कोरोनाले निम्त्यायो पूँजीवादमा नेतृत्वको संकट
आजका दिनसम्म पूँजीवादको नेतृत्व अमेरिकाले गरेको छ । हामीलाई थाहा छ, संकट, महामारी र आपतविपतबाट निकास दिन नसक्ने नेतृत्व टिकाउ हुँदैन् । आज विश्वमा कोरोना भाइरस कोभिड–१९ को महामारी भयाभह छ । यो लेख लेख्दाको समय २०७६ चैत्र २७ बिहान १०ः३० बजेसम्मको तथ्यांङ्ग हेर्दा विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १५ लाख १८ हजार ७७३ छ । अहिलेसम्म कोरोनाकै कारण ८८ हजार ५०५ जनाको ज्यान गएको छ । ३ लाख ३० हजार ५८९ जना व्यक्ति कोरोना संक्रमणबाट पनि मुक्त भई स्वास्थ्य लाभ गरिरहेका छन् । आजको दिनसम्म अमेरिकामा मात्र १४ हजार ७९५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ भने संक्रमित संख्या ४ लाख ३५ हजार बढि छ । यूरोपेली देश ईटलीमा १७ हजार ६६९, स्पेनमा १४ हजार ७९२ र फ्रान्समा १० हजार ८६९ जनाको ज्यान गएको आँकडा सार्वजनिक छ ।
माथिको तथ्यांङ्कले स्पष्टै बोलेको छ, यो महामारीले मानव अस्तित्व र सभ्यतामाथि नै चुनौति दिईरहेको छ । अमेरिकामा मात्र लाखौं नागरिकहरुले अकालमा ज्यान गुमाउनु पर्ने चेतावनीहरु आईरहेकै छन् । विश्व स्वास्थ्य संगठनले पटक–पटक चेतावनी दिएको छ । उसले मानव जातीकै साझा समस्या भएको बताउँदै युद्धग्रस्त क्षेत्रमा युद्धबिराम र शान्तिका लागि आग्रह गरिरहेको छ ।
आजका वैज्ञानिकहरु स्पष्टै छन्, यसले कुनै धर्म, जाति, सम्प्रदाय र राज्यलाई चिन्दैन । कसैको रक्षा वा आक्रमण गर्दैन् । तर जसले कोरोनालाई चिने र होसियारी अपनाए, तिनीहरुले कम क्षतिमा नियन्त्रण गरे र जसले कोरोनालाई चिनेनन् वा बुझेर पनि बुझ पचाए तर कुनै सावधानी अपनाएनन् अनि नियन्त्रणका तयारी पनि गरेनन् तिनीहरुले धेरै क्षति बेहोरिरहेका छन् ।
अहिले कोरोनाको महामारी रोकिएको छैन र यो अझै पनि बढ्दो गतिमा छ । कतिबेला कुन देश वा शहर यसको इपिसेन्टर बन्ने हो भन्ने अझैपनि निश्चित छैन । अमेरिका, युरोप, इरानपछि यो भारत र पाकिस्तान तर्फ पनि विस्तार भएको छ । यूरोपमै जर्मनले राम्रो र उदाहरणीय जीत हाँसील गरीरहेको छ भने चीन र सिंगापुर रोग नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भएका छन् । उता दक्षिण कोरिया, जापान र अष्ट्रेलिया पनि यो लडाईंमा राम्रै पहिचान बनाउने सम्भावना नजिक छन् । क्यूबा आफ्नो स्वास्थ्यकर्मीहरु लिएर मानवीय सहयोग गर्ने दौडमा छ । विश्वका करिब सय देशमा चीनले सहयोगका हातहरु बढाएर विश्वलाई नै नेतृत्व गर्ने उत्साह प्रदान गर्दैछ ।
विश्व प्रसिद्ध अमेरिकी लेखक युभल नोह हरारीले कोरोना महामारीका बेला अमेरिकी सरकारको विवेकहीनता नै पूँजीवादको अन्त्यको कारण बन्न सक्ने बताएका छन् । हुन पनि कोरोना महामारीबाट थलिएका आफ्ना सहयोगीहरुको दैलोमा अमेरिका पुग्न सकेन । न त उ कोरोना पीडित आफ्नै नागरिकहरुको लागि मलम बन्न सकेको छ । न त भित्र न त बाहिर ऊ सबल बनेको छ । बरु उ त भताभुङ्ग, निराश र विवेकहिन जस्तै भएको छ । त्यसको बदलामा चीन र क्यूबा विश्वभर फैलिएका छन् । उता क्यूबा जसलाई अमेरिका र यूरोपियन युनियनजस्ता देशहरुको नाकाबन्दी छ । आफुँ विरुद्धको नाकाबन्दीलाई समथर्न गर्ने देश ईटलीमा क्यूबाका डाक्टर र नर्सहरुको समुह नै गएर मानवीय सहयोग गरीरहेका छन् । क्यूवाले पनि अमेरिकालाई आफ्नो मानवीय सहयोग स्वीकार्न अनुरोध गरेको छ । उता उत्तर कोरिया आफुँ कोरोना मुक्त देश भएको घोषणा गर्दै अन्य देशमा मानवीय सहयोग बढाउने निर्णय गरेको छ । अर्कोतर्फ रसियाले पनि सहयोगका प्याकेजहरु संचालन गरेको छ । शायद यस्तो बेलामा युरोप र अमेरिका थला परेको छ र निराश छ ।
आज धेरै विश्लेषकहरुले भनेका छन् कि कोरोना महामारीले खासगरी पुँजीवादलाई चरम संकटमा पुर्याएको छ । आजको विश्वपुँजीवादको केन्द्र अमेरिका हो भन्ने कुरामा कुनै विवाद नहोला । विश्लेषकहरुको ठम्माई छ कि विश्वपूँजीवादको संरक्षण र नेता अमेरिका मात्र हो । यदि अमेरिका कमजोर भयो भने विश्वमै पुँजीवाद साहारा विहिन बन्छ भन्ने मनोविज्ञान जर्वजस्त सत्य रहेछ । आजको पूँजीवाद जुन साम्राज्यवाद वा उत्तरसाम्राज्यवादमा पतन भएको छ, त्यसभित्र अमेरिकाको विकल्पमा नेतृत्व गर्ने शक्ति रहेनछ । अमेरिकाको विकल्पमा रसिया छ र रसियाका राष्ट्रपति भलादमिर पुटिन छन् तर उनिप्रति पनि पूर्वकम्युनिष्ट वा पूर्वसमाजवादी भन्ने अविश्वास कायम छ । रसिया र चीनको सहकार्य मजबुत बनेर अमेरिका कमजोर हुने सम्भावना प्रबल छ ।
क्रुरता र अमानवीयताका कारण पूँजीवाद संकटमा
पूँजीवादको नाईके अमेरिका कतिसम्म अमानविय र क्रुर छ भने पछिल्लो पटक इरान र क्यूबाका विरुद्ध अमेरिकाले लगाएको थप नाकाबन्दीबाट प्रष्ट हुन्छ । आज अमेरिकाकै पूर्वउपराष्ट्रपति तथा डेमोक्रेटिभ पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवारका प्रबल दाबेदार जे बाइडेनले इरानमा कोरोना भाइरस (कोभिड–१९) प्रकोपको समय लगाइएको अमेरिकी प्रतिबन्ध कम गर्नका लागि आह्वान गरेका छन् ।
वरिष्ठ विश्लेषक तथा लेखक नोम चम्सीले भनेका छन्, “नाफामुखी अर्थतन्त्रका कारण अमेरिका क्रुर र अमानवीय बन्दैछ ।” उनले एक अन्तरवार्तामा भनेका छन्, “हामीलाई थाहा छ, न्यूयोर्कमा विश्वकै सबैभन्दा धनाड्य र खर्बपतिहरु बस्छन् तर अस्पतालमा न्यूयोर्कबासीहरु मृत्युको मुखमा छटपटिँदासमेत सरकार र जनतालाई सहयोग गर्न तयार छैनन् । हरेक ठाउँमा र हरेक विषयमा नाफा मात्र खोज्ने पूँजीवादले आफ्ना नागरिकको मृत्युमा समेत नाफा देख्नुलाई अस्वभाविक मान्न सकिँदैन् । अमेरिकी लेखक स्टेवेन पिअल्र्सिटनले आफ्नो पुस्तक “के अमेरिकी पूँजीवाद बाँच्न सक्छ ?” भन्ने पुस्तकमा भनेका छन्, “पुँजीवाद मरिसकेको त छैन यसलाई स्वंय आफैंबाट जोगाउन धेरै ढिला भैसकेको छ । नोम चम्स्कीले अगाडि भनेका छन्, जवनवउदारवाद हाबी हुन्छ, तब सरकारले समग्र बजारका असफलतामा केहि गर्न सक्दैन । त्यहि कारण गंजागोलको अवस्था निम्तिएको छ । उनले भनेका छन्, “नवउदारवादको क्रुरताका कारण भेन्टिलेटरको अभाव देखियो ।”
हुनपनि आज जे जति मानवीय क्षति भयो, त्यो पूँजीवादी हेलचेक्र्याईं र लापरबाहीका कारण भयो । अर्को शब्दमा भन्दा सम्भावित महामारी वा भविष्यका लागि लगानी गर्नु मुनाफाको सिद्धान्त विपरित हुन्थ्यो । आज पनि लाग्छ, सर्वसाधारण जनताको जीवनमाथि विश्वभर नै खेलबाड भईरहेको छ । न्यूर्योक र वासिंटनजस्ता शहरमा त्यसको लाईभ चीन देख्न सकिन्छ । कहिँपनि मानवीय मुल्यमान्यता छ भने त्यो समाजवादी देशमा मात्र रहेको देखिएको छ ।
पुँजीवादी राष्ट्रमा आज सर्वसाधारण मानिसहरुले जीवनको भीख मागीरहेका छन् । तर पनि, न्यूयोर्कमा मात्र लाखौं नागरिकहरु कोरोनाबाट संक्रमित हुँदासमेत त्यहाँका खर्बपतिहरुको होश खुलेको छैन । उनीहरुभित्र मानवीयताको भाव झल्किएको छैन् । यसले प्रष्ट बनाएको छ, पूँजीवादको केवल नाफामा बाँच्न र काम गर्न सिकाउँछ । पूँजीवादमा राज्य कमजोर र धनाड्य व्यक्ति बलियो हुन्छ । त्यहाँ सामुहिकता र अनुशासन हुँदैन भन्ने छर्लङ्गै भयो । पूँजीवादले हाम्रो जीवनशैली पनि रोगी, जीर्ण र कृत्रिम बनाएको छ । मान्छे केवल नाफा र सम्पत्तिका पछाडि कुद्ने भएको छ । आज कतिपय शासकहरु कोरोना महामारीलाई विश्वभर फैलिन दिनुपर्छ र त्यसबाट बुढाबुढी, दीर्घरोगी र असहायहरु सिद्धिन्छन् भन्ने जस्तो अमानवीय धारणा राख्छन् । गरीब र विपन्नहरुलाई तह लगाउने यो एउटा अवसर हो भन्ठान्छन् ।
हामीलाई थाहा छ, अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्प आफैं व्यापारी हुन् । नाफाका लागि के–के सम्म गर्नुपछर्छ भन्ने उनलाई राम्ररी थाहा छ । कोरोना महामारीको अन्तिम अवस्थासम्म पनि उनले खेलवाड गरीरहेका छन् । अहिले पनि उनमा मानवीय भावना पलाएको छैन् भन्ने कुरा उनको ईरानमाथि लगाएको पछिल्लो प्रतिबन्ध वा नाकाबन्दीले प्रष्ट पारेको छ । इरान कोरोना महामारीका कारण ठूलो मानवीय संकटमा छ र त्यतिबेला सबैको ध्यान हुनुपर्छ, मानवीय उद्धारको । तर अमेरिकाले नाकाबन्दीमार्फत झन् ठूलो अपराध मच्चाईरहेको छ । त्यहाँ खाद्यान्न, औषधी तथा लत्ताकपडाको अभाव भएको छ तर बदलामा अमेरिकीकाको उपहार नाकाबन्दी छ ।
पूँजीवादमा मानवीय दृष्टिकोणमाथिको संकट
हामीलाई थाहा छ, आज विश्वमा केहि विवेक खलबलीएका शासकहरु उदाएका छन्, जसले पनि पूँजीवादलाई संकटतर्फ धकेल्दैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म पनि कोरोना भाइरसको महामारीको दोष चीनलाई थोपर्न चाहन्छन् । अहिले उनी आफ्नो देशमा भएको जनधनको क्षतिभन्दा चीनको धेरै भएको र चीनले यथार्थ सूचना नदिएको कुतर्क गरीरहेका छन् । डोनाल्ड ट्रम्पलाई पछ्याउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन्, “कोरोनाको महामारीबाट भएको क्षतिको हिसाब किताब चीनसँग पछि गरिनेछ ।” अहिले प्रधानमन्त्री बोरिस जोन्सन आफैं कोरोना संक्रमित भई अस्पतालमा भर्ना भएका छन् ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, “विश्व स्वास्थ्य संगठनले चीनको समर्थन गर्यो । यही कुरालाई पक्षपोषण गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विश्वस्वास्थ्य संगठनलाई चीनका विरुद्ध नियन्त्रण गर्न चेतावनी दिएका छन् । कसैले कोरोनाबाट भएको क्षतिपूर्ति तिराउनका लागि चीनका विरुद्ध अन्तराष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेका छन् भन्ने समाचार आईरहेका छन् । उता भारतका प्रधामन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध भन्दै राष्ट्रव्यापी ब्लाक आउट र दीप प्रज्वलन कार्यक्रमको आह्वान गरी सम्पन्न गरेका छन् ।
एकातर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग मलेरिया विरुद्धको औषधीको सहयोग माग्नु र अर्कोतर्फ मोदीको दीप प्रज्वलनको घोषणा बीच के सम्बन्ध छ भनेर खोज्न सकिन्छ । तथ्यहरु आफैं बोलिरहेका छन्, आजको पुँजिवादमा मानवीयता मरीसकेको छ । पूँजीवादले सेवाको सिद्धान्तमा हैन नाफाको सिद्धान्तमा काम गर्छ । उसले देश, समाज वा समुदायलाई चिन्न छोडिसकेको छ । त्यति मात्र कहाँ होर, उसले परिवारको पनि विघटन गरीसकेको छ । बाउ–आमा, श्रीमान्–श्रीमति, छोराछोरी, दाजुभाई र दिदी बहिनीकै सम्बन्धलाई पनि नाफाको सिद्धान्तमा निर्धारण गर्दछ । उ अत्यन्त निजी, स्वार्थी र अमानवीय बन्दैछ । आज हामी त्यसलाई नवउदारवादी अर्थतन्त्र भनेका छौं । नाफा कमाउनु बाहेक व्यक्ति वा नागरिकको कुनै जिम्मेवारी नै नहुने ? आज न्यूयोर्कले त्यहि बताईरहेको छ ।
क) विश्व स्वास्थ्य संगठनमाथिको हमला – वास्तवमा आजको आवश्यकता भनेको सम्पूर्णं विश्वलाई एकताबद्ध गरी मानवजातीका लागि साझा रणनीति र कार्यक्रमको विकास गर्नु हो । त्यसका लागि संयुक्तराष्ट्र संघलाई अझै बढि विश्वसनीय, अधिकार सम्पन्न र निष्पक्ष बनाउनु पर्ने हो । तर अमेरिकालगायतका देशहरु संयुक्त राष्ट्र संघलाई कमजोर, विवादित र निरीह बनाउनतर्फ उद्धत छन् । भर्खरै कोरोना महामारीका विरुद्ध शशक्त भूमिका निभाएको विश्व स्वास्थ्य संगठनप्रति अमेरिका, बेलायत र अष्ट्रेलियाका शासकहरुले गरेको आलोचना खेदजन्य र विवेकहीन छ ।
ख) चीनमाथिको निरन्तर हमला – अहिले सबै मिलेर माहामारीलाई नियन्त्रण गर्ने समय हो । कोरोना महामारीको नियन्त्रण पछि हामी झनै ठूलो संकटतर्फ धकेलिदै छौं, त्यो हो विश्वव्यापी आर्थिक मन्दी । त्यसकारण यो सबै मिलेर काम गर्ने बेला हो । तर निरन्तर रुपमा चीन सरकार र चिनियाँ जनताको अपमान हुने आरोप प्रत्यारोपले विश्वमै हिंसा मच्चाउने स्पष्ट छ ।
कोरोना महामारीपछि विश्वव्यापी आर्थिक मन्दी
यो निश्चित छ कि कोरोना महामारीको नियन्त्रणपछि पनि हामी झनै ठूलो संकटमा फस्ने छौं । त्यो हो – विश्वव्यापी आर्थिक मन्दी । कोरोना महामारीले जति लामो समयसम्म तबाहा मच्चाउने छ, त्यति नै ठूलो स्केलको आर्थिक मन्दी हुनेछ । आर्थिक मन्दीले विश्वको ठूलो जनसंख्या भोकमरी, बेरोजगार र घरबारविहिन हुने खतरा छ । शायद गरिबी महामारी झन् ठूलो महाविपत्ती बन्न सक्छ । आज पनि धेरै अर्थशास्त्रीहरुले सरकारहरुलाई जिम्मेवार बन्न सुझाव दिईरहेका छन् । अभाव, भोकमरी र गरिबीले सीमा नाघ्यो भने के होला ? हामीले कल्पनै नगरेको अवस्था आउन सक्छ । अमेरिकामा वाल स्ट्रेट मोभमेन्टहरु आक्रामक भए भने के होला अवस्था ? एकका विरुद्ध उनान्सयको आन्दोलन नै वालस्टे«ट आन्दोलन हो । १ प्रतिशत पूँजीपतिहरुको नियन्त्रणमा अमेरिकी सम्पत्ति कायम छ, जसको प्रतिरोध भएमा अमेरिका के हुन्छ ? भारत, बेलायत वा फ्रान्स के हुन्छन् ?
हुनसक्छ तेस्रो विश्वयुद्ध
आजसम्म अमेरिकाले आफ्ना ठूला–ठूला संकटहरु युद्धको साहारामा टार्ने गरेको दृष्टान्त ताजै छन् । अमेरिकाले धेरै देशका शासकहरुलाई हतियार र पैसाको बलमा ढालेको छ । आज पनि सिरिया, भेनेजुयला, ईरान, उत्तरकोरिया, क्यूबाजस्ता देशहरुमा अमेरिकाको आक्राणका धम्कीहरु र शैन्य अभ्यासहरु जारी छन् । उता ईराक र अफगानीस्तान जस्ता देशका सरकारहरु फेरि अमेरिकी निशानामा पर्न सक्छन्, जुन हिजो अमेरिकाकै कारण सत्तामा आएका थिए । सबैभन्दा दुर्भाग्यको कुरा आज अमेरिका चीनका विरुद्ध पनि धावा बोल्ने षडयन्त्र गर्दैछ । अमेरिकाको इण्डोप्यासिफिक रणनीतिले विस्तारै युद्ध निम्त्याउँदैछ । यस्तो संवेदनशील विश्वपरिस्थितिका बीच देखा परेको कोरोना भाइरसको महामारीले सम्पूर्णं विश्वलाई हालकायल पारेको छ । कोरोना भाइरसको महामारीको सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनविरुद्धको आक्रमण निरन्तर जारी छ । ट्रम्पलाई पछ्याउँदै बोरिस जोन्सन्, स्कट मोरिसनहरु घृणित ढंगले लागेका छन् । बेलायत, अष्ट्रेलिया, इजरायलजस्ता देशहरु ट्रम्पको ईशारामा काम गरीरहेका छन् ।
कोरोना महामारीसँगै चीनले गरेको विश्वव्यापी सहयोग र नेतृत्वदायी भूमिकालाई अमेरिकी सत्ताले स्वीकार्न सकेको छैन् । आज अमेरिका चीन र रसीया वा सिजिनपिङ र भ्लादिमीर पुटीनबीचको सहकार्यले अमेरिकालाई ठूलो संकटमा धकेलेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध सुधार्न गर्न ट्रम्पले गरेको सुरुवात त्यसैको क्षतिपूर्ति पुरा गर्ने ध्येय मात्रै हो । उता चिनियाँ सहयोग सामाग्रीहरुको गुणस्तर चीनले दिएको कोरोनासम्बन्धि सूचनाहरुको विश्वसनीयता, भाइरसको नामाकरण, भाइरसले पुर्याएको क्षतिपूर्ति चीनले दिनुपर्ने जस्ता विषयमा निरन्तर चीनका विरुद्ध हमलाहरु भईरहेका छन् ।
हुन त अमेरिका वा साम्राज्यवाद वा उत्तरसाम्राज्यवादविरुद्ध सिधा–सिधा युद्ध लड्ने समाजवादी शक्ति छैन् । त्यसो भएमा समाजवादी कित्ताको नेतृत्व चीनले गर्नेछ । त्यसकारण त लेखक स्टेवेन पिअल्स्र्टिनले भनेजस्तै “पुँजीवाद मरिसकेको त छैन तर यसलाई स्वंय आफैंबाट बचाउन धेरै ढिला भैसकेको छ ।” हिजो जस्तै अमेरिकाले आफ्नो देशमा आउने महासंकटलाई टार्नका लागि युद्धको रणनीति लिए भने तेस्रो विश्वयुद्धको सम्भावना प्रबल देखिन्छ । विश्वमा अहिलेकै शासकहरु जस्तै डोनाल्ड ट्रम्प, बोरीस जोन्सन्, नरेन्द्र मोदीजस्ता शासकहरुको अहिलेकै रबैया देखाईरहेमा युद्धको सम्भावना प्रबल छ ।
यदि सम्भावित युद्धको खतराबाट विश्व मानवजातीलाई मुक्त गर्ने हो भने समयमै संयुक्त राष्ट्रसंघजस्ता संस्थालाई थप निष्पक्ष, प्रभाकारी र शक्तिशाली बनाउनु पर्छ । आगामी संकटलाई सामना गर्नका लागि विश्वव्यापी एकता पैदा गर्नसक्नुपर्छ । संकटको बेलामा नाफाको सिद्धान्तमा हैन सेवाको सिद्धान्तमा काम गर्ने विचारधाराको विकास गर्नुपर्छ । गरिब, विप्न्न, बेरोजगार, शोषित, उत्पीडित र असहायहरुको लागि विशेष प्राथमिकता दिनुपर्छ । राज्य वा सरकारको भूमिकालाई जनताप्रति उत्तरदायी बनाउनुपर्छ ।
कुनैपनि हालतमा वातावरणलाई भड्कीन दिनु हुँदैन । आज चीनलाई उत्तेजीत र आक्रोशीत बनाउने कामहरु भउका छन्, त्यसलाई बन्द गर्नुपर्छ । चीन र रुसको संयमता र शालिनताबाट अमेरिकाले सिक्नुपर्छ । सबै मिलेर साझा मानव जातीका लागि काम गर्नुपर्दछ । यदि त्यसो हुन नसकेमा आगामी संकटले विश्वलाई नै युद्धमा धकेल्न सक्छ । जब संकटहरु बढ्छन्, नवअराजकता, लुटपाट र युद्धहरु हुन्छन् । जब असमानताहरु बढ्छन् तब विद्रोह र युद्धहरु हुन्छन् । युद्ध हैन, ढिलो नगरी मानवता रोजौं । जनताको बाँच्न पाउने हकमाथि खेलबाड नगरौं ।
प्रतिकृया लेख्नुहोस्: