Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

नेकपामा : स्कुल विभागकाे यस्ताे आकर्षण किन ?

काठमाडौं । सत्तारूढ नेकपालाई पार्टी स्कुल विभागको नेतृत्व टुंगो लगाउन सकस परेको छ। विभाग नेतृत्वका आकांक्षी नेताहरू पछि हट्ने अवस्था नदेखिएपछि पार्टी सचिवालय बैठकसमेत प्रभाावित हुन थालेको छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - साउन ५ यता विभागको जिम्मेवारी तोक्न दुईपटक सचिवालय बैठक तोकेरै पनि पार्टी नेतृत्वले स्थगित गरेको छ। साउन ७ र ९ लागि पार्टी सचिवालय बैठकको मिति अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले तोकेका थिए। तर बिहीबार बिहान नेतृत्वले एकाएक बैठक स्थगित गरे। त्यसपछि नेताहरूले पूर्ववत् समूहमा छलफल तीव्र पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेतर्फका सचिवालय सदस्यले छलफल गरेका थिए भने अर्का अध्यक्ष दाहालले पनि विभिन्न नेताहरूसँग भेटघाट गरेका थिए।

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीसँग आफूहरूको छलफल भएको बताए। उनले भने, ‘समसामयिक राजनीति, पार्टी एकता, जिम्मेवारीलगायतका विषयमा छलफल भयो। तर यसरी नै जिम्मेवारी तोक्ने विषयमा गहिरिएर कुराकानी भएन।’

विभाग नेतृत्वका आकांक्षीमध्येका एक उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीसँग एक्लै झन्डै ढेड घण्टा छलफल गरेका थिए। विभाग नेतृत्वबाट आफू पछि नहट्ने भन्दै उनले आफ्नो दाबीलाई पूर्वमाओवादीबाट अनावश्यक विवादमा तन्न खोजेको बताएका थिए। विभाग नेतृत्वका लागि पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठले दाबी गरेका छन्।

उता बिहीबार नै अध्यक्ष दाहालले वरिष्ठ नेता माधव नेपालसँग छुट्टै छलफल गरे। दाहाल निवास खुमलटारमा झन्डै डेट घण्टा छलफल गरेपछि नेता नेपाल बालुवाटार पुगेका थिए।

विभाग नेतृत्वका लागि ओली र दाहालबीच बुधबार साँझ पनि छलफल भएको थियो। तर छलफलमा दुवै पक्ष टसमस नभएपछि बिहीबारको सचिवालय बैठक स्थगित गरेर नेताहरू थप आन्तरिक छलफलमा जुटेका हुन्। आन्तरिक छलफलमा भने श्रेष्ठ र पोखरेलको विकल्पका पनि छलफल भएको छ।

पार्टीका दुवै अध्यक्ष र महासचिवले महत्त्वपूर्ण विभागको नेतृत्व नलिने सैद्धाान्तिक सहमतिपछि विभाग नेतृत्वका विषयमा दुई अध्यक्षले छलफल थालेका थिए। त्यही क्रममा नेकपाका ३२ विभाग र एउटा थप प्रतिष्ठानमध्ये तत्कालीन एमालेले १८ र तत्कालीन माओवादीले १४ विभागको नेतृत्व गर्ने गरी भागबन्डामा सहमति भएको थियो।

संगठन, विदेशलगायत विभाग तत्कालीन एमाले र अर्थ, प्रचारलगायत विभाग तत्कालीन माओवादीले लिने समझदारी भएको नेताहरूकै भनाइ छ। तर स्कुल विभागका विषयमा भने सहमति जुटिनसकेको माओवादी पक्षको दाबी छ। एमाले पक्षका नेताहरूको भने उक्त विभागको नेतृत्व पनि एमाले तर्फका नेताले गर्ने गरी भागबन्डा भएको जिकिर छ।

पोखरेलको समर्थनमा तत्कालीन एमालेभित्रै ओली पक्षका नेताहरू मात्र देखिएका छन्। माधव नेपाल पक्षका नेताहरूले श्रेष्ठका नाममा असहमति जनाएका छैनन्। तत्कालीन माओवादी पक्षले श्रेष्ठको नाम अगाडि सारेको छ।

१४ महिनापछि यसरी मिल्यो नेकपामा भागबन्डा
नेकपामा भागबन्डा

किन बोलायो नेकपाले संसदीय दलको आकस्मिक बैठक
?
श्रेष्ठ र पोखरेलका नाममा सहमति जुट्न नसकिरहेका बेला विभागको नेतृत्वका लागि स्थायी समितिका नेताहरू घनश्याम भुसाल र वेदुराम भुसालले पनि दाबी गरेका छन्। दुवै नेताले पार्टी शीर्ष नेतालाई भेट गरी आफूलाई स्कुल विभागको नेतृत्व दिन आग्रह गरेका हुन्। तर अध्यक्षद्वयले स्थायी समितिका नेतालाई स्कुल विभागको नेतृत्व दिने संकेत देखाएका छैनन्। ‘विवाद नमिले बरु अध्यक्षबाटै नेतृत्व लिने गरी निर्णय हुन सक्छ’, एक स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने, ‘स्थायी समिति र स्कुल विभागको नेतृत्व दिने गरी दुवै अध्यक्षले निर्णय लिनुहुन्छ जस्तो लाग्दैन’

सचिवालयकै अर्का एक सदस्यले श्रेष्ठ र पोखरेलमध्येबाटै सहमति खोज्ने प्रयास गरिने र सफल नभएमात्र विकल्पमा जाने बताए। ‘सकभर श्रेष्ठ र पोखरेलबाटै सहमति प्रयास खोजिन्छ,’ ती नेताले भने, ‘दुई नेताबीच सहमति जुट्दै–जुटेन भने विकल्पका रूपमा पनि अगाडि बढ्न सकिन्छ। त्यस्तो बेला अध्यक्षबाटै नेतृत्व लिने सम्भावना छ।’

विभाग नेतृत्वमा झलनाथ खनालको नाम पनि चर्चामा छ। तर खनाललाई अगाडि सार्दा पोखरेल चिडिने सम्भावना भएपछि नेतृत्वले नै जिम्मेवारी लिने गरी सहमतिको विकल्प खोजी हुन सक्छ।

कसका दाबी कस्ता ?

स्कुल विभागमा प्रवक्ता श्रेष्ठ र सचिवालय सदस्य पोखरेलले सार्वजनिक रूपमै आफ्नो दाबेदारी प्रस्तुत गरेका त छैनन्, तर पार्टी सचिवालयको गत आइतबारको बैठकमा आफूले पाउनुपर्ने जिकिर भने गरेका छन्। अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेर पनि उनले आफ्नो दाबी दोहोर्‍याएका थिए।

प्रवक्ता श्रेष्ठले पार्टीको राजनीतिक प्रतिवेदन लेखनमा आफू सरिक भएको, आफू संसदीय भूमिकामा समेत नरहेको, वरीयतामा माथिल्ला नेताहरूले रोजेको विभागको नेतृत्व लिएकाले आफूले पनि रोजेर विभागको नेतृत्व पाउनुपर्ने माग श्रेष्ठको देखिन्छ। तर पोखरेल पक्षका नेताहरूले पार्टी प्रवक्ता श्रेष्ठको पार्टी जिम्मेवारी भएकाले सचिवालयमा रहेका अन्य नेताले जिम्मेवारी पाउँदा पोखरेलले स्कुल विभागको जिम्मा पाउनुपर्ने बताइरहेका छन्।

नेकपा केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘सबैलाई मिलाएर लैजाने र सही कार्य विभाजन गर्ने हो भने सचिवालयका अन्य सबै कमरेडहरुले महत्त्वपूर्ण जिम्मेवारी पाइरहँदा ईश्वर कमरेडले पनि जिम्मेवारी पाउनुपर्छ। उहाँलाई स्कुल विभागको जिम्मा दिनुपर्छ।’

दुईदुई पटक पार्टी महासचिव भइसकेको, स्पष्ट भिजन भएकाले पनि स्कुल विभागको जिम्मेवारी पोखरेललाई दिनुपर्ने उनी पक्षधरको मत देखिन्छ। स्थायी समिति सदस्य घनश्याम भुसालले विभागको जिम्मेवारी सबभन्दा उपयुक्त आफूलाई हुने दाबी गरेका छन्। उनले विचारका क्षेत्रमा गरेको योगदानको मूल्यांकन हुनेमा आशावादी रहेको बताए।

भुसालले गृहजिल्ला रुपन्देही पुगेर स्कुल विभागमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। उनले पार्टीको सिद्धान्त र विचार बनाउन आफूले बढी मिहिनेत गरेका कारण स्वाभाविक रुपमा स्कुल विभागको जिम्मेवारी आफूले पाउनुपर्ने बताए। ‘विभागले माक्र्सवाद, समाजको अर्थराजनीति पढाउने काम गर्छ, जुन मैले गरेका काममध्ये धेरै लगाव त्यसैमा छ’, उनले भने, ‘तर, मैले जिम्मेवारी नपाउँदा स्कुल विभाग बिग्रन्छ भन्ने मान्यताचाहिँ होइन।’ उनले नवौं महाधिवेशनदेखि नै आफूले स्कुल विभागको दाबी गर्दै आएको बताए। उनले भने, ‘मैले नेताहरुलाई भेटेर पार्टीमा न्याय भए मलाई स्कुल विभागको जिम्मेवारी दिनुहोस् भनेको छु।’

अर्का नेता वेदुराम भुसालले विगतमा आफूले स्कुल विभागको नेतृत्व गरिसकेको र काम पनि गरेर देखाएकाले जिम्मा आफूलाई दिनुपर्ने बताएका छन्। उनले भने, ‘म लामो समय स्कुल विभागमै बसेको छु। अरू कसैको पालामा पनि यस्तो काम भएको छैन। हामीले पाठ्यक्रम बनाएर स्कुलका काम अघि बढाएका छौं।’

वेदुरामले अन्नपूर्णसँग भने, ‘पहिल्यै मोदनाथ प्र िश्रतजी विभाग प्रमुख छँदा हामीले पाठ्यक्रम बनाएको थियौं। त्यसलाई परिमार्जन गरेर फेरि बनायौं। पार्टी शिक्षा भाग १, २ र ३ भन्ने पार्टी स्कुलको पाठ्यक्रमका आधारमा पाठ्यपुस्तकसमेत लेखेर कक्षा चलाउने म मात्र प्रमुख हुँ। त्यसैले मैले दाबा गर्नु स्वाभाविक छ।’

किन आकर्षक छ विभाग ?

स्कुल विभागले पार्टीका नीति, सिद्धान्त, विचारहरू कार्यकर्तामाझ लगेर प्रशिक्षण दिन्छ। तत्कालीन एमालेको स्कुल विभाग प्रमुख भई काम गरेका र अहिले नियमावली मस्यौदासमेत गरेका नेता वेदुरामले भने, ‘स्कुल सञ्चालन गरेर नेताकार्यकर्तालाई प्रशिक्षित गर्ने, चेतनास्तर उठाउने स्कुल विभागको प्रमुख काम हो। यसले आफैं नीति निर्माण गर्दैन। पार्टी कमिटीको सहयोगीका रुपमा मात्र काम गर्ने हो।’

नेकपाको नियमावलीमा विभागका मुख्य ७ ओटा काम तोकिएका छन्। पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप नियमित वा आवधिक स्कुल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटीसमक्ष प्रस्तुत गर्ने, पार्टी सदस्यको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने, स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञ तयार गर्ने काम विभागको हुनेछ।

त्यस्तै, पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने, प्रशिक्षण कार्यक्रमको मूल्यांकन गर्ने, प्रशिक्षार्थीको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने, स्वदेश तथा विदेशका पार्टी स्कुलसँग अनुभव आदानप्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने काम विभागको हुन्छ।

स्थायी समिति सदस्य भुसालले भने, ‘प्रचारमा स्कुल विभाग आफैंले विचारका पक्षमा निर्णय गर्ने हो भने जसरी आइरहेको छ। त्यस्तो होइन। यसले आफैं विचारको नेतृत्व गर्दैन। पार्टीको जुन स्थापित नीति, विचार, कार्यक्रम हुन्छ, त्यसलाई नेताकार्यकर्ताका बीचमा पुर्‍याउने काम मात्र गर्छ,।’

तर कामको बोझिलोपना भने पार्टीका अन्य विभागमा भन्दा यो विभागमा अलिक बढी हुन्छ। वैचारिक राजनीतिक क्षेत्रमा पार्टीका नीति योजना कार्यकर्ताबीचमा पुर्‍याउनुपर्ने भएकाले स्कुल विभागको महत्त्व भने फरक खालको रहेको नेताहरू बताउँछन्।

‘कामको प्रकृतिका हिसाबले अरू विभागको भन्दा अलिक बोझिलो हुन्छ। अलिक धेरै काम हुन्छ। आमकार्यकर्ताका बीचमा जाने, प्रशिक्षत गर्ने, नेताहरूलाई समेत बेलाबखत विभिन्न ढंगले प्रशिक्षित गर्ने, अन्तरक्रिया गर्ने जस्ता काम विभागको हुन्छ’, भुसालले भने।

बाहिरी प्रचारका लागि यो विभाग होइन। यसले पार्टीभित्रकै आन्तरिक संरचनामा रहेका नेताकार्यकर्तालाई मात्र प्रशिक्षित गर्नका लागि विभाग नेकपाले बनाएको हो। भुसालले भने, ‘स्थापित विचारका विषयमा यसले छलफल चलाउन सक्छ। यसले पाठ्यक्रम बनाउन सक्छ। त्यही पाठयक्रमका आधारमा पाठ्यपुस्तक बनाउन सक्छ। लेख्न सक्छ। त्यसैमा आधारित रहेर क्लास लिन सक्छ। यही काम हो स्कुल विभागको।’

विगतको पार्टी अभ्यास

स्कुल विभागको अभ्यास नेकपा शान्तिपूर्ण राजनीतिमा आएपछि मात्रै हुन थालेको हो। तत्कालीन एमाले र माओवादी दुवैमा विभागको अभ्यास त्यसरी भएको देखिन्छ। भूमिगत कालमा पार्टी नेतृत्वले नै पार्टीका नेताकार्यकर्तालाई बेलाबेला जम्मा गरेर प्रशिक्षण दिने गरेका थिए।

नेकपाका संस्थापक महासचिव पुष्पलालको पालामा उनले बनारस, गोरखपुर, दरभंगालगायत बोर्डर क्षेत्रमा नेताकार्यकर्तालाई जम्मा गरेर प्रशिक्षण दिने गरेको दस्ताबेजमा भेटिन्छ। पुष्पलालपछि नेतृत्वमा आएका मनमोहन अधिकारी, तुलसीलाल अमात्यका पालामा त्यति प्रशिक्षण भएको देखिँदैन। ‘त्यसबेला अहिले जस्तो विभाग बनाउने भन्ने थिएन। महामन्त्री आफैंले कार्यकर्ताकहाँ पुगेर प्रशिक्षण दिनुहुन्थ्यो’, नेता भुसालले भने।

पछिल्लो कालमा एमाले धारतिरका माले, मार्क्सवादी हुँदै एमाले र माओवादी धारतिरको मसाल, एकता केन्द्र हुँदै माओवादीमा भने क्रमशः प्रशिक्षण दिने प्रचलन विकास भएका नेताहरू बताउँछन्।

नेतृत्वमा को को रहे ?

तत्कालीन एमालेले माले–मार्क्सवादीबीच एकतापछि पार्टीभित्र स्कुल विभाग गठन गरेको थियो। त्यसपछि नै पार्टीका व्यवस्थित स्कुल सञ्चालन हुन थालेको हो। सुरुमा मदन भण्डारी आफंै स्कुल विभागका प्रमुख थिए।

भण्डारीको निधनपछि मोदनाथ प्रश्रितले लामो समय एमाले स्कुल विभागको प्रमुख भएर काम गरे। त्यसपछि माधव नेपालले पनि केही समय विभागको नेतृत्व लिए। नेपालले ‘महासचिवले भ्याइँदो रहेनछ’ भनेर फेरि प्रश्रितलाई नै स्कुलको जिम्मा दिएका थिए।

वीचमा झन्डै दुई वर्ष युवराज ज्ञवालीले पनि स्कुल विभाग प्रमुख भएर काम गरे। केपी ओलीले पनि जिम्मा लिए केही समय। आठौं महाधिवेशनपछि एक वर्ष जति तत्कालीन अध्यक्ष झलनाथ खनाल आफंैले विभाग प्रमुखको जिम्मा लिए। उनले वेदुरामलाई उपप्रमुख बनाए। त्यसपछि नभ्याएको भन्दै खनालले भुसाललाई पूरै जिम्मा दिएका थिए।

प्रश्रित विभाग प्रमुख हुँदादेखि नै एमालेको स्कुल विभागले पाठ्यक्रम बनाएर पार्टी शिक्षा नामक तीन पुस्तक प्रकाशन गरेको थियो। ‘हामीले त्यही पुस्तकको पाठ्यक्रममा आधारित रहेर देशव्यापी रूपमा पार्टी प्रशिक्षण चलाउँथ्यौं,’ भुसालले भने।

नवौं महाधिवेशनपछि भने पार्टी अध्यक्ष ओलीले नै यो विभागको जिम्मा लिएका थिए। घनश्याम भुसाललगायतले विभागको नेतृत्व मागे पनि ओलीले दिएका थिएनन्। उनले विभागको उपप्रमुखमा शंकर पोखरेललाई राखेर स्कुलको जिम्मा आफैंले राखेका थिए।

यतिसम्म कि एमालेले नवौं महाधिवेशनले पारित गरेको विधानमै पार्टी सदस्यता लिने, पार्टी कमिटीको जिम्मेवारीमा रहन पार्टी स्कुलको शिक्षा कतिसम्म पास गरेको हुनुपर्ने भनी परीक्षा नै लिने व्यवस्थासमेत गरेको थियो। ‘तीनवटा पाठ्यपुस्तकअनुसार फलानो कमिटीमा आउँदा फलानो पाठ्यक्रम पास गनुपर्ने भनेर नवौं महाधिवेशनले पारित गरेको विधानमै लेखिएको थियो,’ भुसालले भने, ‘तर कार्यान्वयनमा ल्याउन सकेनौं।’

तत्कालीन माओवादीमा भने शान्ति प्रक्रियामा आएको धेरै समयपछि मात्र स्कुलको अभ्यास भएको पाइन्छ। सुरुमा आवश्यक पर्दा पार्टीका शीर्ष नेताहरूले पार्टी नेताकार्यकर्तालाई केन्द्रदेखि जिल्लासम्म केन्द्रीकृत गरी प्रशिक्षण दिने काम गर्ने गरेका थिए। तर २०६५ पछि मात्र विभागको अभ्यास भएको देखिन्छ। सुरुमा माओवादी धारमा ‘स्वनाम साथी’ ले विभागको नेतृत्व पाएका थिए।

त्यसपछि नारायणप्रसाद शर्मा, हेमन्तप्रकाश वली हुँदै नारायणकाजी श्रेष्ठले विभागको नेतृत्व पाएका थिए। ०७२ सालदेखि माओवादीमा श्रेष्ठ नै विभाग प्रमुख थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE