काठमाडौं । कांग्रेस नेताहरूले संशोधित विधानअनुसारका पार्टी संरचना भदौ तेस्रो सातासम्म गठन गरेर १४औँ महाधिवेशनमा होमिने सहमति गरेका छन् । आइतबार दिउँसो शीर्ष नेता तहमा भएको सहमतिलाई साँझ बसेको केन्द्रीय समिति बैठकमा पेस गरिएको छ । निर्वाचनबाटै बुथदेखि प्रदेश समिति गठन गर्ने सहमति पनि शीर्ष तहमा भएको छ । यसअघि पार्टी संरचना गठन गर्न तदर्थ समिति बनाउने विषय उठेको थियो । आगामी २४ भदौबाट सुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि कम्तीमा पनि बुथ तहदेखि ६ हजार सात सय ४३ वडा, सात सय ५३ पालिका समिति र तीन सय ३० प्रदेश समितिसम्म गठन हुन सक्ने महामन्त्री पूर्णबहादुर खड्काले बताए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ‘संशोधित विधानअनुसार निर्वाचनमार्फत अन्तरिम संरचना गठन हुन्छ । निर्वाचन समितिसँगको छलफलपछि हामी २४ भदौको जागरण अभियानअघि बुथ, वडा र प्रदेश समितिसम्म गठन गर्ने गरी अघि बढ्छौँ,’ खड्काले भने, ‘त्यसपछि क्रियाशील सदस्यता वितरण गरेर १४औँ महाधिवेशनको कार्यतालिका बनाउँछौँ ।’
नेता रामचन्द्र पौडेलले पनि दोस्रो चरणको अभियानअघि नै कम्तीमा एक सय ६५ प्रतिनिधिसभा क्षेत्रीय समितिसम्म संरचना गठन गरेर जानुपर्ने बताए । ‘१४औँ महाधिवेशन गर्ने विषयले मात्र प्रवेश पाएन, कार्यतालिका बनाएर प्रक्रिया प्रारम्भ गर्ने सहमति भएको छ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘अब निर्वाचनबाट वडादेखि क्षेत्रीय समितिसम्म बन्नुपर्छ । त्यसपछि तत्काल कार्यतालिका बनाएर १४औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशन प्रारम्भ गर्नुपर्छ ।’
नेताहरूबीच भएको सहमतिअनुसार महाधिवेशनको कार्यतालिका बनाउँदा सभापति शेरबहादुर देउवाको कार्यकाल स्वतः एक वर्ष थपिएर पाँच वर्ष पुग्नेछ । भदौसम्म पार्टी संरचना बनाएर सदस्यता वितरण गरी अधिवेशन गर्न कम्तीमा डेढ वर्ष लाग्ने भएकाले देउवाको कार्यकाल पाँच वर्ष पु¥याउन सबै पक्ष अनौपचारिक रूपमा सहमत भएका हुन् । विशेष अवस्थामा सभापतिको कार्यकाल एक वर्ष थप गर्न पाउने व्यवस्था विधानले नै गरेको छ । देउवाको नियमित कार्यकाल भने आगामी फागुन मसान्तमा सकिँदै छ ।
यसरी भयो सहमति
पौडेल–सिटौला पक्षले पटक–पटक बैठक बसेर १४औँ महाधिवेशनको कार्यतालिका बनाएरै जानुपर्ने विषय उठाएका थिए । यही निर्णय प्रस्तुत गर्ने भन्दै रामचन्द्र पौडेल संस्थापनसँग छलफलमा जुटेका थिए । पौडेलले भदौसम्म संरचना गठन, कात्तिकसम्म सदस्यता वितरण, फागुनसम्म सदस्यताको टुंगो, अर्को वर्षको वैशाखसम्म वडा, जेठसम्म पालिका, भदौमा प्रदेश क्षेत्र, असोजमा प्रतिनिसिभा क्षेत्र, कात्तिकमा जिल्ला, मंसिरमा प्रदेश समितिको संरचना टुंग्याएर ०७७ पुससम्म महाधिवेशन गर्ने गरी मिति तोक्ने माग गरे । तर, मिति नै तोकेर तालिका जारी गर्न देउवा तयार भएनन् ।
दुवै पक्ष अडानमा रहेपछि नेता कृष्णप्रसाद सिटौलासहित दोस्रो तहका नेताले संक्रमणकालीन व्यवस्था लागू गरेर तल निर्वाचन गर्नुपर्ने प्रस्ताव गरे । यो प्रस्तावमा सभापति देउवा तयार भए महाधिवेशनको मिति नै किटानमा दबाब नदिन पौडेललाई आग्रह गरेका थिए । त्यसपछि देउवा र पौडेल ‘महाधिवेशन सुरु गर्न तयार छौँ’ भन्ने सहमतिमा पुगे ।
पार्टीका नयाँ संरचना गठनमा जित–हारको परिस्थिति हेर्ने, चार वर्षपछि एक वर्ष थप र संविधानले ६ महिना थप्न दिने समयको उपयोग गर्ने हिसाबले देउवाले पौडेलको सुरुको प्रस्ताव नमानेको एक नेता बताउँछन् । संरचना गठनमा आफ्ना पक्षले जिते महाधिवेशनमा उत्साहित भएर लागिहाल्ने र नभए आफूअनुकूल समय मिलाएर प्रक्रियाअनुसार ढिलो गर्ने रणनीति देउवाको भएको ती नेताले बताए ।
नेताहरू सहमत भएपछि १३ विषय छलफलका लागि केन्द्रीय समितिमा प्रस्तुत भएको छ । नियमावली संशोधनको मस्यौदा, संरचना गठन गरी महाधिवेशनको कार्यतालिका बनाउने, विधानअनुसार क्रियाशील सदस्यता वितरण गर्ने, जागरण अभियानको समीक्षा गर्ने, नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रगति विवरण तयार गर्ने, अनुशासन समितिको कार्यप्रगति प्रतिवेदन बनाउने, तत्कालीन लोकतान्त्रिक फोरमसँगको एकताको बाँकी काम टुंग्याउनेलगायत विषय केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको हो । यी विषयमाथि २७ असारमा बस्ने केन्दीय समिति बैठकबाट क्रमशः छलफल गर्दै टुंगोमा पु¥याउने महामन्त्री पूर्णबहादुर खड्काले बताए ।
अब पार्टीमा केही रोकिँदैन
पूर्णबहादुर खड्का, महामन्त्री, कांग्रेस
निर्वाचनबाटै संरचना बनाउने, सदस्यता नवीकरण र वितरण गरी १४औँ महाधिवेशन गर्ने विषय अब अघि बढ्छ । विधानमा तदर्थ समिति बनाउने प्रावधान नै नभएकाले निर्वाचनबाटै हुन्छ । सबै भ्रातृ संस्थाको निर्णय हुन्छ । अब कुनै चिज बाँकी हुँदैन । समय लिएर एकपछि अर्को गर्दै निर्णय लिन्छौँ । अब पार्टी एकोहोरिएर जान्छ । दोस्रो चरणको अभियानमा हामी संरचनासहित अझै बलियो भएर जनताबीच जान्छौँ । संरचना गठनपछि सदस्यता वितरण हुन्छ अनि महाधिवेशनका लागि कार्यतालिका आउँछ ।
महाधिवेशन छिटो सुनिश्चित गर्नुपर्छ
प्रदीप पौडेल ,केन्द्रीय सदस्य, कांग्रेस
संक्रमणकालीन व्यवस्थाले अन्तरिम संरचना बनाउने बाटो खुला गरेको छ । तर, छिटोभन्दा छिटो देशभरिका वडा, पालिका सबैमा एकै दिन नहुने गरी निर्वाचनबाटै संरचना गठन गर्नुपर्छ । त्यस्तो हुँदा महाधिवेशनको तालिका छिटो बनाउन सकिन्छ । त्यसले अधिवेशन सुनिश्चित गर्छ ।
निर्णय कार्यान्वयन गर्न लाग्नुपर्छ ( रामचन्द्र पौडेल)
महाधिवेशनको विषयले कम्तीमा पनि औपचारिक प्रवेश पायो । यो सकारात्मक हो । अब कार्यान्वयन पक्ष कति बलियो हुन्छ भन्नेतिर हेर्नुपर्छ । निर्णयमा पनि लेखिएपछि अब समयमै पूरा गर्न लाग्नुपर्छ । जागरण अभियानको दोस्रो चरणअघिसम्म संरचना बनाएर कार्यतालिका बनाउँदा हामी पनि केही लचिलो हुन्छौँ । उहाँहरू ९संस्थापन०ले पनि हामी साढे पाँच वर्ष नै लगाउँछौँ भन्न पाउनुहुन्न । चार वर्षबाट दुई महिना, तीन महिना कति थप्न सकिने त्यो थपेर १४औँ महाधिवेशन गर्नुपर्छ ।
प्रतिकृया लेख्नुहोस्: