चीनको वुहानबाट टुसाएर संसारका २१० देश पुगेको कोरोना भाइरस (कोभिड–१९) ले सिंगो मानवजातीलाई प्रत्यक्ष घेराभित्र पारिरहेको छ । दक्षिण एशियाको ठूलो जनसंख्या रहेको सबैभन्दा नजिकको दक्षिणी छिमेकी भारतको पछिल्लो ग्राफले हामीलाई कोतरीरहेको छ । यहि बेला प्रतिष्ठित दैनिक र अनलाइन मिडियाहरुले कहिले भ्रष्टाचारका कथा र कहिले नेताहरु बीच बढ्न थालेको मनमुटावका बारेमा नमिठा श्रृंखलाहरु थपिरहेका छन् ।
यतिबेला कोरोना सिंगो मानवजातिको साझा र मुख्य शत्रु भएको छ । विज्ञान, प्रविधि, अध्ययन र अन्वेषणमा बलियो चुनौती बनेर देखा परेको छ । त्यहि कोरोनाको संक्रमणले संसारका महाशक्ति राष्ट्रहरुको भविष्य खतरामा पर्दै जान थालेको विश्लेषण समेत गरिएको छ । साझा दुश्मनसँगै लड्नका लागि भन्दै हठि स्वभावका डोनाल्ड ट्रम्पले सिजीनपिङ सँग हात मिलाइसकेका छन् भने नरेन्द्र दामोदरदास मोदीसँग पनि नरम भाषाले कुरा मिलाइसकेका छन् । कोरोनाको यो तुफानि आक्रमणका विरुद्ध जुध्न राजनीति भन्दा माथि उठेर हेर्न, बुझ्न र व्यवहार सच्याउन विश्व स्वास्थ्य संगठनले सबैलाई अनुरोध गरिरहेकै छ ।
नेपालमा अहिले (चैत्र २९, सांझ ७ बजेसम्म) कोरोना संक्रमितको संख्या ९ भन्दा माथि बढ्को छैन । लकडाउन र जनचेतनाका क्रममा सरकारको प्रयास प्रभावकारी रहेको छ । विभिन्न देशको आँकडा र भारतको बढ्दो संख्याले जनजीवनमा त्रास व्याप्त नै छ । यो स्थितिमा देशवासी वा नागरिकहरुको मनोबल बढाउनु पनि राज्य सञ्चालकहरुको एउटा प्रमुख अभिभारा हो । नेपालमा सरकारले यस विरुद्ध चालेका प्रयास र अभ्यासहरु सकरात्मक हुँदाहुँदै पनि कतिपय कुरामा देखिएको अपरिपक्वता र तरीका नपुगेको टिप्पणी हुदैआएका पनि हुन् । मृगौला फेरेका प्रधानमन्त्री बिरामी अवस्थामा रहँदारहँदै पनि कोरोना विरुद्धको लडाइमा कुनै कसर बाँकी नराख्न भनेर कमाण्ड पनि भएकै हो । यस्तो अवस्थामा पनि भ्रष्टाचारको प्रसंग (सामान खरिद प्रक्रियामा भएका कमजोरी) र नियत(जो पुष्टि हुन बाँकी नै छन्) तथा निर्णय फेरबदल गरिहाल्ने पछिल्ला घटनाले उक्त काममा संलग्न हुनेहरुप्रति शंसय देखा परेको भने अवश्य हो ।
निश्चय पनि नेताहरुको कतिपय कार्यशैली, स्वभाव, हठ र पदमा रहुन्जेल अर्कालाई गन्नै नपरोस् भन्ने चिन्तनले पनि नागरीकको मनोबल बढाउन सहयोग पुगेको छैन । आफू सत्तामा रहुन्जेल लोकतन्त्र रहेको ठान्ने, सत्ता स्वाद पाउन्जेल लोकतन्त्र उपयोगको व्याख्या गर्ने र सत्ताबाट बाहिरिनु पर्दासाथ लोकतन्त्र गुमेको अनुभूति व्यक्त गर्ने पुरानो आदतबाट मुक्त नभैसकेका बेला हामी कोरोनासँगको संग्राममा सँगै लडेका छौँ । यो बेला सानातिना र गारासारा कुरा उठाएर मन कुँड्याउनु, दुखाउनु, चिढाउनु र बिच्क्याउनु ठिक होइन । प्रजातन्त्र, लोकतन्त्र, जनवाद र समाजवादको आधारभूत अनुभव खोज्ने र माग्ने बेला पनि यो होइन ।
तर पनि एउटा सत्य कुरा के हो भने प्रतिकुलता, विपत, महामारी र जटिलताले नै नेतृत्वको स्तर र क्षमता प्रर्दशन गरेको हुन्छ । चाहे वैचारिक र सैद्धान्तिक चाहे सामाजिक र सांगठानिक वा युद्ध मोर्चामा नै किन नहोस्,असल नेतृत्वले विवेक, संयमता र सापेक्ष सभ्यता प्रदर्शन गरेकै हुन्छ । अहिलेको सन्दर्भमा विज्ञानले पनि जवाफ दिन नसकेको महामारीसँग लडन परेको बेला हामीले कार्यकारी प्रधानमन्त्रीका रुपमा बलियो आत्मबल भएका नेता केपी ओली पाएका छौँ । उहाको कमाण्डमा राज्यको सेना, प्रहरी, प्रशासन, विज्ञान र प्रविधि समेत छ । त्यसबाहेक उहाँ नेकपाको पार्टी अध्यक्ष हुनु भएको नाताले ८ लाख पार्टी सदस्य र पचासौँ लाख मतदाता पनि उहांसंगै छन् । त्यो सँगसँगै कमरेड प्रचण्ड जस्ता साहासी नेताको टिम र प्रधानमन्त्री भैसकेका कमरेड झलनाथ खनाल एवम् कमरेड माधव नेपाल लगायतका वरीष्ठ नेताहरुको अनुभव उपयोग गर्ने अवसर उहाँले पाउनु भएको छ ।
सरकार र पार्टीको पंंक्तिबाहेक पनि उहाँले यो महामारी विरुद्धको लडाईमा पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, शेरबहादुर देउवा तथा लोकेन्द्र बहादुर चन्द लगायतको पनि साथ पाउनुहुन्छ र स्वदेश तथा बिदेशमा रहेका ३ करोड बढि नेपालीहरुले पनि सरकारलाइ सघाइरहेका छन । यसका बाबजुद पनि केहि नचाहिदा हस्को बढन थालेको छ । लोकतान्त्रिक सभ्यताको स्थिर जग नबसेका कारण प्रधानमन्त्रीको चित्त दुख्ने गरी उहाँमाथि शब्द बोलिएका पनि होलान् । रामचन्द्र पौडेल जस्ता प्रतिपक्षका वरिष्ठ नेताले सर्वदलिय सरकारको कुरो बाहिर ल्याउनु, प्रतिपक्षकै सभापति तथा पूर्वप्रधानमन्त्री देउवा र उहाँका नेता कार्यकर्ताले भ्रष्टाचारको हल्ला बढी गर्नु, अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारको व्यवस्थापन क्षमतामा प्रश्न उठाउनु जस्ता कुराले प्रधानमन्त्री ओलीको चित्त दुख्न जरुरी छैन । लोकतन्त्र पनि स्रक्रमणमै भनिएका बेला यसमा अन्यथा मान्नुपर्ने कुरै छैन ।
सरकार संचालनमा भएका कमजोरीले सरकार र पार्टीको लोकप्रियता नघटोस् भनेर कतिपय कुरामा ‘प्रष्ट हुन चाहेको’ बताइरहेका कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिक्रियामा त झनै चित्त दुखाउनु पर्ने ठाउँ नै छैन । नेकपा अध्यक्ष प्रचण्डले महामारीको जोखिम विरुद्ध लड्न सबैले ठूलो छाति बनाऔँ भन्नुको अर्थ आफ्नै प्रधानमन्त्रीलाई कमजोर पार्नु हुँदै होइन । शंकाले लंका डढाउँछ भने जस्तो बुझ्ने र बुझाउने, सुनाउने र उल्काउने प्रवृत्तिहरुले पछिल्ला दिनमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बीच दरार पैदा गराउन खोज्दै छ्रन भन्ने चित्र स्रुपमै देखापरेको छ । अध्यक्ष प्रचण्डले गल्ती नै गर्दैैनन् वा ओलीको गल्ति नै हुँदैन भन्ने अतिवादलाई मलजल दिने प्रयास यहि बिचमा भैरहेको छ ।
यतिबेलै गृह र रक्षा मन्त्रालय बीच ‘समन्वयको अभाव’ रहेको प्रत्यक्ष अनुभूति –(उपत्याका बाहिर जान दिने पहिलो सुचना र निर्णय नै भएन भन्न दोस्रो सुचना ) सर्वसाधारणले समेत गरेका छन् । यस्ता टकराव र मनमुटावको बातावरणले आदेशक वा कमाण्डरलाई असहज परेको अनुभूति गर्न सकिन्छ । यो बेला सरकारको आलोचना गरीरहने डा. प्रकाशचन्द्र लोहनी देखि एकिकृत जनक्रान्ति गर्छौ भन्ने नेत्र बिक्रम चन्द (विप्लव) सम्मलाई एउटै युद्धमोर्चामा ल्याउन प्रधानमन्त्री स्वयमले पहल गर्नुपर्ने बेला हो । यस्तो कुरा जसको मुखबाट आएपनि सकरात्मक नै लिनुपर्दछ । प्रचण्डको नयाँ प्रकारको मोर्चाको प्रस्तावले सरकारको संयन्त्र शिथिल र बेकम्मा हुने भन्दै एकथरी अतिले शासन नै खोसिन लागेको अनुभूति संप्रेषण गर्र्दैछ भने अर्को अतिले सत्ता नै विघटन गराउने जोखना हेरेर बसिरहेको पनि छ । यस्तो बेला महामारी बिरुद्धको एकिकृत लडाइ लड्न सबैको अपनत्व जोडौँ भन्ने कमरेड प्रचण्डको सदासयतालाई सर्वदलीय सरकारको बेमौसमी हुइयाँसँग जोड्नु कुनै पनि अर्थमा न्यायिक र तार्किक हुँदैन ।
यसअगाडि २०७२ को महाविपत्तिमा पनि भूइँचालो पछिको पुननिर्माण कार्य तथा संविधान निर्माणका क्रममा अवरोध नआवोस् भनेर प्रचण्ड स्वयंको प्रस्तावमा उच्चस्तरीय संयन्त्र बनेको थियो । यतिबेला प्रचण्डको आसय र नियत सरकारमा अध्यक्ष ओलिको कमाण्ड खल्बलाउने वा सत्ताको डाडु पन्यु तलमाथि पार्ने भन्ने तर्फ हुँदै होइन । प्रधानमन्त्रीकै कमाण्डमा फराकिलो मोर्चा बनाउँ भन्ने प्रचण्डको प्रस्तावलाई द्वन्द्ववादसम्मत बु्रझन जरुरी छ । व्यक्तिगत बुझाइमा बगेर महामारी विरुद्धको लडाईलाई कमजोर पार्ने, एकता खल्बल्याउन छिद्रा खोज्ने, नेकपाप्रतिको विश्वास घटाउने वा प्राप्त उपलब्धिलाई जेसुकै होस् भन्ने छुट कसैलाई छैन ।
हामीलाई यतिबेला झनै बलियो प्रधानमन्त्री चाहिएको हो । आत्मबल सहित समृद्धिको तस्विर देखाइरहने प्रधानमन्त्री हामीले पाएका छौँ । यतिबेला क. प्रचण्ड र क. ओलि बीच असमझदारी बढाइदिने अपराध कसैबाट नगरौँ । महामारीसँग जुध्न ठूलो र फराकिलो मोर्चाका लागि समेत तयार होऔँ । बरु सकिन्छ भने बर्तमान गणतन्त्रका एक योद्धा नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पनि यहि मौकामा मोर्चामा सामेल गराऔँ । उनी संग पनि बहश गरौ । मानवता भन्दा ठूलो लडाई त उनले पनि लडेका छैनन् । नेताहरुलाई भनौँ, एकले अर्कोलाई होइन अब सकिन्छ भने कोरोनालाई एकिकृत आक्रमण गरौँ । प्रधानमन्त्रीकै कमाण्डमा अझ फराकिलो मोर्चा खोलौ । भाइरसले विज्ञानलाई नै निलम्बन गरेर सबै मानवजातिलाई युद्ध मोर्चामा बोलाएको बेला स्वार्थको सांघुरो कोटरीमा धेरै चीनी मिसाएको रोटी सेकेर समय बर्बाद नगरौ ।
(तिवारी सत्तारुढ नेकपा निकट बुद्धिजिवी संगठनका नेता हुन्)
प्रतिकृया लेख्नुहोस्: