काठमाडौं । सर्वोच्च अदालतले सैन्यसेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
यौनसम्पर्क, यौनशोषण र जबर्जस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायतका सुविधा खोसिने भएको छ।
दुई सैनिकबीच भएको यौन प्रकरणमा जंगी अड्डाले कारबाही गरेपछि सर्वोच्च पुगेको एक विवादमा यस्तो फैसला आएको हो। फैसलाले यौन प्रकरणमा मुछिएका सैनिकविरुद्धको कारबाहीमा सेनाको इन्वायरी बोर्ड, सैनिक विशेष अदालत र समरी जनरल सैनिक अदालतको अधिकार क्षेत्रलाई थप बलियो पार्ने देखिएको छ।
चण्डीदल गणका सहसेनानी भूपेन्द्र खड्का र एक महिला सैनिक कर्मचारीबीच अनुचित यौन सम्बन्धका कारण पदमुक्तिको कारबाहीपछि विवाद सर्वोच्च पुगेको थियो।
उनीहरूलाई जंगी अड्डाबाट बर्खास्तीको कारबाहीपछि सैनिक अधिकृत खड्काले सहमतिमा यौनसम्पर्क भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए।
यौन प्रकरणमा मुछिने सैनिक महिला वीरेन्द्र सैनिक अस्पतालमा तल्लो तहमा कार्यरत हुन्। मुलुकी ऐन, दण्ड सजायको १ नं. ले सहमतिमा भएको यौनसम्पर्कका विषयमा सजायको भागीदार नहुने व्यवस्था गरेको भनाइ खड्काको थियो। आफूलाई सुनवाइको मौका नदिई सजाय तोकिएकाले पद बहालीसहित भत्ता, सुविधा, पेन्सनलगायका सुविधा दिलाउन सर्वोच्चसँग माग थियो।
त्यस्तै सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारीरिक सम्बन्ध’ लाई पेसागत मर्यादाविरुद्ध भन्दै नेपाली सेनाका एक क्याप्टेन र सैनिकलाई दोषी ठहर गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ । चेन अफ कमान्डमा रहने कर्मचारीबीचको सम्बन्धलाई सहमतिका आधारमा हो भनेर मात्रै उन्मुक्ति दिन नमिल्ने भन्दै सर्वोच्चले चण्डीदल गणका क्याप्टेन भूपेन्द्र खड्का र उनकै मातहत कुचीकार पदमा कार्यरत सैनिक विशेष अदालतबाट तोकिएको सजाय सदर गरेको हो । आफूमातहत कार्यरत युवतीसँग बारम्बार शारीरिक सम्पर्क राखेको, विवाहितसमेत रहेकी ती युवती त्यही क्रममा गर्भवती भएको र उनलाई गर्भपतनका लागि भारत लैजान सघाएको आरोपमा खड्का पक्राउ परेका थिए । उनलाई समरी सैनिक जनरल अदालतले ०६९ पुस ५ मा २० दिन कैद सजाय तोक्ने र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला गरेको थियो । सैनिक अदालतले ती पीडित कुचीकारलाई पनि जागिरबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । सैनिक विशेष अदालतले सोही फैसलालाई सदर गरेपछि खड्काले आफूमाथि अन्याय भएको दाबीसहित सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
सैनिक ऐन २०६३ को दफा ५२ (छ) को कसुरअन्तर्गत पर्ने देखिएकोले दफा १०१ (१) (ग)बमोजिम २० दिन कैद र १०१ (१) (घ) बमोजिम भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी भएको समरी जनरल सैनिक अदालतको फैसला सदर गरी सैनिक विशेष अदालतबाट २०७० पुस ४ मा भएको फैसला उत्पेषणको आदेशले बदर हुनसक्ने देखिएन’, सर्वोच्चले भनेको छ ।
‘उत्प्रेषणको आदेश जारी हुन नसक्ने हुँदा सहसेनानी पदमा बहाल गरी मुद्दा अवधिदेखिकै तलब भत्तालगायतका सुविधा दिनू भनी परमादेशसमेत जारी हुन सक्ने देखिएन। प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ’, सर्वोच्चको ठहर छ। खड्काले साबिककै सहसेनानी पदमा बहाल रही मुद्दा अवधिदेखिकै तलब भत्तालगायतका सुविधा माग गर्दै रिट दर्ता गरेका थिए। ‘म अविवाहित युवकले ड्युटीभन्दा बाहिरको बखतमा गैरसार्वजनिक स्थानमा कुनै पनि प्रचलित कानुनविपरीत नहुने गरी सहमतिले करणी गर्नु कुन अपराध हो’, उनले रिटमा सोधेका थिए। सर्वोच्चले गत वैशाख १५ मा गरेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक गरेको हो।
प्रतिकृया लेख्नुहोस्: