Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको अवधि दुई दशक पुग्न लाग्दा पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । निर्माणमा भएको ढिलाइसँगै आयोजनाको लागत भने सुरुको अनुमानभन्दा ५१ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ ।

आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको यो आयोजना सुरुमा आव २०७४/७५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभित्र काम नसकिएपछि आयोजनाको लागत र समय दुवै पटक–पटक संशोधन हुँदै आएका छन् ।

महालेखा परीक्षकको कार्यालयले गरेको कार्यमूलक लेखापरीक्षणअनुसार सुरुमा ३३ अर्ब ३६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको संशोधित लागत अहिले ८४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अर्थात् आयोजनाको लागत १५२ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१/८२ सम्म आयोजनामा ७१ अर्ब ९ करोड ८७ लाख रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा समेत आयोजना निर्माणका लागि २ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

तर ठूलो रकम खर्च भइसके पनि आयोजनाको भौतिक प्रगति भने ८२ प्रतिशतमा मात्र सीमित छ । सुरुमा १ हजार ७ सय ७६ किलोमिटर लम्बाइ रहने अनुमान गरिएको लोकमार्गको रेखाङ्कन परिवर्तन हुँदै अहिले लम्बाइ १ हजार ८ सय ७९ किलोमिटर पुगेको छ । सडकको लम्बाइ थपिनु पनि लागत बढ्नुको एउटा कारण बनेको महालेखाको निष्कर्ष छ ।

२० वर्ष पुग्न लाग्दा पनि १८ वटा पुल बाँकी

पुष्पलाल मध्यपहाडी लोकमार्ग पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म निर्माण भइरहेको छ । यसले मध्यपहाडका २६ जिल्ला र २ सय १५ बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य राखेको छ ।

आर्थिक वर्ष २०८१/८२ सम्म १ हजार ८ सय ७९ किलोमिटरमध्ये १ हजार ५ सय १० किलोमिटर सडक कालोपत्र भएको छ । अझै २ सय ६२ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ भने १ सय ७ किलोमिटर सडकको ठेक्का व्यवस्थापन हुन बाँकी छ ।

लोकमार्गअन्तर्गत निर्माण गर्नुपर्ने १ सय ३७ पुलमध्ये ९२ वटा मात्र निर्माण सम्पन्न भएका छन् । २७ वटा पुल निर्माणाधीन छन् भने १८ वटा पुलको निर्माण अझै बाँकी छ ।

कतिपय पुलको ठेक्का लागे पनि निर्माण कार्य अघि बढ्न नसक्दा आयोजना रुग्ण बनेका छन् । रामेछापमा दुई पुलको ठेक्का तोडिएको छ भने चौरजहारी–कुदु जोड्ने पुल, सित्खा खोला पुल, पर्वतको याम्दी खोला पुल र गोरखाको सिती खोला पुललगायतमा समेत समस्या देखिएको महालेखाले जनाएको छ ।

सडक निर्माणभन्दा विवादमै अल्झियो आयोजना

महालेखा परीक्षकको प्रतिवेदनले मध्यपहाडी लोकमार्गमा निर्माण ढिलाइ हुनुका पछाडि एउटा मात्र कारण नभएको देखाएको छ । ठेक्का व्यवस्थापन कमजोर हुनु, निर्माण कार्यतालिकाअनुसार काम नहुनु, समयमा स्रोत सुनिश्चित नहुनु, अनुगमन कमजोर हुनु, म्याद थप र लागत परिवर्तनलगायतका कारण आयोजना प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको सबै भागलाई समेट्ने एकमुष्ट विस्तृत आयोजना प्रतिवेदनसमेत तयार नगरिएको पाइएको छ । छुट्टाछुट्टै सडक खण्ड र पुलका लागि अलग–अलग विस्तृत आयोजना प्रतिवेदन बनाएर काम अघि बढाउँदा समग्र आयोजना व्यवस्थापनमा समस्या आएको महालेखाको निष्कर्ष छ ।

अझै तीन सडक खण्ड र पाँच पुलको विस्तृत आयोजना प्रतिवेदन तयार हुन बाँकी रहेको प्रतिवेदनले देखाएको छ ।

सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन पर्याप्त रूपमा तयार नगरी आयोजना स्वीकृत गरेर निर्माणमा जाँदा रेखाङ्कन, वातावरण, स्थानीय आवश्यकता र जग्गासम्बन्धी विवाद पछि उत्पन्न भएको महालेखाले औँल्याएको छ ।

वन र रुख कटानदेखि रेखाङ्कनसम्म विवाद

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा वन क्षेत्र र रुख कटानको समस्या पनि कायमै छ ।

पिपलटार–गंगटे खण्डको २० किलोमिटरमध्ये १० किलोमिटर सडक वन क्षेत्रमा रुख काट्न बाँकी हुँदा रोकिएको छ । कर्पुटार–रुदी खोला खण्डमा पनि तीन किलोमिटर सडकका लागि रुख काट्ने अनुमति प्राप्त भएको छैन ।

रातामाटा–मादी नदी खण्डमा रेखाङ्कन विवाद छ भने कटुन्जे–खहरे खण्डको २९ किलोमिटर सडक बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले निर्माण हुन सकेको छैन ।

भैँसे–जौबारी पुल खण्डमा समेत स्थानीयको अवरोधका कारण १२ किलोमिटर सडक निर्माण अघि बढ्न सकेको छैन ।

जग्गाको मुआब्जाले पनि रोकेको बाटो

सडक निर्माणका क्रममा निजी जग्गाको मुआब्जा र क्षतिपूर्तिसम्बन्धी विवादले समेत आयोजना प्रभावित भएको छ । आयोजनाले अहिलेसम्म १९ करोड ५६ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकेको छ । तर केही खण्डमा अझै मुआब्जा विवाद समाधान भएको छैन ।

लमजुङको सुन्दरबजार खण्ड तथा बागलुङ–उपल्लाचौर सडक निर्माणमा जग्गा विवाद प्रमुख अवरोध बनेको छ । जग्गाको मूल्यांकन र क्षतिपूर्ति भुक्तानीमा विवाद हुँदा अदालतसम्म मुद्दा पुग्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

बागलुङमा सडक अतिक्रमणको समस्या

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सडक अतिक्रमणको समस्या पनि गम्भीर देखिएको छ ।

निसीखोला गाउँपालिकामा सडकको मापदण्ड मिचेर घर तथा संरचना निर्माण भएको पाइएको छ । गलकोट, बडीगाड र काठेखोला क्षेत्रमा पनि सडक अतिक्रमण बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

निसीखोला–६ भलकोटमा मानिस हिँड्दा पनि सवारीसाधनलाई पर्याप्त ठाउँ नपुग्ने गरी जलविद्युत् आयोजनाको पेनस्टक पाइप राखिएको पाइएको छ । उक्त संरचनाले सडक विस्तारमा समेत अवरोध सिर्जना गरेको छ ।

एउटै ठेक्कामा सात पटकसम्म म्याद थप

आयोजना निर्माणमा ढिलाइ हुनुमा ठेक्का व्यवस्थापनको कमजोरी पनि प्रमुख कारण बनेको देखिएको छ ।

महालेखाले ४७ वटा ठेक्काको म्याद थपको विश्लेषण गर्दा ६ वटा ठेक्कामा सुरु सम्झौताको ५० प्रतिशतसम्म र ४१ वटा ठेक्कामा सुरु सम्झौताको ५१ प्रतिशतभन्दा बढी अवधि थप भएको पाएको छ ।

कतिपय ठेक्कामा सात पटकसम्म म्याद थप गरिएको छ । पटक–पटक म्याद थपिए पनि काम समयमा नसकिँदा आयोजनाको लागत बढ्दै गएको महालेखाले जनाएको छ ।

निर्माण सम्पन्न भएका केही सडक खण्डसमेत सम्बन्धित निकायलाई हस्तान्तरण नहुँदै मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । खुर्कोट–घुर्मी, गंगटे–ढिकुरे, बुर्तीबाङ–पातिहाल्ने र हटिया–मनेवापटालगायत सडक खण्डमा यस्तो अवस्था देखिएको छ ।

वर्षमा झन्डै चार अर्ब खर्च

मध्यपहाडी लोकमार्गमा सरकारले वर्षेनी औसत चार अर्ब रुपैयाँ हाराहारी खर्च गर्दै आएको छ ।

आर्थिक वर्ष २०६४/६५ देखि २०८१/८२ सम्म आयोजनाका लागि ८० अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन भएकामा ७१ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ । यस आधारमा आयोजनामा प्रतिवर्ष औसत ३ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको देखिन्छ ।

बजेट खर्चको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक भए पनि खर्चअनुसार भौतिक प्रगति हासिल हुन नसकेको र आयोजना तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा महालेखाले प्रश्न उठाएको छ ।

सरकारले आयोजनाको संशोधित समयसीमा आव २०८४/८५ सम्म तोकेको छ । अब आगामी आर्थिक वर्षभित्र आयोजना सम्पन्न गर्नुपर्ने अवस्था छ ।

अब पनि समयमै सकिएला ?

राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो । तर दुई दशकको अवधिमा पनि आयोजना पूर्ण रूपमा सम्पन्न नहुँदा समय र लागत दुवै बढेको छ ।

महालेखाले अब आयोजना निर्माणमा थप ढिलाइ नगर्न र पूर्वतयारी पूरा गरेर मात्र निर्माणका ठेक्का लगाउन सरकारलाई सुझाव दिएको छ ।

सम्भाव्यता अध्ययन, विस्तृत आयोजना अध्ययन, वातावरणीय अध्ययन तथा निर्माणस्थलको पूर्वतयारी पूरा गरेपछि मात्र बोलपत्र आह्वान गर्नुपर्ने, स्थलगत अध्ययनका आधारमा लागत अनुमान तथा डिजाइन तयार गर्नुपर्ने र संघ, प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी समन्वय गर्नुपर्ने महालेखाको सुझाव छ ।

रेखाङ्कन विवाद समयमै समाधान गर्ने, खरिद प्रक्रिया समयमा पूरा गर्ने र ठेकेदारको कामको प्रभावकारी अनुगमन गर्ने हो भने मात्र आगामी आर्थिक वर्षभित्र आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्य पूरा हुने देखिन्छ ।

दुई दशकमा ७१ अर्बभन्दा बढी खर्च भइसकेको यो आयोजना अब पनि समयमै नसकिए लागत र समय दुवै थप बढ्ने जोखिम छ । मध्यपहाडी लोकमार्गको बाँकी काम पूरा गर्न सरकारका लागि अब चुनौती रकम जुटाउनु मात्र नभई वर्षौँदेखि थाती रहेका वन, जग्गा, रेखाङ्कन, ठेक्का र स्थानीय विवाद समाधान गर्नु पनि हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending