विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ मुसहरी बस्तीमा आक्रमण गर्ने ६ जनालाई प्रहरीले शुक्रबार पुनः पक्राउ गरेको छ । घटनामा संलग्न १२ जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा किटानी जाहेरी दर्ता भएसँगै ६ जना पक्राउ परेका हुन् । अन्य ६ जना भने फरार छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का १८ वर्षीय दीपक साह, २५ वर्षीय ब्रह्मदेव यादव, २६ वर्षीय सञ्जय यादव, ३२ वर्षीय विन्दु यादव, ३६ वर्षीय उत्तिमलाल यादव र ४५ वर्षीय राजदेव यादव छन् ।
स्थानीय वैजनाथ यादवले १९ साउनको राति भाडामा मगाएका गुन्डाहरूले मुसहर बस्तीमा प्रवेश गरी पाँच जनालाई तरबार, भाला र रडले मरणासन्न हुने गरी आक्रमण गरेका थिए । घटना लगत्तै पुगेको प्रहरीले पाँच आक्रमणकारीलाई पक्राउ गरेको थियो । प्रहरीले दोषीमाथि कारबाही गर्नुको सट्टा मिलापत्र गराएर घटना ढाकछोप गर्ने प्रयास गरेको थियो ।
त्यसमा स्थानीय बासिन्दाले असहमति जनाउँदै विरोध गरेपछि इलाका प्रहरी कार्यालय निमुवाले पक्राउ गरिएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पठाएको थियो । जिप्रकाले मुद्दा नै दर्ता नगरी उनीहरूलाई २० साउनमा विराटनगर–१४ का निमित्त वडाध्यक्ष महिचन यादवको रोहवरमा छाडेको थियो । आक्रमणकारीहरूलाई प्रहरीले छाडेपछि पीडित परिवारकी एक त्रसित महिलाले बिहीबार आत्महत्या गरेकी थिइन् ।
बुढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रञ्जित यादव, ४० वर्षीय वीरेन्द्र गडेरी, २५ वर्षीय धीरेन गडेरी, २५ वर्षीय सुरेन गडेरी, ३० वर्षीय चलमलिया यादव र अर्का एक जना अझै फरार छन् । उनीहरूको खोजी तीव्र रूपले भइरहेको प्रहरीले जनाएको छ ।
आत्महत्या दुरुत्साहन कसुरमा पनि अनुसन्धान गर्ने
मध्यराति जघन्य आक्रमणबाट आमा घाइते भएपछि त्रासका कारण २४ वर्षीया उर्मिला ऋषिदेवले आत्महत्या गरेकी थिइन् । सो घटनाबारे पनि अनुसन्धान गर्ने मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार दलित अगुवालाई एसपी खड्काले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने र आत्महत्याको घटना पनि अनुसन्धान गरेर दुरुत्साहन कसुर पाइएमा थप कानुनी कारबाही चलाउने बताए ।
जाहेरी दर्तापछि पीडितले शव बुझे
मुसहर बस्तीमा गुन्डा लगाएर मध्यराति आक्रमण गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही नचलाएसम्म आत्महत्या गरेकी उर्मिलाको शव नबुझ्ने अडान दलित अगुवाले लिएका थिए ।
प्रहरी प्रमुखले घटनाका आरोपीलाई पक्राउ गरेर अदालतमा म्याद थप गराई आत्महत्याको घटनामा पनि अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि शव उठाइएको छ । शुक्रबार विराटनगरमा भएको दलित अगुवाको भेलाले कडा संघर्ष गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया लेख्नुहोस्: