काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीमा एक व्यक्ति एक जिम्मेवारीको बहस शुरू भएको र अब पार्टी चलाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्ने राय व्यक्त गरे ।
शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो राय व्यक्त गरेका हुन् । ‘हाम्रो पार्टी अहिले सत्तामा छ,’ उनले भने, ‘वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन् । सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महत्वपूर्ण छ। त्यसैले एक व्यक्ति एक प्रमुख जिम्मेवारी दिनुपर्छ ।’
ज्ञवालीले शनिवार मात्र यो कुरा खुलासा गरेको भएपनि नेकपाभित्र एक व्यक्ति एक जिम्मेवारीको बहस नयाँ भने होइन । गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमै हालका प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमले आफ्नो लिखित दस्तावेजमै एक व्यक्ति एक जिम्मेवारी हुनुपर्ने उल्लेख गरेका थिए ।
पछिल्लो समयमा नेकपाभित्र प्रचण्डको शक्ति बढेको अनुमान गर्न सकिन्छ । प्रधानमन्त्री ओली उपचारका लागि दोस्रोपटक सिंगापुर जानुभन्दा अघि बसेको सचिवालय बैठकले अध्यक्ष प्रचण्डलाई नेकपाको कार्यकारी जिम्मेवारी दिने घोषणा गरेको थियो ।
ओली सिंगापुर प्रस्थान गरेको तेस्रो दिनमा प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्यो । उक्त बैठकले केही नेताहरूलाई केन्द्रीय समितिमा ल्याउने निर्णय गर्यो भने एकताका बाँकी रहेका केही निर्णयहरू गर्यो । सोही बैठकले पार्टीको विधानविपरित मनपरी बोल्ने नेता-कार्यकर्ताहरूलाई अनुशासनको कारवाही गर्ने निर्णय पनि गर्यो । यद्यपि अहिलेसम्म कुनै नेता-कार्यकर्ता कारवाहीमा परेका छैनन् ।
पार्टीभित्र प्रचण्ड प्रतिकूल समीकरण !
पछिल्लो समयमा प्रचण्डनिकट मानिएका वामदेव गौतम अहिले ‘ओली ध्रुव’मा स्थानान्तरण भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘साइज’मा राख्ने रणनीति लिएका अध्यक्ष ओलीले वामदेवलाई विधानमै व्यवस्था नभएको उपाध्यक्ष पदमा सिफारिस गरे । यद्यपि स्थायी कमिटीले निर्णय गरेर केन्द्रीय कमिटीले पास गरेपछि मात्र गौतमको उपाध्यक्ष पद कार्यान्वयनमा आउनेछ ।
पुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा एक व्यक्ति एक पदको व्यवस्था गर्नुपर्ने भन्दै गौतमले राखेको लिखित दस्तावेजलाई अध्यक्ष ओलीले ‘रद्दीको कागज’को संज्ञा दिएका थिए । पार्टी नेतृत्व र सरकारका बारेमा जमेर आलोचना गरेका गौतमलाई ओलीले त्यति ‘भाउ’ दिएका थिएनन् ।
ओलीसँग गौतममात्र होइन वरिष्ठ नेता नेपाल पनि बिच्किएका थिए । पार्टी एकीकरण प्रक्रियामा आफ्नो भूमिकालाई ‘मिनिमाइज’ गरेको भन्दै नेपाल ओलीसँग रुष्ट भएका थिए । ओली सिंगापुर जानुभन्दा अगाडि बसेका बैठकहरूमा नेता नेपाल र ओली व्यक्तिगत तहमै उत्रेर भनाभन गरे ।
जेठको पहिलो साता प्रचण्ड निवास खुमलटारमा प्रचण्डसँग नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल र गौतमले पार्टी कसरी चलाउने भन्ने बारेमा वृहत छलफल गरे । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई कि त प्रधानमन्त्री छाड्न लगाउने अलिखित सहमति भएको स्रोत बताउँछ । खुमलटार गठबन्धन (प्रचण्ड– नेपाल, झलनाथ–वामदेव)प्रति ओली–ईश्वर पोखरेल ध्रुव निकै रुष्ट थियो । रातिराति बैठक बस्ने, पार्टीभित्र ध्रुवीकरण पैदा गर्ने, सरकार, पार्टी नेतृत्वलाई कमजोर बनाउने र आफू हावी हुन खोजेको भन्दै ओली ‘ठेगान लगाउने समय’को खोजीमा थिए । पछिल्लो पटक राष्ट्रपति विद्या भण्डारी सक्रिय भएर उक्त गठबन्धन तोड्न लागिपरेको यथार्थलाई विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ ।
खुमलटार गठबन्धन तोड्नका लागि ओलीले पटक-पटक प्रयास गरे । पछिल्लो समयमा ओलीले प्रचण्डलाई विश्वासमै लिएर गौतमलाई उपाध्यक्ष बनाउने, ईश्वर पोखरेललाई स्कूल विभागको प्रमुख बनाउने र वरिष्ठ नेता नेपालको वरियता एक तह घटाउने निर्णय गराए । बदलामा प्रचण्डलाई पार्टीको जिम्मेवारी दिने र पार्टी एकताताका भएको आलोपालो सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
ओली सिंगापुरमै भएका बेला प्रचण्डले पटक पटक नेता नेपालसँग छलफल गरे । संसदीय समितिका सांसदहरू बोलाएर परामर्श गरे । संसदमा विचाराधीन रहेका विधेयकहरू कसरी पारित गर्न सकिन्छ भन्नेमा चासो देखाए । समग्रमा सचिवालय बैठकले नै दिएको कार्यकारी अधिकार प्रयोग गर्न खोजे ।
प्रचण्डका डे टु डे गतिविधि सिंगापुरमा पुर्याउने जिम्मा दुई नेताले लिए । नाम नबताउने शर्तमा नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘वामदेव र विष्णु कमरेडले प्रचण्डका हरेक गतिविधि सिंगापुर पुर्याउनु भयो । केपी कमरेडले आफ्नो स्वास्थ्यको भन्दा बढी चिन्ता प्रचण्ड कमरेडको गतिविधिमा देखाउन थाल्नुभएको थियो ।’ नेकपामा प्रचण्ड हावी हुन थालेको विश्लेषण भइरहेका बेला ओलीले सिंगापुरमै बसेर प्रचण्डका गतिविधिप्रति अनावश्यक चासो देखाएकोमा उनको आपत्ति थियो ।
ओलीले गौतम र पौडेललाई सिंगापुर किन बोलाए ?
महासचिव विष्णु पौडेल पहिल्यैदेखि ओली निकट मानिन्छन् । ओलीप्रति पूर्ण ‘वफादारिता’ निभाएकै कारण पार्टी तत्कालीन एमालेका उपमहासचिव रहेका पौडेललाई महासचिवमा प्रस्ताव गरे । प्रचण्डले तत्कालै समर्थन जनाइहाले । प्रचण्ड तत्कालीन एमालेका महासचिव पोखरेल, उपाध्यक्षहरू र अन्य नेताका बीचमा अन्तरविरोध पैदा गर्न चाहन्थे ।
ओली गत साउन १८ गते उपचारका लागि पहिलोपटक सिंगापुर गएका बेला गौतमले संचारमध्यमहरूमा लामो लेख लेख्दै जनताको बहुदलीय जनवादलाई बिर्सन नसकिने विचार व्यक्त गरे । ठीक त्यहीबेला राजनीतिक वृत्तमा खुमलटार गठबन्धन टुट्न थालेको चर्चा चल्यो ।
उपचार सकेर शुक्रवार नेपाल आएका ओलीले मंगलवार पौडेल र गौतमलाई सिंगापुर नै बोलाए । पौडेल मंगलवार नै सिंगापुर पुगे भने गौतम भने अर्को दिनमात्र सिंगापुर गए । ओलीको उद्देश्य पार्टीभित्र प्रचण्डले गरिरहेका गतिविधिका बारेमा ब्रिफिङ लिनुमात्र थिएन । उनले प्रचण्डलाई रोक्ने अर्को उद्देश्य पनि राखेका थिए ।
स्रोतका अनुसार ओली आउनुभन्दा एक दिनअघि बिहीवार प्रचण्डले सचिवालय बैठक बोलाउने तयारी गरेका थिए । ‘प्रचण्डको अध्यक्षतामा बस्ने सचिवालय बैठकले केही महत्त्वपूर्ण निर्णय गर्दै थियो,’ स्रोतले खबरडबलीलाई भन्यो, ‘त्यही बैठक रोक्न ओलीले दुई नेताहरूलाई सिंगापुर बोलाए । ९ सदस्यीय सचिवालयमा ओली पहिल्यैदेखि सिंगापुर थिए भने थप दुईजना अनुपस्थित भएपछि प्रचण्डलाई बैठक बोलाउन नैतिक संकट पर्यो । फलतः बैठक बसेन र प्रचण्डले आफ्नो अध्यक्षतामा केही महत्त्वपूर्ण निर्णय गर्न पाएनन् । यसरी ओलीको रणनीति सफल भयो ।’
नयाँ समीकरण यस्तो छ
नेता नेपालको बरियता एक तह घटुवा गर्ने ओलीको प्रस्तावमा प्रचण्डले समर्थन जनाएको भएपनि पार्टीभित्र नेपाल-प्रचण्ड सम्बन्धमा तिक्तता आएको छैन । खुमलटारमा नेपाललाई बोलाएर प्रचण्डले सँगै अघि जाने ढाडस दिएका थिए र नेता नेपालले पनि प्रचण्डलाई विश्वास गरिरहेका छन् ।
संगठन विभाग प्रमुख गौतमलाई भने ओलीले आफ्नो विश्वासपात्रका रूपमा लिएका देखिन्छन् । ‘नत्र गौतमको अनिच्छा हुँदा हुँदै सिंगापुर बोलाउनु जरुरी थिएन,’ स्रोतले भन्यो । नेकपामा अहिले ‘सिंगापुर गठबन्धन’का रूपमा ओली-गौतम-पौडेल-पोख्रेल समीकरण बनेको छ भने खुमलटार गठबन्धनमा प्रचण्डलाई साथ दिएका नेता नेपाल प्रचण्डका विश्वासपात्रका रूपमा उभिएका छन् ।
संगठन प्रमुख भएतापनि गौतमको पकड नेकपामा त्यति धेरै देखिएको छैन भने तत्कालीन एमालेमा लामो समय महासचिव चलाएका पोखरेल पनि कमजोर देखिन्छन् । बरू शक्तिका हिसाबले नेता नेपाल नै अगाडि छन् । यसअघि एकीकरण भएका जिल्ला र प्रदेशको नेतृत्वमा तुलनात्मक रूपमा प्रचण्ड शक्तिशाली बनेका छन् भने नेपाल र ओली बराबरीको हैसियतमा छन् ।
नेकपामा सहमति नभएको अवस्थामा ओली, प्रचण्ड र नेपालमध्ये दुई नेता जता ढल्किन्छन निर्णय त्यतै हुने स्थिति बनेको छ । यसहिसाबले प्रचण्डले नेता नेपाललाई आफ्नो साथ लिएर पार्टीका निर्णयहरूमा प्रभाव पार्ने रणनीति लिएको जस्तो देखिएको छ । यद्यपि ओलीले प्रचण्डसँग गरेका लिखित र अलिखित प्रतिबद्धताहरू पूरा गर्न कतिको इमान्दारीता देखाउलान्, त्यो भविष्यकै जिम्मामा छाडौं ।
प्रतिकृया लेख्नुहोस्: