काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले कोरोना संकटबीच एकाएक दुई अध्यादेश (राजनीतिक दलसम्बन्धि र संवैधानिक परिषदसम्बन्धि) मन्त्रिपरिषदमा ल्याउँदै राष्ट्रपतिबाट पारित गराएसँगै नेपाली राजनीतिमा एकाएक फरक–फरक घटनाहरु देखिन थाले । निकै छोटो समयमा नयाँ राजनीतिक घटनाहरु विकास भए । अध्यादेशकै कारण समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी अचानक एकता प्रक्रियामा गए भने राजनीतिक दल फुटाउन अनेकन षडयन्त्रहरु भएका घटना बाहिर आए । सत्तारुढ पार्टी नेकपाभित्रै पनि निकै ठूलो उथलपुथल देखियो ।
अन्तत: प्रधानमन्त्री ओलीले दुवै अध्यादेश फिर्ता लिए पनि त्यससँगै जोडिएका अन्य घटना र प्रवृत्तिमाथि भने निकै चर्का बहस सुरु भएका छन् । अध्यादेश ल्याउनु र पार्टी विभाजनमा भूमिका खेल्नुप्रति प्रश्न उठाउँदै उनको आगामी भूमिकाबारे बहसहरु सुरु गरिएको छन् । सत्तारुढ पार्टीभित्रै पनि उनको कदमबारे निकै आलोचना भएको छ ।
खबर डबलीका सन्देश अर्यालले तत्कालिन एमालेमा ओलीनिकट रहेर काम गरेका तर पछिल्लो समय समाजवादी पार्टीमा सह–अध्यक्षको जिम्मेवारीमा रहेका राजेन्द्रप्रसाद श्रेष्ठसँग पछिल्ला घटनाबारे केहि प्रश्न गरेका छन् । समाजवादी पार्टी र राजपाबीच एकताका सुत्राधारसमेत भनेर चिनिएका श्रेष्ठसँग खबर डबलीका अर्यालले प्रधानमन्त्री ओलीको कदम र एकाएक हुनपुगेको एकता प्रक्रियाबारे प्रश्न गरेका छन् । नेता श्रेष्ठसँग पछिल्लो विकसित घटनाबारे केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
एकाएक अध्यादेश आएसँगै समाजवादी र राजपाबीच एकाएक एकता हुने अनौठो परिघटना देखियो । यो परिघटनाबारे केहि बताइदिनुस् न ।
पार्टी एकता प्रक्रिया एकाएक विकास भएको हुँदै होइन् । हाम्रो एकिकरण प्रक्रिया नयाँ शक्ति र समाजवादी पार्टीबीचको एकता प्रारम्भ हुँदादेखि नै भएको हो । त्यतिबेला केहि प्राविधिक समस्याले गर्दा ३ वटा पार्टीबीच एकैपटक एकता हुनसकेन । त्यतिखेर संघीय समाजवादी फोरम र नयाँशक्तिबीच एकता हुनपुग्यो । त्यसको लगत्तै हामीले दुईपक्षीय वार्ताहरु गर्दै एकता प्रक्रियालाई एउटा चरणमा पुर्याएका थियौं ।
लकडाउन नभएको भए हाम्रो एकता प्रक्रिया अझै अगाडि टुंगीसक्थ्यो । तर यसबीच संयोग नै भनौं प्रधानमन्त्री केपि ओलीजीले अध्यादेशमार्फत राजनीतिक दल विभाजनको प्रस्ताव ल्याउँदा पार्टी एकताले मुर्त रुप पाउन थप नकारात्मक भएपनि सहजता भयो । पक्कै पनि उहाँको गतिविधिले हामीलाई सहजीकरण गराएकै हो ।
फेरि पनि, पार्टीहरु बीचको एकता प्रक्रिया, सैद्धान्तिक एकतापश्चात निकै छलफल र बहसपछि भएको देखिन्छ । घटनाकै आधारमा पार्टी एकता भएको यो अलि फरक दुर्लभ घटना पनि हो । यसलाई कसरी बुझ्ने?
अघि पनि भनें यो घटनाले निम्त्याएको एकता मात्र हुँदै होइन् । हामीले निकै सैद्धान्तिक विषयमा छलफल गरेर नै एकता प्रक्रिया अगाडि बढाएका हौं । केहि सैद्धान्तिक विषयमा सहमती गरेर नै हामी यहाँ आएका हौं । हामीले एकता घोषणाको सहमतिमा पत्रमा पनि केहि सैद्धान्तिक विषयलाई प्रष्ट बनाएका छौं ।
पार्टी एकता गर्दै गर्दा हामीले पहिचानसहितको संघीयतालाई सर्वमान्य सिद्धान्तकै रुपमा स्वीकार गरेका छौं । हामीले वास्तविक अर्थको समाजवादी व्यवस्थालाई सैद्धान्तिक रुपले स्वीकार गरेर आएका हौं । हामीले लोकतन्त्रको पनि उन्नतस्तर ‘सहभागितामुलक लोकतन्त्र’लाई अबको व्यवस्था मान्ने कुरामा सहमति गरेका छौं । २१ औं सताब्दीमा विकास भएका सबै कुरालाई ध्यानमा राखी परम्परागत लोकतन्त्रको विकल्पमा हामीले सहभागितामुलक लोकतन्त्रको कुरा गरेका हौं ।
नेपालको विशेषताअनुसार बहुराष्ट्र सुहाउँदो समाजवादको विषयमा हाम्रो सैद्धान्तिक सहमति छ । हामीले नेपालको बहुजातिय, बहुसांस्कृतिक र बहुभाषिक विशेषतालाई सम्बोधन हुनेगरि संघीय शासनसहितको समावेशी प्रतिनिधित्व भएको समाजवादमा जानेगरि समाजवादको परिकल्पना गरेका छौं ।
सामाजिक न्यायको अवधारणालाई हामीले सर्वसम्मत स्वीकार गरेका छौं । लोककल्याणकारी राज्य, समाजवादी आर्थिक संरचनासहितको सामाजिक न्यायको मान्यतालाई हामीले एकता प्रक्रियामा ग्रहण गरेका छौं ।
सुशासनलाई मुख्य मान्यताको रुपमा स्वीकार गरेका छौं भने समतामुलक समृद्धिको कुरामा पनि हामीले सैद्धान्तिक सहमित गरेका छौं । हामीले धेरै सैद्धान्तिक कुरामा सहमति गरिसकेपछि मात्रै पार्टी एकता गरेका हौं ।
एकता प्रक्रियामा पार्टी संगठनको संरचनाबारे कस्तो परिकल्पना गरिएको छ ? पार्टीको संरचना, हिजोको राजपा मोडेल अथवा समाजवादीको मोडेल के हुन्छ ?
हामी सामुहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको प्रणालीअनुसार पार्टी संगठनको निर्माण गर्ने कुरामा सहमत भएका छौं । संगठनको नेतृत्व तहमा हिमाल, पहाड र तराई (मधेश) तिनै तहका नेताहरुको अनुहार देखिनेछ । मेचिदेखि महाकालीसम्मका सबैको प्रतिनिधित्व क्षेत्रगत रुपमा गरिनेछ । जस्तो हाम्रो देशको चरित्र छ त्यहि अनुसारको पार्टी बनाइनेछ । जस्तो समाज त्यस्तै समावेशी पार्टी हुने कुरालाई हामीले स्वीकार गरेका छौं ।
नेतृत्वको विषयमा केहि निर्णय भएको छ कि छैन् ? अबको पार्टीमा कसले के जिम्मेवारी पाउँछ ? अबको संगठन कस्तो बन्छ ?
हामी नेतृत्वको विषयमा केहि खाका बनाएका छौं । यहि व्यक्ति भनेर नतोकेको भएपनि समानताकै आधारमा नेतृत्व चयन हुने प्रक्रिया हुन्छ । हाम्रो पार्टीको सर्वौच्च अङ्गको रुपमा संघीय परिषद रहनेछ । त्यसपछि केन्द्रिय समिति र प्रदेश समिति रहनेछ । त्यसको संरचना समावेशी प्रकृतिकै हुनेछ ।
हामीले नेतृत्वमा २/४ जनाको पेवा हुनेगरि संगठनको निर्माण गर्ने छैनौं । अनि नेतृत्व चयन पनि समानुपातिक ढंगबाटै निर्माण गर्नेछौं । हाम्रो सामान्य सैद्धान्तिक अवधारणा पनि सामुहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको आधारमा हुने भन्ने नै छ । एउटै अध्यक्ष वा संयोजकभन्दा एक समिति एक अध्यक्ष हुनेछ । त्यसको समग्र संयोजकको विषयमा एक खालको सहमति भईसकेको छ ।
तपाईंले पनि भन्नुभयो, खासगरि प्रधानमन्त्री केपि शर्मा ओलीले गलत नियतका साथ कदम चाल्दा हामीलाई फाईदा पुग्यो भनेर । खासमा कस्तो खेल खेलिएको थियो ? के थिए भित्रका खेल ? के देखिन्छ प्रधानमन्त्रीको नियत ?
यो घटना सर्वाङ्ग नाङ्गो भईसकेको छ । अहिलेको टार्गेटमा समाजवादी र राजपा देखिएपनि अन्तिम टार्गेट भनेको जुनसुकै अवस्थामा सत्तामा टिकिरहनका लागि आफ्ना पार्टीका वैकल्पीक शक्तिहरुलाई डण्डा लगाउन गरिएको प्रपञ्च थियो । त्यसको लागि ओलीसँग पार्टीभित्र अहिले ४० प्रतिशतको मत छैन् ।
प्रधानमन्त्री ओली पार्टीभित्र आफ्नो पक्षमा ४० प्रतिशत पुर्याउन सांसद किनबेच गर्ने ध्याउन्नमा लागेका हुन् । राजपा र समाजवादीलाई फुटाउने र १५/२० जनासम्म सांसद लैजाउने उहाँको योजना थियो । त्यसो गर्दा उहाँलाई पार्टीभित्र ४० प्रतिशत मत पुर्याउन सहज हुन्थ्यो । ४० प्रतिशत मत पुर्याएसँगै उहाँले पार्टी फुटाएर निरन्तर प्रधानमन्त्री बन्ने खेलो गर्नुभएको थियो ।
खाली दिमाग सैतानको घर भनेजस्तै हुँदा नहुँदाका ग्राइण्ड डिजाइन गरेर आफ्नै पार्टी कब्जा गर्न चालिएको कदम मात्रै हो । भारतमा इन्दिरा गान्धीले पनि सत्तामा रहिरहन सत्ताकाे बलमा आफ्नै पार्टीलाई फुटाएकी थिइन् । उनले गरेकाे खेलाे ओलीले सिकाे गरेका छन् ।
यो पार्टी फुटाउने खेलोमा प्रदेश नम्बर २ को सत्ता परिवर्तको खेले थियो कि थिएन् ?
आजसम्म उपसभामुख तय भएन । उपसभामुखको लागि विभिन्न पार्टीसँग बार्गेनिङ्ग गर्ने क्रममा खासगरि राष्ट्रिय जनता पार्टीलाई उपसभामुख दिएर प्रदेश नं. २ को सत्ता परिवर्तन गराउने खेलो त निरन्तर खोजिएकै छ । उहाँहरुलाई केन्द्रमा पनि केहि मन्त्रि दिने र प्रदेश मा आफुँ अनुकुलको पात्र ल्याउन ओलीले बार्गेनिङ्ग त गरेकै हुनुहुन्छ । उहाँ यस खेलोमा निरन्तर नै हुनुहुन्छ ।
तपाईं ओलीसँग नजिक रहेर पनि पूर्वएमालेमा काम गर्नुभएको थियो । यो घटनासँगै ओलीको नियतबारे केहि चर्चा भएका छन् । तपाईंले व्यक्तिगत रुपमा कसरी हेर्नुहुन्छ ?
मलाई के लाग्छ भने, केपि ओलीजीसँगको आजसम्मको सम्बन्धको आधारमा, तत्कालिन एमालेभित्र सँगै काम गरेको एकजना सहयोद्धाको हैसियतले कुरा गर्दा, उहाँको यो कदमले इतिहासमै उहाँको राजनीतिक व्यक्तित्व समाप्त भएको छ । यहि काण्डकै कारण उहाँले आजसम्म कमाउनुभएको इज्जत गुमाउनु भएको छ । उहाँ भ्रष्टाचार र कमिसनतन्त्रको नायकको रुपमा चित्रित हुनुभएको छ । उहाँ राजनीतिक नेतृत्वमा निकै निरंकुश र स्वेच्छाचारी व्यक्तिको रुपमा स्पष्ट रुपमा चित्रित हुनुभएको छ ।
०४६ सालपछिको नेपाली राजनीतिमा जुन विकृति र विसंगीत देखा परेको थियो (सांसद किनबेचदेखि पार्टीविभाजन)जस्ता विकृतिलाई प्रधानमन्त्री ओलीले फेरि भित्र्याएका छन् । त्यतिबेला शंकर होटल प्रकरण निकै चर्चामा थियो । अहिले बालुवाटारकै शक्तिलाई प्रयोग गरेर म्यारिट होटल प्रकरण रचिएको देखियो । यसले केपि ओली इतिहासमै नालायक र राजनेता बन्न अयोग्य भएको पुष्टि गरेको छ ।
अध्यादेश काण्डसँगै प्रधानमन्त्री केपि शर्मा ओलीले विश्वास गुमाएका छन् । उनको गलत नियतबारे सबै स्पष्ट भएका छन् । सत्तामा टिकिरहन गरिएको घिनलाग्दो प्रपञ्चमाथि कारबाही हुनैपर्छ । मलाई लाग्छ, नेकपा पार्टीले उनिमाथि कारबाही गर्छ । अब संसदीय दलको नेताबाट हटाएर नयाँ शिराबाट अर्को प्रधानमन्त्री बनाउने स्थिति बन्छ ।
म्यारिड हाेटल प्रकरणको विषयमा केहि अस्पष्टता पनि देखिएको छ । के अपहरण गरिएकै थियो ?
सम्बन्धित व्यक्तिहरुले पनि भनिसकेकै छन् । जस्तोसुकै व्यवहार गरिएको भएपनि यो घटना अपहरण नै हो । त्यो पनि राज्यसत्ताको आडमा गरिएको । कतिपय नेताहरुलाई जर्बजस्ती लगिएकाे थाहा भएपछि हाम्रा साथीहरु रेस्क्युका लागि त्यहाँ गएका हुन् । होटलभित्र रहेका नेताहरु इच्छाअनुसार गएका होइनन् भन्ने नै छ । यस प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएकाेले त्यसकाे छानबिनका लागि संसदिय समिति गठन हुनुपर्छ र निष्पक्ष छानबिनकाे लागि उनले राजीनामा दिनुपर्छ ।
सम्बन्धित अन्तरवार्ता
हामी तिहार लगत्तै सरकारमा बस्ने नबस्ने निर्णय गर्छौं : राजेन्द्र श्रेष्ठ
प्रतिकृया लेख्नुहोस्: