसारको अध्ययन–अनुसन्धान भइरहेको छ । प्लास्टिक, सजिवन र डढेको तेलबाट डिजेल उत्पादन गर्न सकिने प्रविधिको विकास गरेका छौँ । यसैगरी भूकम्प सुस्तकारी पर्खालको डिजाइन गरेका छौँ ।यी प्रविधिको सफल परीक्षणसमेत भएको छ । अब विकास र विस्तार गर्न राज्यबाट पहल आवश्यक छ । उत्पादनमा लगानीकर्ता पनि उत्सुक भइदिने हो भने नेपालले प्राविधिक क्षेत्रमा धेरै विकास गर्न सक्छ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: