Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रतिनिधिसभाको शून्य समय: किसानका समस्यादेखि नाका खुलाउने विषयसम्म

खबरडबली संवाददाता
काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरूले किसानका समस्या, मौलिक हकको कार्यान्वयन, पूर्वाधार निर्माणमा भएको ढिलाइ, तराई क्षेत्रमा डुबान, नाका खुलाउने समस्यालगायत विषय उठान गरेको छन् ।
 
सांसद अच्युतप्रसाद मैनालीले यही जेठ २ र ४ गतेको हावाहुरीले बाराको निजगढमा पाँच सय बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । उनले गत वर्ष पनि पीडित भएका किसानलाई बीमा कम्पनीले बीमा रकम उपलब्ध नगराएको भन्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराए । यस्तै सिम्रौनगढ पुरातात्विक महत्वको स्थान भएकाले विश्वसम्पदा सूचीमा राख्नका लागि पहल गर्न मैनालीले माग गरे। 
 
सांसद गोकुलप्रसाद बास्कोटाले गत साताको वर्षाका कारण काभ्रेपलाञ्चोकमा बाली र तरकारी नष्ट भएकाले बाली बीमा र तटबन्धको प्रबन्ध गर्न माग गरे । 
       
सांसद अजयकुमार चौरसियाले नेपालको अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको उल्लेख गर्नुहुँदै न्यून आय भएका नागरिकले शिक्षा, स्वास्थ्यलगायत मौलिक हक पाउन नसकेको बताए। “गरिब झन् गरिब हुने अवस्था छ । देशले गरिबी हटाउनका लागि शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको अनिवार्य व्यवस्था गर्नुपर्छ । सार्वजनिक विद्यालयमा गुणस्तरीय पठाइ नहुने, सरकारी अस्पतालमा पर्याप्त औषधि उपाचार नहुने अवस्थाको अन्त्य गरिनुपर्छ”, उनले भने।
 
सांसद अम्मरबहादुर रायमाझीले सामुदायिक विद्यालयमा देखिएका समस्याबारे ध्यानाकर्षण गराउनुभयो । सामुदायिक विद्यालयका शिक्षक न्यून सेवासुविधा र अनुदानका भरमा काम गरिरहेका उल्लेख गर्दै उहाँले अब बन्ने शिक्षा ऐनमा सेवासुविधा, दरबन्दीबारे स्पष्टरुपमा खुलाउन माग गरे।
       
सांसद अनिता देवीले जग्गा कित्ताकाँट खुलाउने सरकारी निर्णय कार्यान्वयन गरिनुपर्ने धारणा राख्नुभयो । मन्त्रिपरिषद्को वैशाख ५ गतेको बैठकले भू–उपयोगसम्बन्धी नियमावली, २०७९ लाई स्वीकृत गर्दै कित्ताकाँट खुला गरेको र सोही नियमावलीअनुसार अंशबण्डा, जग्गाको कित्ताकाँट, जग्गाको कारोबार खुलाइएको भए पनि नागरिकलाई अझै त्यो सुविधा पाउन समस्या रहेको उहाँले बताउनुभयो ।
 
सांसद अनिसा नेपालीले सरकारले उखु किसानलाई उत्पादनमा निश्चित प्रतिशत अनुदान दिने भनेर पटकपटक निर्णय गरे पनि उनीहरुले उत्पादनको मूल्य पाउन नसकेका बताउनुभयो । 
 
सांसद अमरेशकुमार सिंहले उखु किसानका समस्याबारे सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । “हामी उखुलाई नगदेबाली भन्छौँ, तर सरकारले त्यसलाई उधारो बाली बनाइदिएको छ । किसानले समयमा मल, बीउ र  सिँचाइको सुविधा पाउन सकेका छैनन् । किसानले उत्पादनको गरेको उखुसमेत सरकारले उधारोमा राख्छ”, उहाँले भन्नुभयो–“अनुदान तत्काल पाउनुपर्छ ।”
      
सांसद कुसुमदेवी थापाले पहाडी क्षेत्रमा बाँदरले किसानको बाली नष्ट गरिरहेकामा यसलाई नियन्त्रणका लागि सम्बन्धित निकायबाट पहल गरिनुपर्ने बताउनुभयो ।
 
सांसद ऋषिकेश पोखरेलले मोरङका सात ठूला नदीमा हरेक वर्ष क्षति हुने गरेको उल्लेख गर्दै तटबन्धको व्यवस्था गर्न माग गर्नुभयो । 
 
सांसदद्वय किरणकुमार साह र जुलीकुमारी महतो महासेठले तराईका क्षेत्रमा वर्षायाममा हुने बाढीको समस्या न्यूनीकरणका लागि पहल थालिनुपर्ने बताउनुभयो । तराई क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्यामा समाधानका लागि नदीहरूको तटबन्धका लागि उहाँहरुले सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउनुभयो ।
       
सांसद अमरबहादुर थापाले दैलेखको लाँकुरी भन्ने ठाउँमा केही दिनअघि चट्याङ परेर एकै घरका चार जना घाइते भएको र आठबिस नगरपालिकामा बनको डढेलोमा परी घाइते भएकालाई सरकारले तत्काल औषधि उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सांसद अमृतलाल राजवंशीले नागरिकताको समस्या उठाउनुभयो । अहिले करिब १४ लाख व्यक्ति नागरिकताविहीन अवस्थामा रहेको दाबी गर्नुहुँदै नागरिकताविहीन व्यक्तिले रोजगार पाउन नसकेको बताउनुभयो ।
       
सांसद अर्जुन नरसिंह केसीले नुवाकोट दरबार भूकम्पपछि पुन:निर्माण र मर्मतसम्भार हुन नसकेका कारण अहिले पनि जीर्ण अवस्थामा रहेकाले त्यसको पुन:निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । नुवाकोट बस्ती विकास आयोजना पहिल्यै सुरु भएकामा हालसम्म त्यसको प्रभावकारिता देखिन नसकेको र खानेपानीकोसमेत समस्या रहेको उहाँको भनाइ छ ।
       
सांसद अशोककुमार चौधरीले टीकापुर घटनाको अध्ययन गरेर तयार पारिएको लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरिनुपर्ने माग राख्नुभयो । सांसद आस्माकुमारी चौधरीले भूमिहीन र कमैयाको समस्या अझै कायम रहेकाले सरकार त्यसमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
       
त्यसैगरी सांसद असीम शाह नक्कली भुटानी शरणार्थी प्रकरणको गम्भीर छानबिनको माग राख्नुभयो । सांसद गोमा लाभ सापकोटाले पनि भ्रष्टाचारका मुद्दामा ठूला नेता मुछिनु लाजमर्दो विषय रहेकाले यस्ता घटनाको गम्भीर छानबिन गरिनुपर्ने बताउनुभयो ।
       
सांसद ईश्वरबहादुर रिजालले दोलखा जिल्लाबाट चीनको तिब्बत नाका जोड्नेगरी सडक निर्माणका लागि यसै वर्षको बजेटमार्फत व्यवस्था गरिनुपर्ने बताउनुभयो । अर्का सांसद उर्मिला थेबेले ताप्लेजुङको ओलाङचुङ्गोला नाका अझै खुल्न नसकेका कारण त्यस क्षेत्रका बासिन्दा समस्यामा परेको बताउनुभयो ।
 
त्यसैगरी, सांसद ईश्वरी घर्तीले ब्रिटिस सैनिकका रुपमा कार्यरत रहँदा दुवै खुट्टा गुमाएका रोल्पाको थवाङका हरि बुढामगरले सगरमाथा आरोहण गरेकामा सरकारले उहाँलाई विशेष सम्मान गर्नुपर्ने बताउनुभयो । अर्का सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको सीप, क्षमताबारे सरकारको नीति तथा कार्यक्रममा कुनै प्रावधान नभएकोबारे ध्यानाकर्षण गराउनुभयो । अपाङ्गता भएका व्यक्तिको सिर्जनालाई कदर गर्ने नीति सरकारले लिनुपर्ने उहाँको भनाइ छ ।
       
सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी रहेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी सांसद चित्रबहादुर केसीले नेपाललाई हिन्दूराज्य बनाउनका लागि वकालत गर्न भारतबाट पैसा आएको भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने र नेपालमा भइरहेको इसाइकरण रोकिनुपर्ने बताउनुभयो ।
       
सांसद गगनकुमार थापाले विद्युतीय सवारीसाधन यात्री नेपालमा दर्ता भए पनि अहिले फेरि समस्या देखिएको बताउनुभयो । “सरकारले भ्याटबिल तिरेको ३५ दिनभित्रमा दर्ता हुनुपर्ने भन्ने व्यवस्था गरेकामा त्यसले समस्या देखिएको छ । हाम्रा यस्तै नीतिका कारण हामी आफैँ लज्जित हुनुपर्ने अवस्था छ । स्वदेशी उत्पादन बढाउँछु भनेर अघि बढेको सरकारले यी विषयमा गम्भीर हुन जरुरी छ”, थापाले भन्नुभयो । अर्का सांसद कृष्णकुमार श्रेष्ठले पुराना उद्योग सञ्चालनका लागि पहल गरिनुपर्ने र वीरगञ्ज कृषि औजार कारखानाको व्यवस्थापनमा थप जिम्मेवार हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद गणेश पराजुलीले बर्सेनि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या बढिरहेकामा ठूलो जनशक्तिसँगै धनराशि पनि बाहिरी रहेकाले त्यसको निगरानीका लागि तथ्याङ्क प्रणाली बनाइनुपर्ने धारणा राख्नुभयो । स्वदेशबाट फर्किनेलाई उद्यमशील बनाउन सरकारले कुनै योजना ल्याउनुपर्नेमा पनि उहाँको जोड छ ।
 
सांसद चन्दा कार्की भण्डारी स्वास्थ्यको हक संविधान प्रदत्त मौलिक अधिकार रहे पनि नागरिकले अझै त्यसको प्रत्याभूत गर्न नसकेको बताउनुभयो । महिलामा हुने पाठेघरको मुखको क्यान्सरको समस्याबारे सरकारले कुनै स्पष्ट नीति लिनुपर्ने बताउनुभयो । चन्द्रबहादुर विश्वकर्माले पुष्पलाल लोकमार्गअन्तर्गत रुकुम र जाजरकोट जोड्ने पुल निर्माणमा ढिलाइ हुनुका कारणबारे सरकारको जवाफ माग्नुभयो । 
 
त्यस्तै सांसद ज्वालाकुमारी साह बारा जिल्लाका सडक कालोपत्र गर्नका लागि ठेक्का लिएका ठेकादार नै फरार रहेको उल्लेख गर्नुहुँदै यसबारे सम्बन्धित निकायको जवाफ संसदमार्फत माग्नुभयो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending