आजदेखि विधिवत रुपमा ‘भिजिट नेपाल २०२०’ अर्थात् नेपाल भ्रमण वर्ष २०२० को सुरुवात भएको छ । २० लाख बाह्य पर्यटक भित्र्याउने गरि महत्वकांक्षी लक्ष्यसहित सुरु भएको यो भ्रमण वर्ष नेपालको लागि तेस्रो पर्यटक भित्र्याउने महाअभियान हो ।
विश्वमा भ्रमण बर्षको अभियान निकै पहिलेदेखि शुरु भए पनि नेपालमा सन् १९९८ मा पहिलो पटक नेपाल भ्रमण बर्षको आयोजना गरिएको थियो । तत्कालिन सरकारले निकै महत्वका साथ सो भ्रमण बर्षको योजनालाई लिएको थियो । सो वर्ष ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा केहि कम ४ लाख ६३ हजार ६ सय ८४ पर्यटक नेपाल भित्रिएका थिए ।
पर्यटन अभियान चल्दै गर्दा सन् १९९९ मा पर्यटकको आगमनमा सामान्य बढोत्तरी भएको थियो । उक्त वर्ष ४ लाख ९१ हजार ५ सय ४ पर्यटक नेपाल भित्रिएका थिए ।
पहिलो भ्रमण वर्षपश्चात मुलुकमा देखिएको राजनीतिक अस्थिरता र आन्तरिक द्धन्द्धका कारण पर्यटन उद्योग विस्तारै ओरालो लाग्दै गयो । नेपालको पहिलो भ्रमण बर्षको लक्ष्य करिब ९ बर्ष पछि सन् २००७ मा मात्र पुरा भएको थियो । सन् २०११ मा दोस्रो नेपाल भ्रमण बर्षको सरकारले घोषणा गर्याे तर उल्लेख्य रुपमा सफल हुन सकेन् । पहिलो भ्रमण बर्षको रौनकलाई कायम राख्न खोजिएको भए पनि यो भ्रमण बर्ष असफल प्रायः बन्याे ।
पर्यटकको संख्यालाई गणना गर्ने सरकारी नीति
पर्यटन क्षेत्रको योगदानको मुल्यांकन पर्यटकहरुको बसाईको लम्बाई र गर्ने खर्चबाट हुन्छ । नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकिय स्थल मध्येको एक गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकको औसत बसाई जम्मा ३० मिनेट मात्र भएको भिजिटर्स सर्भे एण्ड अभ्र्जभेसन २०१३ को अध्ययनले देखाएको छ । सरकारले पर्यटकको संख्यामा बढोत्तरी चाहिरहँदा यो विषयले भने केहि गम्भिरता तर्फ संकेत गरेकाे छ । यसरी हेर्दा सरकारकाे पर्यटन भित्र्याउने कार्यक्रम ‘मास बेस टुरिजम’मा नै आधारित रहेको देखिन्छ ।
पर्यटकको बसाईलाई तथ्यांकिय रुपमा हेर्दा सन् २०१२ देखि लगातार घट्दो अवस्थामा छ । सन् २०१८ मा आउँदा नेपाल भ्रमणमा आउने पर्यटकको प्रतिदिन खर्च ४४ डलर र बसाई अवधि १२ दशमलव ६ दिन मात्रै रहेको छ। सन् २०१८ को तुलनामा सन् २०१९ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि भएको अवस्था छ । खर्चका आधारमा पनि सन् २०१५ मा प्रति पर्यटक, प्रति दिन गर्ने औसत खर्च ६८.५ अमेरिकी डलर थियो ।
यसरी हेर्दा पर्यटकको संख्यामा सामान्य बृद्धि भए पनि औसत बसाई र खर्च दुबै घट्नुले नेपालमा आउने पर्यटकको गुणस्तरलाई झल्काउँछ । पर्यटक आउनुले मात्र मुलुकको कुल ग्राहथ्य उत्पादनमा महत्वपूर्ण हिस्सेदारी देखिने सम्भावना छैन् । यहि गतिमा हो भने पर्यटनबाट समृद्धि हुने कुरा सपनामा मात्र सम्भव देखिन्छ ।
प्रचार–प्रसारमा वेवास्ता गर्ने नीति
नेपालका ठुला पत्रिकाहरुको मुखपृष्ठमा नै थाइल्याण्ड, मलेसिया, सिङ्गापुर र युरोपलगायतका टुरिजम प्याकेजहरुको विज्ञापन दैनिक आइरहेका हुन्छन् । अल्पविकसित अनि गरिब मुलुकको रुपमा चिनिएको नेपाली बजारमा त यस्तो विज्ञापन छ भने अन्य देशमा उनिहरुको कस्तो विज्ञापन होला ? के थाइल्याण्ड, मलेसिया अझ भनौं चीन र भारतका ठुला राष्ट्रिय पत्रिकामा नेपालको पर्यटनका प्याकेजको विज्ञापन देख्न पाईन्छ ?
केहि अन्तराष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरुले नेपाल भ्रमण गरेको आधारमा केहि टिप्पणी लेखेको बाहेक सरकारले प्रचार प्रसार गराउनमा उल्लेख्य कार्यक्रम ल्याउन सकेको छैन् । विश्वका चर्चित ठाउँहरुबाट नेपालको पर्यटन क्षेत्रबारे जानकारी दिने खालका विज्ञापन राखिने चर्चा गरिएको भएपनि त्यो पुरा हुन सकेको छैन् ।
साथै सरकारले नेपाल भ्रमणमा आएका पर्यटकको बसाई लम्ब्याउने गरि कार्यक्रम तय गर्न सकेको छैन् । घोषणा भएका पर्यटकीय स्थलका बारेमा आवश्यक प्रचार–प्रसार सामाग्री तयार गर्न नसकेको तिताे यर्थात सबैका सामु छ ।
केहि साता अघि मात्रै केहि मिडियाले पश्चिम क्षेत्रको पर्यटकीय गन्तव्य खप्तडको बारेमा खोज समाचार प्रकाशित गरेका थिए । जहाँ आधारभूत ठाउँ र बाटो चिनाउने सामाग्रीसमेत तयार भएको छैन् । छुट्याइएको करोडौं बजेट स्वाहा पारिएको विवरण सार्वजनिक भएको थियो ।
पर्यटकीय गन्तव्यलाई जोडिएन
अन्तराष्ट्रिय अनुभवमा पर्यटकको बसाई लम्ब्याउन एक गन्तव्यसँग अन्य थुप्रै गन्तव्य जोडेर प्याकेजका रूपमा कार्यक्रम सार्वजनिक गरिन्छन् । थाईल्याण्ड, सिंगापुरका साथै छिमेकी मुलुक भारतमा पनि गन्तव्य जोडेर प्रचार गर्ने र पर्यटकको बसाई लम्बाउने नीति लिएको देखिन्छ ।
छिमेकी मुलुक भारतको दार्जिलिंग क्षेत्रमा पनि हैप्पी वैली टी बगैचादेखि ओब्जर्वेटरी हिलसम्मको गन्तव्यलाई जोडिएको छ । दार्जिलिंगको प्याकेजमा जाने पर्यटकलाई दार्जिलिंग शहर मात्रै होइन् चोरास्तासम्म लैजान प्रोत्साहित गरिन्छ ।
तर नेपालको पर्यटकिय राजधानीका रुपमा चर्चा गरिएको पोखराको पर्यटकीय प्याकेजमा ३० मिनेटको दुरीमा रहेका स्थलहरु पनि समेटिन सकेको छैन् । बैंककको पर्यटकिय प्याकेजमा बैंककबाट करिव १५० किमी टाढा रहेको पटाया सहर घुमेर आउने नेपाली पर्यटन ब्यवसायीहरु प्रसस्तै छन् तर पोखराको प्याकेजमा ३० किमी पर रहेको स्याङ्जा या त्यहि दुरीमा नै रहेको तनहुँ तीर जान सकेका छैनन् ।
अन्त्यमा,
सरकारले कार्यक्रम घोषणा गर्ने तर समयमा कार्य थालनी नगर्ने परम्परा कायम नै छ । नेपाल भ्रमण बर्षको आन्तरिक तयारी पनि कछुवा गति मै देखिन्छ । पर्यटनबाट समृद्धि हासिल गर्ने लक्ष्य प्राप्ति गर्ने हो भने हाम्रो काम गर्ने गतिमा तिब्रता ल्याउन अत्यावश्यक छ । नेपालका प्रमुख पर्यटकिय क्षेत्रलाई ‘हब’का रुपमा र वरपरका महत्वपूर्ण क्षेत्रलाई ‘सब-हब’का रुपमा विकास गरिनु पर्छ ।
आन्तरिक पर्यटक तथा बाह्य पर्यटकका लागि व्यविस्थत प्याकेजहरुको तय गरिनु पर्छ । पर्यटनको विकासका लागि पर्यटकिय क्षेत्रको ब्रान्डिङ, नेपाली उत्पादन, अन्तराष्ट्रिय पर्यटन बजारमा पहुँच, सृजनात्मक पर्यटन ब्यवसायी, पूर्वाधार, पर्यटन मैत्री सरकार आधारभूत कुराहरु हुन् ।
सरकारले जसरी तयारी गरेकाे छ त्यहि शैलीमा पनि केहि उपलब्धीहरू हाँसिल भने गर्न सकिन्छ । त्यसका सबै राजनीतिक दल तथा सर्वसाधारणहरु, पर्यटन ब्यवसायीहरु, विश्वभर रहेका नेपाली मनका ब्यक्ति, संघ संस्थाहरुको एक्यबद्धता, उत्साह, उमङ्गका साथ सामुहिक प्रयास आवश्यक छ । आ-आफ्नो तहबाट सबै जुटौ पर्यटनबाट समृद्धिको अभियानलाई सफल बनाऔं ।
प्रतिकृया लेख्नुहोस्: