Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

‘कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन’

खबरडबली संवाददाता

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी संख्या पनि बर्सेनि घट्दै छ ।

एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचना जस्तै लाग्छ । विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको नामको सहारा लिनुपर्ने अवस्था छ । उपमहानगरपालिकाकै ‘मुटु’ भागमा रहेको यो विद्यालय विसं २०५७ देखि सञ्चालनमा छ ।

विसं २०६६ देखि सरकारी मान्यता पाएर जेनतेन अहिलेसम्म सञ्चालनमै रहे पनि भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिँदा यहाँ विद्यार्थी जोगाउन समेत धौधौ छ । विज्ञान विषयकी शिक्षिका सुनिताकुमारी चौधरीले विद्यालयको भौतिक सुधार हुन नसक्दा अहिले नजिकका अभिभावकले विकल्प खोज्न थालेको बताइन् । कक्षा कोठाको अभाव, सडकसँगै जोडिएर पनि घेरा पर्खाल नहुँदाको असुरक्षा, फोहरमैला जस्ता विभिन्न कारणले अहिले विद्यार्थी पाउन मुस्किल भएको उनले बताइन् ।

शिक्षिका पिंकी कुमारीले उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमै भएर पनि भौतिक संरचनाको अभावले विद्यार्थीलगायत शिक्षक, शिक्षिकालाई पठनपाठन गर्न निकै कठिनाइ भइरहेको गुनासो गरिन् । ‘एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ, त्यो समय अर्को साथीले पढाउने कुरा पनि भएन’, उनले भनिन्, ‘यस्तो समस्या वर्षौँदेखि छ, विद्यार्थी र हामी पनि निराश छौँ, समयको बर्बादी र गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ ।’

विद्यालयका प्रधानाध्यापक विश्वेश्वर दासले पनि यसरी पढाउन थालेको बर्सौँ भएको जानकारी दिए । ‘एउटै कक्षामा फरक फरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन थालिएको बर्सौँ भइसक्यो, के गर्नु बाध्यता यस्तै छ’, उनले भने, ‘विद्यालयको आम्दानी छैन, अरूलाई भवन बनाएर सहयोग गरिदिन भनेको बर्सौँ भइसक्यो तर कसैले सुनेनन्, अब त थाकी सके!’

कुनै बेला एउटै कक्षामा दुई सयसम्म विद्यार्थी हुने यस विद्यालयमा अहिले छ वटा कक्षामा भर्ना हुने विद्यार्थीको संख्या जोड्दा करिब एक सय मात्रै छ । तर, ती सबै विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुँदैनन् । तथ्याङ्कअनुसार विद्यालयमा कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा १२, कक्षा ४ मा ६ र कक्षा ५ मा नौ जना विद्यार्थी भर्ना छन् ।

शिशु कक्षामा भने ४० विद्यार्थी रहेको विद्यालयको अभिलेखमा देखिन्छ । यहाँ दुई स्थायी, दुई राहत र तीन बाल विकासलाई पढाउने जनशक्ति तथा दुई सहयोगी गरी आठ जना कर्मचारी छन् । नजिकै मुस्लिम धर्मावलम्बीको बसोबास रहेकाले यस विद्यालयमा भर्ना हुने कूल विद्यार्थीमध्ये पाँच-सात जना बाहेक सबै सोही समुदायका बालबालिका छन् ।

कक्षा ५ मा अध्ययनरत छात्र अरमान अन्सारीले अर्को कक्षासँग बसेर पढ्नुपर्दा सबैभन्दा दुःख लाग्ने गरेको बताए । उनले एउटा सरले पढाएको बेला अर्को कक्षाको विद्यार्थी पर्खेर बस्नुपर्ने वा समय बिताउन कक्षा छोडेर अन्तै जानुपर्ने कारण आफूहरूलाई स्कुल आउन मन नै नलाग्ने गरेको सुनाए ।

त्यसैगरी कक्षा ४ मा अध्ययनरत सृष्टिकुमारी चौधरीले गरिबीका कारण आफू श्री राष्ट्रिय प्राविमा पढ्न बाध्य भएको जनाइन् । ‘हुनेखाने साथीहरू विद्यालय छोडेर अन्तै पढ्न गइसके तर हामी चाहिँ गरिबीको कारणले यही पढिरहेका छौँ’, सृष्टिले मलिन मुद्रामा भनिन्, ‘हाम्रा लागि त कोही पनि रहेन छ, विद्यालय राम्रो भए त राम्ररी पढ्न पाइन्थ्यो, भविष्य पनि राम्रो बन्थ्यो होला तर अहिले त विकल्प नभएर यहाँ आउनु परेको छ ।’

विसं २०६६ मा विद्यालयले सरकारी स्वीकृति पाएसँगै जिम्मेवारी सुरु गरेका प्रधानाध्यापक यादवले विद्यालयको यही दुरावस्थाका कारण प्रतिवर्ष विद्यार्थीको संख्या घट्दै गएको बताए । ‘गरिब पढ्ने स्कुल भनेर पो हो कि, कसैले यहाँको अवस्था सुधार्न सहयोग गर्दैनन्, यसले विद्यार्थी त घटिरहेकै छन्, सँगसँगै उपमहानगरमै यस्तो अवस्थाको विद्यालय भन्ने गरिन्छ’, प्रअ यादवले भने ।

यो विद्यालयको अवस्थाका बारेमा वडा र उपमहानगरपालिकाको नेतृत्वलाई पनि जानकारी छ तर सुधारका लागि भने ठोस् पहल भएको छैन । उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो कार्यकाल सुरु भएको छोटो समयमै आफूले विद्यालयको अवस्था सुधारका लागि पहल सुरु गरिसकेको बताए । सुरुमा रु पाँच लाख दिने कुरा भएको र आफ्नो कार्यकालमा विद्यालयको मुहार फेर्ने गरी काम हुने उनले प्रतिबद्धता जनाए ।

त्यसैगरी वडा नं ८ का अध्यक्ष दिनेशकुमार सिंहले पनि विद्यालयको भौतिक संरचना सुधारका साथै त्यहाँ वरपरको वातावरण पनि विद्यालयमैत्री बनाउन जरुरी रहेकाले सोहीअनुसार सुधारका विषयमा छलफल भइरहेको बताए । उनले विद्यालयलाई विद्यालयजस्तै बनाउने गरी काम हुने धारणा राखे ।

विसं २०६७ सम्म कक्षा १ को पढाइ हुने यस विद्यालयमा शैक्षिक सत्र २०६७ मा कक्षा २, विसं २०७२ मा कक्षा ३ र २०७३ मा कक्षा ४ र चालु शैक्षिक सत्रदेखि कक्षा पाँचसम्मको पढाइ हुन्छ । प्रधानाध्यापक यादवले आफूले स्थानीय, प्रदेश र केन्द्र सरकारले विद्यालयको अवस्था सुधारमा सहयोग गरे उर्दु शिक्षक र अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरी विद्यार्थीको आकर्षण बढाउने योजना रहेको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending