काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान सरकारी निवास बालुवाटारमा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पार्टीभित्रे विकसित घटनाक्रमका विषयमा छलफल गरे।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - त्यसको केही बेरपछि बोलाइए, परराष्टमन्त्री प्रदीप ज्ञवाली पनि। पार्टीभित्र बहुमत नेताहरुको घेराबन्दीमा परेका प्रधानमन्त्री ओली आफू विरुद्दको घेरा कसरी तोड्ने भन्नेमा निकट नेताहरुसँग दिनहुँ जसो आन्तरिक छलफलमा छन्।
अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरु पनि प्रधानमन्त्रीले सचिवालय निर्णय कार्यान्वयनमा गरिरहेको ‘आनाकानी’ लाई कसरी कार्यान्वयनमा लैजाने भन्नेमा छलफलमै छन्।
१० फागुनको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान संविधान संशोधन कार्यदल गठन सम्मका विषयमा नेकपा प्रवेश गरेपछि त्यसयता पार्टीभित्र ओली र ओली इतर समूहका रुपमा नेताहरुका बीच ‘मोर्चाबन्दी’ जारी छ।
पार्टीभित्र देखिएको विवाद समाधान कसरी खोज्ने भन्नेमा दुबै पक्षमा अहिले आन्तरिक तयारी तिव्र छ। तर अडान आ–आफना यथावत। १४ फागुनको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई निशर्त राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने स्थानमा पठाउने निर्णयमा पुगेपछि ओली दवावमा परेका छन्।
ओली पार्टीको निर्णयलाई नमानी युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा दोहोर्याउने, दाहाल लगायत नेताहरु सचिवालयका निर्णय अनुसार वामदेव गौतमलाई नै राष्ट्रियसभामा पठाउने अडानमा छन्।
खासमा यो खुमलटार र बालुवाटार बीचको शक्ति संर्घष हो। यो शक्ति संर्घषमा अरु नेताहरु ‘वामदेव प्रकरण’ बनेर जोडिएका मात्र हुन्।
दुबै पक्षले आन्तरिक तयारी गर्ने र त्यसपछि त्यसको निश्कर्ष र समस्या समाधानको विकल्प सार्वजनिक गर्ने क्रम पनि नेकपाभित्र चलेको छ। शुक्रबार बिहान दाहाल निवास खुमलटारमा दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम बीचको छलफलको निश्र्कष दाहालले चितवन पुगेर पत्रकारसँग खोलेका थिए।
‘अहिले पार्टी निर्णय मानेर वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा लैजाने, अर्थमन्त्रीका रुपमा खतिवडालाई नै अहिले निरन्तरता दिने।’ दाहालले चिवनमा पुगेर सुनाएका एउटा विकल्प हुन् यी।
त्यही सन्देश वरिष्ठ नेता नेपालले शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीसँगको भेटमा सुनाएका पनि थिए। तर पनि प्रधानमन्त्री ओली त्यसमा ‘टसमस’ भएको देखिएका छैनन्।
ओलीले पनि आफ्ना अडान आफुपक्षीय नेता इश्वर पाखेरेलमार्फत अभिव्यक्त गराइरहेका छन्। शनिबार बिहानसम्मको नेताहरुको बालुवाटार छलफलको निश्कर्ष उपप्रधानमन्त्री पोखरेलले पनि विराटनगर पुगेर सुनाए।
‘वामदेवलाई राष्ट्रियसभामा लैजाने पार्टी निर्णय कार्यान्वयन गर्ने तर त्यो पहिले खतिवडालाई लग्ने र पछि उपयुक्त समय मिलाएर मात्र गौतमलाई लैजाने।’
दुवै पक्ष आ–आफना अडानमा टसमस नुहदा पार्टी नै वार–पारको अवस्थामा पुग्नसक्ने चिन्ता व्यक्त गर्छन्, ओली निकट स्थायी समिति सदस्य सत्यनारायण मण्डल।
‘प्रधानमन्त्रीलाई पार्टी नेताहरुले नै घेराबन्दीमा पार्ने र बदनाम गर्न खोजने काम भइरहेको छ। एउटा व्यक्तिका लागि जे पनि गर्नखोज्ने काममा ठूला नेताहरुले मनलाग्दी गर्न खोज्दै हुनुहुन्छ, यसले पार्टीलाई वार कि पारको अवस्थामा पुर्याउन सक्छ,’ नेता मण्डलले भने, ‘नेताहरुले वामदेवजीलाई बोकेर जसरी पार्टीलाई जुन दिशामा लैजान खोज्दै हुनुहुन्छ, यसले पार्टीलाई गलत गर्छ।’
उनले प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्न नेताहरुले अहिले बेमौसमको राग अलाप्न खोजिरहेको पनि बताए। ‘प्रधानमन्त्रीको आफ्नो अडान ठीक छ। पार्टी नेताहरुले घेरामा राखेर जवर्जस्त गर्न खोज्नु उपयुक्त हुन्न। मान्न पर्छ भन्ने पनि छैन,’ मण्डलले भने।
प्रधानमन्त्री इतर खेमा र प्रधानमन्त्री पक्षलाई मिलाएर बीचको मध्यमार्गी बाटोको खोजीका लागि अहिले वरिष्ठ नेता नेपाल र महासचिव विष्णु पौडेल खटिएको देखिएका छन्। यी दुई नेताका पार्टीका दुबै अध्यक्षसँगको सम्वादमा रहेर निकास निकाल्न जुटिरहेका छन्।
प्रतिकृया लेख्नुहोस्: