काठमाडौं । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गरेको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाउनुभएको थियो । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृृद्धिको कामना गर्नुभएको दूतावासले उल्लेख गरेको छ ।
ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदूत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो । साथै उहाँले बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको तथा नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताए।
महारानीले आफ्नो दुईवटा ऐतिहासिक नेपाल भ्रमणको क्षणको स्मरण गर्दै अहिले कोभिड–१९ का कारण नेपालको अवस्था र खोपबारेमा चासो व्यक्त गरेकी राजदूत रेग्मीले बताए ।
राजदूत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पु¥याएको सहयोग तथा हालै कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा पु¥याएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो । रेग्मी बेलायतका लागि २१औँ राजदुतका रूपमा हालै नियुक्त भएका थिए ।
प्रतिकृया लेख्नुहोस्: