काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ १४ वर्षपछि आउँदो साउन महीनामा आफ्नो खेतबारी हेरचाह गर्ने र केही छिन सकेको काम गर्ने भएका छन् । नगरप्रमुख ब्याञ्जूले आफू मात्रै होइन, नगरका सबै बसिन्दालाई ‘हप्तामा एक दिन, आ–आफ्नो खेतबारीमा केही छिन्’ पुर्याउन नीतिगतरूपमै कार्यक्रम बनाएका हुन् ।
\'एक हप्ता एक दिन, खेतबारीमा केही छिन्’ अभियानमार्फत श्रमको वातावरण तयार गर्न यस्तो कार्यक्रम ल्याएका हौँ, मैले आफ्नो खेतबारीमा नगएको १४ वर्ष भयो, यो अभियानअन्तर्गत म पनि मेरो खेतबारीमा पाइला टेक्नेछु\', नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका ब्याञ्जूले भने ।
पर्यटकीयस्थलका रूपमा देशविदेशमा परिचित धुलिखेल नपाले आउँदो आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रममा ‘एक हप्ता एक दिन, खेतबारीमा केही छिन्’ कार्यक्रम बनाएको छ । नगरप्रमुख ब्याञ्जूले भने, “यस अभियानमा म मात्र होइन, नगर कृषकबाहेक गैरकृषक सबैलाई आफ्नो खेतबारीमा हप्ताको एक दिन, केही समय हेरचाह गर्न र सकेको काम गर्ने वातावरण तयार गर्छु ।” उनले शुरुमा आ–आफ्नो खेतबारीमा जान अभियाननै चलाइने र पछि खेतबारीमा जाने बानी पर्दै जाने भएकाले अभियान सफल हुने विश्वास व्यक्त गरे ।
अभियानले कृषिको ज्ञान, विकास आदानप्रदान तथा नयाँ लगानीको वातावरण बन्न मद्दत पुग्ने अपेक्षा गरिएको ब्याञ्जूले बताए । धुलिखेलमा नयाँ कृषि फार्मले काम गर्न चाहिरहेको बताउँदै “अब बाँझो जमीनमा सिँचाइको व्यवस्था गरी सामूहिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुछ”, भने । उनले जैविक कृषि उत्पादनलाई प्रोत्साहन गर्न व्यावसायिक कृषिमा लाग्न चाहने युवा कृषकलाई रु पाँच लाख निब्र्याजी ऋण दिइने नीतिगत कार्यक्रम बनाइएको पनि जानकारी दिए ।
नगरको रविओपी, देवीटार र पात्लेखेतलाई पोल्ट्री र कृषि, पशुपालनको पकेटका रुपमा विकसित भइरहेको र अन्य क्षेत्रमा यससम्बन्धी उत्पादन प्रसार गर्दै जाने कार्यक्रम बनाइएको छ । नगरमा कागती, लिची र सुन्तलाको सम्भावनाको क्षेत्र पहिचान गरी व्यावसायिक खेतीमा जोड दिइने ब्याञ्जूले बताए । उनले भने, “नगरका ग्रामीण भेगमा जैविक उत्पादनलाई जोड दिँदै बिक्री गर्न कृषि उपज बजार केन्द्र राख्नेछौँ ।” कृषिलाई यान्त्रिकीकरण गर्न ५० प्रतिशत अनुदान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरको १२ वडामा करीब ३५ हजारको बसोबास रहेको छ । नगरप्रमुख ब्याञ्जूले नगरको हरेक वडामा एउटा कृषि विशेषता भएको बनाइने भएकाले सबै वडामा कृषि प्राविधिकको व्यवस्था गरिने बताए । उनले नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा आर्थिक वर्ष २०७६÷७७ का लागि नगरमा ७७ करोड विकास बजेट विनियोजन गरेको जानकारी दिए ।
प्रतिकृया लेख्नुहोस्: