नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् । दैनिक प्रयोग हुने औषधीय गुणयुक्त कागतीको माग बढ्दै गएपछि पछिल्लो समय यसको खेतीमा यहाँका कृषक आकर्षित भएका हुन् ।
प्राय पहाडी क्षेत्रमा गरिने कागती खेती पछिल्लो पटक तराईमा पनि विस्तार हुन थालेको छ । भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले यसको माग बढ्न थालेपछि भारतबाट ठूलो मात्रामा कागती आयात हुँदै आएको थियो । बजारको राम्रो सम्भावना र तराईमा समेत कागती खेती विस्तार भईरहेकाले रामग्राम नगरपालिका–१० का कृषक धिरेन्द्र श्रेष्ठ जागिरबाट अवकाश पाएपछि व्यावसायिकरूपमा कागती खेती गर्न थालेका छन् ।
कृष्णगोपाल एकिकृत कृषि फार्म दर्ता गरेर खेती शुरु गरेका उनले आफ्नै डेढ विघा जग्गामा भारतबाट आयातीत गोल्डेन लेमन जातको कागती लगाएका छन् । अहिले हुर्किसकेका ती कागती तीन वर्षमै फल दिने र यसका लागि धेरै सिँचाइ गर्न पर्र्दैन ।
श्रेष्ठले रू छ लाखको लागतमा एक हजार ५०० बिरुवा लगाएका हुन् । कागतीको बोट एकपटक लगाएपछि २५ देखि ४० वर्षसम्म फल दिन्छ । राम्रो उत्पादन भएमा वर्षमा एउटै बोटबाट मात्रै ५०० देखि एक हजार २०० वटासम्म कागती उत्पादन हुने कृषक उनको भनाइ छ ।
एउटै कागतीको रू दुईमा बिक्री भए पनि वार्षिक लाखौँ आम्दानी हुन्छ । बाह्रै महीना फल प्राप्त गर्न सकिने भएकोले कागती मनग्ये आम्दानी हुने श्रेष्ठले बताए । तालिम नलिएपनि टेलिभिजन र पत्रपत्रिका अध्ययन गरेर खेती गरेका श्रेष्ठले माछापालन र धानखेती पनि गरेका छन् ।
सुनवल नगरपालिका–१२ भूमहीकी दुर्गा बस्यालले पनि यसै वर्षदेखि कागती खेती शुरु गरेका छन् । बर्दघाट नगरपालिका–२ सुखौरामा रहेको आफ्नै १५ कठ्ठा जग्गामा ३०० बिरुवाबाट खेती शुरु गरिएको उनले बताए । दाङबाट ल्याएको सुन जातको कागती लगाएकी उनले केरा र कागतीको खेती सँगसँगै गरेकी छिन् । एक हजार ३०० केराको बोटसँगै कागती पनि लगाइएको छ । अहिले केराको बोट हुर्किएका छन् । तीन वर्षमा केरा टिपेर सकिएपछि कागतीको फल टिप्न शुरु हुने कृषक बस्यालको भनाइ छ ।
उनीसँगै सुखौरामा यमकुमारी भुर्तेलले पनि १२ कठ्ठामा कागती खेती गरेकी छिन् । दुबै जनाले सँगसँगै खेती थालेको बताउँदै भुर्तेल आफूले ३०० बोटबाट कागतीको व्यावसायिक खेती थालेको जानकारी दिइन् । वर्षौँसम्म फाईदा लिन पाइने र मनग्ये आम्दानी हुने भएकोले यो खेतीतर्फ आकर्षित भएको उनको भनाई छ । सुनवल नगरपालिकाले पनि वडा नं ११ को धुरकोट फेदीलाई कागती पकेट क्षेत्रकोरूपमा विकास गरी कार्य अघि बढाएको छ । पकेट क्षेत्रका लागि त्यहाँ गत वर्ष एक हजार कागतीका बिरुवा वितरण गरिएको नगर उपप्रमुख दधिराम अर्याल जानकारी दिए । गत वर्षको कार्यक्रम प्रभावकारी भने हुन नसकेको तर अव त्यहाँका कृषकलाई तालिम प्रदान गरेर कागती खेतीमा प्रोत्साहन गरिने उनको भनाइ छ ।
कागतीबाट वार्षिक लाखौँ कमाउन सकिने र वर्षौसम्म फाईदा पनि लिन सकिने भएकाले कृषक यसतर्फ आकर्षित भईरहेको कृषि ज्ञान केन्द्रका प्रमुख देवेशकुमार मिश्राको भनाइ छ । जिल्लाको रामग्राम, सुनवल र बर्दघाट नगरपालिकाका कृषकहरू पछिल्लो समय कागतीखेतीमा सम्लग्न छन् ।
प्रतिकृया लेख्नुहोस्: