काठमाडाैं । लोकेन्द्र विष्ट माओवादी शसस्त्र युद्धका एक नेतृत्वकर्ता हुन् । उनि शान्तिप्रक्रियामा आईसकेपछि पनि तत्कालिन माओवादीबाट पटक–पटक मन्त्री बनेका थिए । माओवादी शसस्त्र युद्धको बेला नेतृत्वकर्ताको भूमिका खेलेका अनि पटक–पटक मन्त्री बनेका विष्ट आजभोली राजनीतिबाट निकै टाढा छन् ।
०६९ सालमा माओवादीमा विभाजन आएपछि पार्टी राजनीतिबाट निष्कृय बनेका बिष्ट माओवादी खेमाबीचको एकीकरणसँगै पुनः सकृय राजनीतिमा फर्केका थिए । ०७५ सालमा तत्कालिन एमाओवादी र एमालेबीच पार्टी एकता भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी एकता प्रकृयाबाट अलग्गिए ।
राजनीतिमा सोझा र इमान्दार नेताको छबि बनाएका बिष्ट सक्रिय राजनीतिबाट टाढा भएसँगै गुमनाम जस्तै छन् । राजनीतिको माथिल्लो तहसम्म पुगेका तर गुमनाम बनेका विष्टसँग खबर डबलीका गणेश पाण्डेले भलाकुसारी गरेका छन् । राजनीतिबाट टाढिनुको कारण र पछिल्लो उनको कर्मबारे पाण्डेले गरेको भलाकुसारीको सम्पादित छोटो अंश :
तपाई लामो समय सकृय राजनीतिमा लाग्नु भयो । आजभोलि राजनीतिको कुनै फोरममा पनि देखिनुभएको छैन, के गर्दै हुनुहुन्छ ?
हो, म राजनीतिक फोरममा छैन् । मैंले सक्रिय राजनीति छोडेको ६/७ बर्ष जति भयो । म अहिले कुनै राजनीतिक दलमा छैन । म आफ्नै पेशा व्यवसायमा व्यस्त छु । म अहिले खेतिपातीतिर लागेको छु ।
खेतिपाति तिर भन्नाले, के–को खेतिपाति गर्दै हुनुहुन्छ ?
नेपालमा भर्खर शुरु भएको ड्रागन फ्रुट भन्ने सिउँडि प्रजातिको फलफूल खेति गरिरहेको छु । यसलाई मैले भियतनामबाट झिकाएर नेपालमै व्यवसायीकरुपले शुरु गरेको हो ।
कुन ठाउँमा गर्दै हुनुहुन्छ ?
दाङको तुलषीपुर उपमहानगरपालिकामा रहेको छ ।
व्यवसायीरुपले उत्पादन शुरु भयो होला कतिको फाइदा हुन्छ ?
व्यवसायीक रुपले भर्खर शुरु हुन लागेको छ । दुईचार महिनापछि यसले उत्पादन दिन्छ ।
खेतिपाति बाहेक अरु केहि गर्नु हुन्छ कि गर्नुहुन्न ?
खेतिपाति बाहेक मेरो अरु कुनै व्यवसाय छैन् ।
तपाई यस खेतिमा किन आकर्षित हुनुभयो ? यसको फाइदा के छ ? नेपालका यसको बजार कत्तिको छ ?
एक त यो नेपालको लागि नयाँ र नौलो खेति हो । यो एउटा रसिलो, पोशिलो र स्वादिलो आषधीजन्य फलफूल भएकोले विभिन्न रोकका विरामीलाई इलाज हुन्छ । यसको बजार पनि राम्रो छ । यो प्रजाति भर्खर नेपालमा शुरु भएकोले आन्तरिक बजार खपतमा पुग्दै पुग्दैन ।
कृषि कर्ममा राम्रो जम्नुभएको रहेछ । त्यसो भए अब राजनीतिमा प्रवेश गर्नुहुन्छ कि हुन्न त ?
राजनीतिमा आउने सम्भावना अति न्यून छ । यसको मतलब म अब राजनीतिमा फर्किन्न । राजनीतिमा आउने खालको वातावरण भएको भए मैले राजनीति छोड्नेनै थिइन ।
मुलधारको राजनीतिबाट पलायन भएपनि आफ्नै नेतृत्वमा नयाँ शिराबाट पार्टी खोलेर राजनीति गर्छु भन्ने साेंच होला नि त ?
हैन् पार्टी त खोल्ने हो । अब किसान पार्टी खोल्ने हो । हलो, कोदालो, ट्रयाक्टर पार्टी खोल्ने । हा….हा….हा…अब सबैले पार्टी बन्द गरेर हालो, कोदालो, ट्रयाक्टर पार्टी खोल्नुपर्छ । यी पार्टीको काम छैन ।
१० बर्षसम्म युद्ध लड्नुभयो । दुई–दुई पटक मन्त्रि पनि हुनुभयो । राजनीतिको माथिल्लो तहमा पुगेको तपाईंलाई राजनीतिप्रति किन यत्रो बितृष्णा ?
वितृष्णा होइन ! राष्ट्रपतिदेखि जनतासम्म सबैले उहि किसानले उत्पादन गरेको खाने हो, किन ठुला फुर्ति लागाउने ? राजनीति स्थायी पेशा, ठेक्का पट्टा होइन । आजीवन राजनीति गर्ने भनको नराम्रा चिजलाई पैदा गर्ने हो । भ्रष्टाचार निम्त्याउने, तस्करी गर्ने, कमिसनखोरी गर्ने हो । यो चिज भनेको राष्ट्र र जनताका दुस्मन हुन् । यो नहुनको लागि राजनीति आवधिक गर्ने त्यसपछि आफ्नो पेशा व्यवसाय गर्ने संस्कार हुनुपर्छ ।
राजकीय लाभ लिन अरु रातारात दौढधुप गर्छन् । विभिन्न शक्तिकेन्द्र धाउँछन् । तपाई चाहिँ पाइराखेको सुविधा पनि सबै छोडेर खेतितिर लाग्नुभयो । तपाईंको शैलीलाई निकै अनौठो मान्छन् नि मानिसहरु !
मलाई यसमै गर्व लाग्छ । राजनीति गरेपनि उसले आफ्नो धर्ती छोड्नु हुन्न । धर्ती छोड्यो भने उत्तानो लाग्छ । महराजीलाई देख्नुभएको छैन् । उहाँले धर्ती छोड्नु भयो । तपाईले हिसाब किताब राख्नुहोस् अब धेरै जना उत्तानो लाग्दैछन् । धर्ती छाड्नेहरु उत्तानो पर्न लाईनमै छन् । त्यसैले जति ठुला भएपनि आफु जन्मेको, हुर्केको धर्ती छोड्नु हुुँदैन । अरु म जान्दिन, धरातल नछोड्नुहोस ।
त्यसो भए तपाईँसँगैका अरु सहयोद्धहरुको भविष्य कस्तो देख्नु हुन्छ ?
उनीहरुको कमाउने धमाउने कुरा राम्रै होला । तर, उनीहरुको जुन बाटो लिएका छन् त्यसले राष्ट्र र जनतालाई फाइदा गर्दैन । क्षणिकको लागि नेताहरुलाई त फाइदा होला । मोज मस्ति गर्लान् । सुखसयल काट्लान् । उनका आसेपासेहरुलाई पनि फाइदै हुने कुरा भयो । त्यसकारणले व्यक्तिगत हिसाबले फाइदा भएपनि अन्तत्वतगत्वा कसैलाई फाइदा गर्दैन ।
अहिलेको राष्ट्रिय राजनीतिलाई कसरी हेर्नुभएको छ ? के छ सरकार प्रति तपाईंको धारणा ?
नेपालको राजनीति अर्को विकल्प नभएसम्म केहि समयको लागि अहिलेकै अवस्थामा बढ्ने देखिन्छ । अहिले कम्युनिष्ट पार्टीको नेतृत्वमा अहिले दुई तिहाइको सरकार छ । यसले जनताको पक्षमा कति काम गर्यो ? राष्ट्रको पक्षमा कति काम गर्यो ? कति भ्रष्टचार घटायो ? कति बेरोजगारी घटायो ? कति रोगव्यादी घटायो ? कतिलाई सम्पन्न बनायो ? कति गरिबी घटायो ? भन्ने कुरा इतिहासले मुल्या«कन गर्ला । म जस्तो सामान्य नागरिकको हिसाबले दुई तिहाइको सरकारले जसरी काम गर्नु पथ्र्यो त्यो हुन सकेन भन्ने लाग्छ । गफ चाहि धेरै भयो तर काम चाहिँ थोरै भयो भन्ने लागेको छ । गफमा त हामीलाई कसले जित्न सक्छ र ? काममा पछि छौं गफमा धेरै अघि छौं ।
धमिलिएको नेपालको राजनीति सुद्धिकरण गरी देशमा आमुल परिवर्तन गर्न के गर्नु पर्ला जस्तो लाग्छ ?
राजनीति शुद्धिकरण गरी अगाडि बढ्न अहिलेको परिपाटि सबै मेट्नु पर्छ । राजनीतिक पद्धति जुन छ त्यसलाई परिवर्तन गर्नुपर्छ । राजनीतिक पद्धति नै हाम्रो गलत छ । पद्धति नबदलेसम्म व्यक्तिले केहि पनि फरक पार्दैन । तपाई गएपनि त्यहि हो अरु गएपनि त्यहि हो । सबै कुरा सिस्टमले निर्धारण गर्ने हो नि । नीतिले निर्धारण गर्ने हो । हामीकहाँ एउटा राष्ट्रिय निर्देशक नीति नै छैन । अर्को कुरा हाम्रो मुख्य सिस्टम नै गलत छ । सिस्टम गलत भएपछि हाम्रो संस्कार नै गलत हुन्छ । शैली नै गलत हुन्छ । सोंच्ने शैली, काम गर्ने शैली सबै गलत हुन्छ । यसरी कसरी देश राम्रो हुन्छ ? देश त बर्बाद भइहाल्छ नि ।
लामो समयदेखिको अनुभव भएको हिसावले राजनीतिक शुद्धिकरण गरी देशलाई समृद्धिको दिशामा अगाडि बढाउन नेताहरुलाई तपाईँको के सूझाव छ ?
राजनीतिक शुद्धिकरण गरी देश निर्माण प्रकृयालाई अगाडि बढाउन पहिला त अहिलेको राजनीतिक व्यवस्था डिर्जब गर्नुपर्छ । यो व्यवस्था पुरै हटाउनु पर्छ । दोस्रो, राष्ट्रपति शासन लागु गर्नुपर्छ । नेपालको लागि राष्ट्रपति शासन अपरिहार्य छ । तेस्रो, अहिलेका सबै नेताले राजिनामा दिनुपर्छ । उहाँहरु अगाडि बढेर हुँदैन ।
राजनीति गर्नेले एउटा निश्चित अवधिसम्म काम गर्नुपर्छ । राजनीतिलाई स्थायी पेशा र आजीवनको व्यवसाय बनाउनु हुँदैन । चौंथो कुरा, राजनीतिक–आर्थिक–सांस्कृतिक पारदर्शिता चाहियो । यहाँ पारदर्शिता छैन् । राजनीति, आर्थिक र सांस्कृतिक कुनैमा पनि पारदर्शिता छैन् । यति हुन सक्यो भने राजनीति सुद्धिकरण हुँदै जान्छ नत्र भने झन् देश अप्ठ्यारोमा भाँसिन्छ ।
प्रतिकृया लेख्नुहोस्: