भ्रष्ट मनोविज्ञान
आज चिन्ताको विषय, आम सामाजिक मनोविज्ञान नै भ्रष्टचार र कमिशन प्रति लालायित बनेको छ । आज समाजमा पुरै भ्रष्टहरुको विगविगी भएको छ । मान्छेको चिन्ता रातारात धनी बन्ने योजना र षडयन्त्र तर्फ उन्मुख छ । आज राज्यका नामुद भ्रष्टहरु, तस्करहरु, कालोबजारीहरु र कमिशन खोरहरु नै राज्यबाट पुरस्कृत भएका छन् । यिनै नै राज्यका केन्द्रमा रहेका छन् । आज सबैभन्दा ठूला भ्रष्ट र लुटेराहरु कहाँ हुन्छन् भनेर खोज्नु पर्दैन, तिनिहरु राज्य संचालनको मुख्य घेरामा भेटिन्छ । जब राज्य नै भ्रष्टचारीहरुको संरक्षक बनेर उभिन्छ, सत्तारुढ पार्टी नै दलालहरुको अभिभावक बनेर निस्किन्छ तब जनता न्याय खोज्न कहाँ जाने ? के त्यस्तो राज्यमा न्याय र निशाफको परिकल्पना गर्न सकिएला ?
आज राज्य संयन्त्र पुरै किनबेच र मोलतोलका आधार चलाईदै छ । आज अरबौंका दजनौं भ्रष्टाचारका काण्डहरुले राज्यको मजाक गरिरहेका छन् । ओली नेतृत्वको सरकारले समाजवादको खिल्ली उडाएको छ । सत्तारुढ डबल नेकपाले कम्युनिष्ट पार्टीको उपहास गरी रहेको छ । एनसेल, वाइडवोडी, बालुवाटार जग्गा प्रकरण, फोरजी प्रकरण, मेलम्ची, ३८ क्वीन्टल सुन काण्ड लगायतका दर्जनौं भ्रष्टचारका काण्डहरु जुन सिधै सत्तारुढ नेकपाका नेताहरुसँग जोडिएका छन् । अरबौंका भ्रष्टाचारका काण्डहरुको सूची उतार्न थाल्ने हो भने त्यो पानामा नअटाउने भएको छ र सबै भ्रष्टचारको संरक्षण सरकार र सत्तारुढ पार्टीले गरिरहेको देखिन्छ । इतिहासको मजाक के छ भने भ्रष्टचारलाई राज्यद्धारा संस्थागत गरिएको छ र वैधानिकता प्रदान गरिएको छ । गणतन्त्रलाई लुटतन्त्रमा परिणत गरिएको छ ।
आज नवधनाड्य वर्ग जो राज्यदोहन गरेर रातारात धनी बनेका छन्, उनीहरु नै सर्वत्र हाबी भएका छन् । लुट्नको लागि आज साम, दाम, दण्ड र भेद सबै प्रयोग भएको छ । हिजोका राजारानीभन्दा पनि धेरै खर्चिला, भड्कीला सरकारका नेतृत्व कर्तालाई अब आलोचना वा विरोधबाट सच्याउन सकिंदैन । सरकारमा बस्नेको सोंच, चिन्तन र दृष्टिकोण यति जिर्ण (क्रोनिक) बनेको छ कि अब सुधारको सम्भावना छैन । उनीहरुका दैनिक खर्चले मुलुकलाई थिलो थिलो पार्ने अवस्था बन्दै गरेको छ । सत्तारुढ दल यति विघ्न भ्रष्टाचारमा डुबेको छ कि भ्रष्टचारको विरोध गर्ने, त्यहाँ अट्न नसक्ने भएको छ । विभिन्न आरोपमा आलोचना गर्नैहरु पार्टीबाट गलहत्याईने अवस्था छ ।
विकसित पछिल्लो राजनीतिक परिस्थितिले जनताहरुमा गणतन्त्र भन्ने व्यवस्था प्रति नै वितृष्णा पैदा भएको छ । जनताहरुमा यति धेरै निराश अवस्था छ कि, जनमत संग्रह हुने हो भने बरु राजतन्त्रले जीत्ने अवस्था बनाइएको छ । दुई तिहाई त खाली राज्यदोहनका लागि भन्ने भाव सत्तामा परेको छ । अन्नत्व गत्वा सरकार लुटेराहरुको केन्द्र बनेको छ । सबैतिर सिमित दलालहरु खडा गरेर उसले आफ्नो उन्माद देखाई रहेको छ । प्रधानमन्त्रीभन्दा ठूलो आवाज दलालहरुको छ ।
बालुवाटारको जग्गा बेच्नु देश बेच्नु सरह
यो एउटा मनोविज्ञानको कुरा हो कि बालुटारको जग्गा राज्यको हो । तर, त्यो बेच्नु भनेको देश बेच्नु जस्तै हो । त्यो बेच्न सक्नेले देश नबेच्लान भन्ने केही छैन । बालुवाटारको जग्गा किन्ने र बेच्ने सरकारको केन्द्रमा छ । सत्तारुढ पार्टीको हेडक्वाटरमा छन् । त्यसमा पार्टीका महासचिव विष्ष्णु पौडेल मात्र हैनन् सत्तारुढ नेकपाका अन्य जिम्मेवारहरु पनि संलग्न देखिन्छन् । यदि उनिहरुको संलग्नता नभएको भए, एक दिनको लागि भएपनि पार्टीबाट निलम्बन गरेर छानवीन गर्न सकिन्थ्यो । पार्टीले सामान्य स्पष्टीकरण पनि लिने हिम्मत गर्न सकेन ।
सरकारले उल्टो उनी ठगीएको र क्षतिपूर्ति दिने कुरा गर्यो । प्रधानमन्त्री केपि ओलीले बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेल निर्दोष भएको भन्दै बचाउ र संरक्षण गरे । अहिले सार्वजनिक जग्गा बिक्री भएका समाचारहरुको सप्रमाण बाढी नै आएको छ । तर सरकार भने चुसम्म बोल्न सकेको छैन्, आखीर किन ? जवाफ स्पष्ट छ, किनकी त्यहाँ मिलेमतो र भागवण्डा भएको छ । सबै त्यसमा डुबेका छन् । कथित जनप्रतिनिधिहरुको संसदमा यी विषयमा छलफल हुँदैनन् । कथम कदाचित भईहाले भने वाइडवोडीमा जस्तै रातारात भाषा फेरीन्छन् ।
भ्रष्ट विचार
भ्रष्टाचार पनि नेताहरुको दृष्टिकोणमा आएको विचलन, पलायन र अवसरवादको पराकाष्ठा हो । जब देश र जनताप्रति धोका र गद्धारी हुन्छ तब भ्रष्टाचारले जरा गाड्छ । जब विचारको अन्त्य भन्ने संष्लेषण गरीयो जब इतिहासको अन्त्य भन्ने घोषणा गरियो तब बाँकी नै के थियो र ? विचार, इतिहासका साथसाथै वर्ग अनि परिवर्तनको पनि अन्त्य भएको निष्कर्ष निकालीयो । र त कोही एमालेमा कोही फोरममा विलय बनाईयो । विस्तारै यिनीहरु राष्ट्रियताको अन्त्य भन्ने विभ्रमतिर जाँदै छन् । कथित नागरीकता विधेयक जसमा नेपालीलाई हैन विदेशीहरुलाई नागरिकता बाँड्ने षडयन्त्र भयो ।
जसलाई नेपालको माया छ, हाम्रो भूगोल प्रति माया छ र हाम्रो सीमा अतिक्रमणको पीडाबाट मुक्त हुने मन छ । अनि हाम्रो राष्टियताप्रति अगाध माया छ । उसले यस्तो नागरिकता विधेयक ल्याउन सक्दैन । जसलाई हाम्रा भावी सन्ततीहरुले के भन्लान भन्नेसम्मको चिन्ता हैन उनीहरुको लागि राष्ट्रियता केवल नरहे बाँस नबजे बाँसुरी जस्तै भएको छ । म प्रधानमन्त्री नभए के को राष्ट्रियता, किन राष्ट्रियता भन्ने मनोवृत्तिको विकास भएको छ । आज रुपमा माओवादबाट तल झरेर माक्र्सवाद लेनिनवाद मात्र भनिएको छ तर व्यवहारमा उल्टो भएको छ ।
जसले दिनहुँ अरबौंका भ्रष्टाचार गरीरहन्छन्, तिनीहरुले ल्याई दिने समाजवाद कस्तो होला ? के समाजवाद पनि भिख मागेर पाईने चिज हो र ? राजामहाराजा, नेता र सामन्तले दिएर आउने चिज हो र ? के प्रचण्ड र ओलीले जनतालाई समाजवाद दिन सक्छन् ? जसले जनताका न्यायपूर्ण आवाजलाई प्रतिबन्धित गर्छन्, दमन गर्छन्, तिनले अधिकार कसलाई दिन्छन् होला ? आज सबै जनताका अधिकार लुट्न वा खोस्न खोजीदै छ । डाक्टरहरु, इन्जीनीयरहरु आन्दोलनमा निस्कीए, लाठी बर्षाएर दमन गरियो । पत्रकारहरु सडकमा आएका छन्, दमन गरीएको छ ।
किसान, मजदुर, उद्योगी, व्यवसायी, राष्ट्रिय पुँजीपति सबैलाई दमन गरींदै छ । किन खोसीन्छ जनताका सार्वभौम अधिकार ? किन लगाईन्छ दलमाथी प्रतिबन्ध ? किन गरिन्छ झुटो इकाउन्टरको नाममा गोली हानी हत्या ? किन गरिन्छ मौलीक हक र मानव अधिकारको हनन् ? विचारमा कस्तो शक्ति हुन्छ भन्ने हेर्न टाढा जानु पर्दैन । पहिलो संविधानसभाको निर्वाचन पछि बनेको प्रचण्ड नेतृत्वको सरकारलाई हेरे पुग्छ । त्यतिबेला कसैले पनि भ्रष्टचारको कल्पनासम्म पनि गरेको थिएन । तर अहिले त भ्रष्टहरुले घर उपहार दिन्छन् प्रचण्डलाई । आज देशै भ्रष्टाचारमा डुबे जस्तो भएको छ ।
भ्रष्ट संस्कृति
आज हाम्रो समाजमा भ्रष्टाचार पनि एउटा संस्कृतिका रुपमा विकास हुँदै छ । जसले पैसा कमायो उ समाजमा प्रतिष्ठित बन्यो । जसरी होस पैसा कमाऊ भन्ने संस्कारको विकास भएको छ । लुटपाट, गुण्डागर्दी, ठेक्का पट्टा, कालोबजारी, तस्करी जसरी कमाए पनि त्यो बैध र सम्मानीत हुन्छ । यो भ्रष्ट संस्कृतिले हाम्रो समाजलाई निल्दै छ । आज इमान्दार र स्वाभिमान बन्ने मान्छेहरु बहिस्करणमा पर्दैछन् । स्वच्छ पेशा, व्यवसाय वा जागीरमा बाँच्न चाहने मान्छेहरु विस्तारै समाजका अपहेलित र निम्न वर्गमा रुपान्तरीत हुँदैछन् । सर्वत्र काम नगरी दलालीका आधारमा धनी बन्ने आकांक्षाहरुको विकास हुँदैछ । आज भयानक चिन्ताको विषय के छ भने काम गर्ने, उत्पादन गर्ने मान्छेहरु सधैं कङ्गाल र अपहेलित बनीरहनु पर्ने तर दलालहरु वा विचौलियाहरु धनी बनीरहने व्यवस्थाले मुलुकलाई विघटन तीर लैजाँदै छ । आज सबै तहका सरकार, नेता र कार्यकर्ताहरुलाई दलाल र विचौलिया बन्न सिकाईदै छ ।
भ्रष्टचार विरोधी आन्दोलन
आज नागरिकहरु स्वतस्फूर्त रुपमा भ्रष्टाचार विरोधी आन्दोलनमा उत्रीदैं छन् । नागरीक समाज, नागरीक अगुवा, बुद्धिजीवी, पत्रकार सबै भ्रष्टाचार विरुद्ध सडकमा निस्कींदै छन् । वरिष्ठ विश्लेषक प्राध्यापक डा. सुरेन्द्र के.सी.ले भनेका छन् –“प्रतिबन्ध र भ्रष्टचारको विरोध गर्दा कसैले विप्लवको आरोप लगाएर जेल चलान गर्छ भने म जेल जान तयार छु ।”
यसबाट प्रष्ट हुन्छ केपि र प्रचण्डले फासीवादले कति ठूलो विस्फोट निम्त्याउँदै छन् भनेर । डा. सुन्दरमणि दिक्षितले भने जस्तै “परिवर्तन ल्याउलान र जनतालाई अधिकार देलान भनेको त लुटतन्त्र पो ल्याए र आफू मालिक भए ।” पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले भने जस्तै –“केपि र प्रचण्ड त कम्युनिष्टका नाममा लुटेरा पो रहेछन्, राष्ट्रियताको आन्दोलन लागि विप्लवले सडकमा आएर नेतृत्व गर्नु पर्छ ।”
करिब एक खरब कर नतिर्ने एनसेलमाथि र भ्रष्ट अनि मानव तस्करमाथि कार्वाही गर्नसाथ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धको सर्वत्र विरोध र भत्र्सना भएको छ । आज प्रतिबन्ध र भ्रष्टाचारका विरुद्ध एउटा सशक्त ध्रुवीकरणको सम्भावना बढेको छ । ५ पार्टी बीचको कार्यगत एकताबाट एउटा फासीवाद विरोधी मोर्चा बन्ने सम्भावना प्रबल बनेको छ । अलि पहिला क. प्रकाण्डमाथि मुद्दा चलाइएको थियो । उहाँसँगको सर्वौच्च अदालत भित्रको भेटमा एकजना वरिष्ठ अधिवक्ताले भनेका थिए –“अब त लोकतान्त्रीक अधिकार र मानव अधिकारका लागि पनि तपाईहरुले लडिदिनु पर्ने बेला भएको छ ।”
भ्रष्टचार र फासिवाद
वर्तमान केपि र प्रचण्ड गठबन्धनको सत्ताभित्र भ्रष्टाचार र फासिवाद दुवै उत्कर्षमा पुगेको छ । एउटा हातमा कमिशनतन्त्र र अर्को हातमा निरंकुशतन्त्र सँगै हिडाइएको छ । एउटा हातमा अधिनायकवाद र अर्को हातमा माफिया तन्त्र हावी भएको छ । सरकारको एउटा हातमा तानाशाहीकरण र अर्को हातमा लुटतन्त्र सँगै हिंडेको छ । प्रधानमन्त्री केपि ओलीले आफुलाई हिटलर नै ठानेका छन् । उनी सबै न्यायपूर्ण आन्दोलनहरुलाई दबाउने अभ्यास गर्दैछन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय फासीवादको निर्णायक कदम थियो ।
भ्रष्टाचार र फासीवादको अन्त्यका लागि विप्लवको नेतृत्व
आज भ्रष्टाचार र फासीवाद हाम्रो राज्यका मुख्य शत्रु बनेका छन् । सबैखाले विकृति र विसंगतिले राष्ट्रलाई नै निल्ने वा विघटन गर्ने खतरा उत्पन्न भएको छ । अहिलेको निरंकुश सत्तालाई अपदस्त गर्न सकिएन भने देशै नरहने खतरा उत्पन्न भएको छ । यसको प्रतिरोधका लागि एउटा शशक्त पार्टी र विश्वासीलो नेतृत्व चाहिन्छ । त्यसका लागि विप्लवको नेतृत्व विस्तारै सर्वस्वीकार्य हुँदैछ । अब जनताले विश्वास गर्न सक्ने पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी हुने छ र सबै प्रगतिशिल देशभक्त, सच्चा लोकतन्त्रवादी तथा मानवअधिकारवादी शक्तिहरुको सामुहिक पहलबाट भ्रष्ट र निरंकुश सत्ताको अन्त्य गर्नु जरुरी बनेको छ ।
(पन्त विप्लव नेतृत्वको नेकपाका नेता हुन्)
प्रतिकृया लेख्नुहोस्: