कैलाली । कैलालीको जानकी गाउँपालिका–६ जगतपुरस्थित कैलाशेश्वर सामुदायिक वनमा आइतबार दिउँसोदेखि भीषण आगलागी भएको छ । समूहका अध्यक्ष खडक शाहले लायकपुर मुक्त कमैया शिविर नजिकै सामुदायिक वन क्षेत्रमा आगलागी भएको जानकारी दिए ।
आगलागीबाट करोडौँको वन पैदावार नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि टीकापुर र लम्की चुहा नगरपालिकाका दुई दमकल, दुई स्थानीय तह र रानी जमरा कुलरिया सिँचाइ आयोजनाका तीन स्काभेटर, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दा र उपभोक्ता नियन्त्रणमा खटेका छन् । ‘आगो लायकपुर बस्ती नजिकै रहेको जंगलबाट शुरुआत भयो । लायकपुर बस्तीका सयौँ घर जोखिममा छन्‘, उनले भने, ‘दिउँसो भएकाले तुरुन्तै खबर पायौँ । हामीले स्थानीय तह र प्रहरीको सहयोग लियौँ, दिउँसोदेखि आइतबार राति १ बजेसम्म आगो नियन्त्रणमा खट्दा बस्तीलाई जोखिमबाट बचाइएको छ ।’
सबैको प्रयासबाट आगो बस्तीमा आउनबाट जोगाइएको भए पनि वनमा लागेकोले पूर्णरुपमा नियन्त्रणमा आएको छैन । सुकेका रुखमा लागेको आगो नियन्त्रणमा अझै नियन्त्रणमा आएको छैन । डढेलोबाट १० हेक्टरमा रहेका वन पैदावार जलेर नष्ट भएको उहाँको भनाइ छ । सो सामुदायिक वन ४६० हेक्टर जमीनमा फैलिएको छ ।
‘‘आगलागीका कारण करोडौँ क्षति भएको छ । पुराना सालका रुख, नयाँ पलाउँदै गएका पालुवा समेत नष्ट भएका छन्’’, उहाँले भन्नुभयो, ‘‘अत्यधिक गर्मी बढेको र हावाहुरी चल्ने भएकाले आगो फैलने जोखिम छ । आगलागी बस्तीमा आएमा नियन्त्रण गर्न सकिदैन ।’’
पछिल्लो समय देशैभरि रहेका सामुदायिक वनमा लागेको डढेलोका कारण करोडौँको वन पैदावार नष्ट भएको छ । जिल्लाका अधिकांश सामुदायिक वनले आगलागीबाट बच्न अग्निरेखा निर्माण समेत गरेका छन् । ‘नागरिकको लापरवाही, उपभोक्ताको हेलचेक्र्याइले वनमा डढेलोका घटना भइरहन्छन्’। स्थानीय उपभोक्ता गीता धामीले भने, ‘‘बस्ती नजिक रहेका वन अझ आगलागीको जोखिममा पर्ने गरेका छन् । आगलागीका घटना हुन नदिन उपभोक्ता बढी जिम्मेवार बन्न आवश्यक छ ।’
जिल्लामा ५७६ सामुदायिक वन छन् । यी वनमा अधिकांश वन बस्तीसँग जोडिएका छन् । बस्तीसँग जोडिएका वन डढेलोका जोखिममा पर्ने गर्दछन् ।
प्रतिकृया लेख्नुहोस्: