काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियाल तीनवर्षे कार्यकाल सकेर फर्किँदै छन् । सार्कको १९औँ शिखर सम्मेलन अनिश्चयबीच उनी स्वदेश फर्कन लागेका हुन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - पाकिस्तानी कूटनीतिज्ञ सियाललाई ४ चैत ०७२ मा पोखरामा बसेको सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकले महासचिवमा अनुमोदन गरेको थियो ।
सोही बैठकले २४–२५ कात्तिक ०७३ मा सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा गर्ने निर्णय गरेको थियो । सार्क शिखर सम्मेलन नभई महासचिव सियालको कार्यकाल पूरा हुँदै छ ।
नियमित रूपमा सम्मेलन भइदिएको भए सार्कको अध्यक्ष मुलुक पाकिस्तान हुँदै यतिवेला श्रीलंका हुनुपर्ने थियो । सार्कको २०औँ सम्मेलन श्रीलंकामा सम्पन्न भएर ०७७ मा अफगानिस्तानले सम्मेलन आयोजना गर्ने अवस्था हुन्थ्यो ।
०७३ कात्तिकमा पाकिस्तानमा १९औँ सम्मेलन सम्पन्न हुन्थ्यो भने ०७५ कात्तिक÷मंसिरमा श्रीलंकाले सम्मेलन सम्पन्न गरिसक्नुपर्ने थियो । तर, भारत र पाकिस्तानको विवादका कारण १९औँ सम्मेलन नै अनिश्चित छ ।
सार्कको १४औँ महासचिवका रूपमा नियमित प्रक्रियाबाटै श्रीलंकाका कूटनीतिज्ञ एसाला विराकुनले आगामी २० फागुनदेखि कार्यभार सम्हाल्दै छन् ।
न्युयोर्कमा १० असोजमा भएको सार्क परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठकले श्रीलंकाली कूटनीतिज्ञ विराकुनको नाम नयाँ महासचिवमा अनुमोदन गर्ने तय गरेको थियो । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए ।
बैठकमा भारतका विदेशमन्त्री डा.सुब्रमण्यम जयशंकर र पाकिस्तानी विदेशमन्त्री शाह मुहम्मद कुरेसी सँगै थिएनन्, तर सहभागी भए । भारतीय र पाकिस्तानी विदेश मन्त्रालयका सहसचिवस्तरीय अधिकारीहरू भने बैठकमा सहभागी भए ।
उनीहरूले श्रीलंकाली कूटनीतिज्ञको नाममा समर्थन जनाएका थिए । स्रोतका अनुसार कूटनीतिक च्यानलमार्फत सार्कका आठै देशले उनको नाम अनुमोदन गरेका छन् ।
विराकुन सार्क महासचिव हुने दोस्रा श्रीलंकाली कूटनीतिज्ञ हुन् । श्रीलंकाका पूर्वविदेशसचिव निहाल रोड्रिगो यसअघि महासचिव भइसकेका छन् । भारत र नर्वेका लागि पूर्वश्रीलंकाली राजदूत रहेका विराकुन श्रीलंकाको पर्यटन मन्त्रालयको पर्मानेन्ट सेक्रेटरीका रूपमा हाल कार्यरत छन् ।
सार्कमा देशको नामको वर्णानुक्रमअनुसार तीन वर्षमा सम्बन्धित देशले महासचिवको नाम प्रस्ताव गर्छन् र सबैले अनुमोदन गरेपछि महासचिवले पदबहाली गर्छन् ।
‘सार्कका परराष्ट्रमन्त्रीस्तरीय बैठकमा महासचिवको नाम प्रस्तुत हुन्छ र अनुमोदन हुन्छ, अनौपचारिक बैठकसमेत नहुने अवस्थामा कूटनीतिक च्यानलमार्फत महासचिवको नाम पठाइन्छ र सदस्य मुलुकले नाम अनुमोदन गरेपछि महासचिवले कार्यभार सम्हाल्न सक्छन्,’ सार्कका पूर्वमहासचिव अर्जुनबहादुर थापाले भने ।
यसरी रोकियो शिखर सम्मेलन
काठमाडौंमा १०–११ मंसिर ०७२ मा सम्पन्न सार्कको १८औँ शिखर सम्मेलन ९१०–११ मंसिर २०७१० ले ०७३ कात्तिक २४ र २५ गते पाकिस्तानमा १९औँ सम्मेलन गर्ने र नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
तर, सम्मेलनको मितिभन्दा दुई महिनाअघि (२ असोज ०७३) भारतको उरीमा १९ जना भारतीय सैनिकको ज्यान जाने गरी आतंककारी हमला भयो । त्यसपछि रोकिएको सार्क सम्मेलन भारत र पाकिस्तानबीच सम्बन्ध चिसिँदै गएका कारण अझै अनिश्चित छ ।
१९८५ डिसेम्बरमा सात राष्ट्र रहेर स्थापना भएको सार्कमा सुरुमा सात मुलुक रहे पनि सन् २००७ अप्रिलमा १४औँ शिखर सम्मेलनबाट अफगानिस्तान थपिएको थियो । सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् ।
युरोपियन युनियन, चीन, जापान, इरानसहित सार्कका नौवटा पर्यवेक्षक मुलुक छन् । सार्क सचिवालयमा महासचिवबाहेक आठै देशका निर्देशक (उपसचिव तहका) कार्यरत छन् ।
प्रतिकृया लेख्नुहोस्: