एकातिर थिए काठमाडौं महानगरका मेयर बालेन्द्र शाह–स्थापित राजनीतिक संरचनामाथि आक्रामक प्रश्न उठाउने, असन्तुष्टिको आवाज बोल्ने र परिवर्तनको बेचैनी व्यक्त गर्ने शैलीमा। अर्कोतिर थिए रास्वपा सभापति रवि लामिछाने–संवाद, सहकार्य र संस्थागत राजनीतिको आवश्यकता औँल्याउने सन्तुलित अभिव्यक्तिसहित।
महाधिवेशन उद्घाटनको दृश्य आफैँमा रोचक रह्यो। रवि र बालेन एकैसाथ कार्यक्रमस्थल प्रवेश गरे। उद्घोषकको आग्रहमा उनीहरूले घण्टी बजाएर महाधिवेशन उद्घाटन गरे। त्यसपछि अतिथि नेताहरूलाई समेत घण्टी बजाउन लगाइयो। बालेन आफैँले गगन थापा, सिके राउतलगायत नेताहरूलाई घण्टी हस्तान्तरण गरिरहेको दृश्यले कार्यक्रमलाई थप आकर्षक बनायो।
मञ्चमा दुर्लभ रूपमा खुले बालेन
सार्वजनिक कार्यक्रममा प्रायः छोटो बोल्ने वा बोल्नै नचाहने बालेन शाह यसपटक फरक देखिए। करिब १० मिनेट लामो भाषणमा उनले आफूविरुद्ध उठाइएका आलोचनादेखि पुराना राजनीतिक दलहरूसम्मलाई जवाफ दिने प्रयास गरे।
उनको भाषणको केन्द्रमा पुरानो राजनीतिक संस्कृति, विगतका सरकारको कार्यशैली र परिवर्तनको आवश्यकता थियो। उनले स्थापित दलहरूमाथि कटाक्ष गरे, राज्य संयन्त्रको कार्यसम्पादनमाथि प्रश्न उठाए र आफू नेतृत्वमा रहेको महानगरको बचाउ गरे।
अख्तियारको छानबिनबारे टिप्पणी गर्दै ‘पाँच घण्टा होइन, पाँच वर्ष पनि राख्न सक्छन्’ भन्ने अभिव्यक्तिले आत्मविश्वाससँगै अनावश्यक आक्रामकता पनि झल्काएको महसुस हुन्थ्यो। सीमा विवाद, सुकुम्बासी समस्या र राज्यका संस्थाहरूबारेका उनका भनाइहरूमा पनि प्रतिरोधको स्वर बढी सुनिन्थ्यो।
कार्यकर्ताको पङ्क्तिबाट पटक–पटक ताली बजिरहँदा मञ्चको अगाडिको पङ्क्ति भने संयमित देखिन्थ्यो। अतिथि नेताहरू मुस्कुराइरहेका थिए, तर उनीहरूको अभिव्यक्तिमा उत्साहभन्दा अवलोकन बढी देखिन्थ्यो।
रविको सन्देश : प्रतिस्पर्धा हो, शत्रुता होइन
बालेनको भाषणले केही तातिएको माहोललाई रवि लामिछानेले फरक दिशातर्फ मोड्ने प्रयास गरे।
उनले सुरुमै उपस्थित सबै दलका नेताहरूलाई धन्यवाद दिए र लोकतन्त्रमा राजनीतिक प्रतिस्पर्धा र राजनीतिक शत्रुता फरक विषय भएको उल्लेख गरे। संवाद, असहमति र सहकार्य लोकतन्त्रका आधारभूत मूल्य भएको उनको भनाइ थियो।
रविको भाषणमा आक्रोशभन्दा जिम्मेवारीको भाव बढी देखिन्थ्यो। उनले रास्वपाको यात्रा, संघर्ष र चुनौतीहरू स्मरण गरे। तर आफूलाई पीडित देखाउने वा आत्मप्रशंसा गर्ने शैलीमा होइन, संस्थागत विकासको आवश्यकता जोड्दै।
उनले प्रतिपक्षी दलहरूलाई समेत खुला रूपमा खबरदारी गर्न आग्रह गरे। लोकतन्त्र बलियो बनाउन सत्तापक्षसँगै प्रतिपक्ष पनि बलियो हुनुपर्ने उनको धारणा थियो।
त्यति मात्र होइन, उनले आफ्नै पार्टीभित्रका कमजोरी र सम्भावित चुनौतीलाई पनि स्वीकार गरे। गुटबन्दी, व्यक्तिगत महत्वाकांक्षा र त्यागप्रतिको दोहोरो मापदण्डबाट सचेत रहन कार्यकर्तालाई आग्रह गरे।
रास्वपाभित्र देखिएका दुई प्रवृत्ति
चितवनको उद्घाटन सत्रलाई केवल दुई नेताको भाषणको तुलना गरेर बुझ्न सकिँदैन। त्यो रास्वपाभित्र विकसित भइरहेका दुई राजनीतिक प्रवृत्तिको संकेत पनि थियो।
बालेनको राजनीतिक शैली विद्रोह, असन्तुष्टि र पुरानो संरचनाविरुद्धको प्रतिरोधबाट प्रेरित देखिन्छ। उनी जनतामा रहेको वितृष्णालाई भाषामा उतार्ने प्रयास गर्छन्।
रवि भने आन्दोलनको ऊर्जा जोगाउँदै त्यसलाई संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्न चाहने नेताका रूपमा प्रस्तुत भए। उनको जोड संगठन, सहकार्य र दीर्घकालीन राजनीतिक विश्वसनीयतामा देखिन्थ्यो।
महाधिवेशनले दिएको सन्देश
रास्वपाको पहिलो महाधिवेशनले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ–के पार्टी केवल विरोधको शक्ति बनेर अगाडि बढ्छ, वा शासन सञ्चालन गर्न सक्ने संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुन्छ?
नेपालको राजनीतिक इतिहासमा धेरै आन्दोलनकारी शक्तिहरू उदाए, जनआक्रोश बोकेर सत्तासम्म पनि पुगे। तर संस्थागत रूप लिन नसक्दा धेरैको प्रभाव क्षणिक बन्यो।
चितवनको मञ्चले रास्वपाको अगाडि पनि त्यही चुनौती उभिएको संकेत गरेको छ। बालेनको शैलीले भीड आकर्षित गर्न सक्छ, असन्तुष्टिको प्रतिनिधित्व गर्न सक्छ। तर दीर्घकालीन राजनीतिक सफलता प्राप्त गर्न संस्था, नीति, सहकार्य र नेतृत्वको परिपक्वता पनि आवश्यक हुन्छ।
महाधिवेशनको उद्घाटन सत्रमा देखिएको दृश्यले एउटा सन्देश स्पष्ट पारेको छ–परिवर्तनको ऊर्जा र संस्थागत राजनीतिको जिम्मेवारीबीच सन्तुलन कायम गर्न सके मात्र रास्वपाको आगामी यात्रा सफल हुन सक्छ। चितवनमा गुञ्जिएका दुई फरक आवाजले यही राजनीतिक बहसलाई थप स्पष्ट बनाइदिएका छन्।
प्रतिकृया लेख्नुहोस्: