काठमाडौं । वर्षायाममा संक्रामक रोगले सताउने भय बढी हुन्छ । खासगरी पानीको कारण अपच, झाडापखला, फुड पोइजनिङ हुन सक्छ । छालाको संक्रमणदेखि पेटको रोगसम्मले यही बेला सताउन सक्छ ।
वर्षायाममा मूलतः के कस्ता संक्रामक रोग लाग्न सक्छ र त्यस्ता रोगबाट कसरी बच्ने ?
वर्षायाममा खासगरी पिउने पानी प्रदूषित हुन सक्छ । भेल–बाढी आदिसँगै बगेर आउने पानी मुहानमा मिसिने गर्छ । यस्तो पानीमा दिसापिसाब, मरेका जीवजन्तु पनि मिसिन सक्छ । त्यसैले पानीमा विभिन्न प्रकारका हानिकारक जीवाणु फैलिन सक्छन् ।
यस्तै पानी हाम्रो धारासम्म आइपुग्छ । दूषित पानी पिउँदा पेटमा संक्रमण फैलिने, झाडापखाला लाग्ने, पेटमा जुका पर्ने हुन सक्छ । यसैगरी पेटका अन्य समस्याले सताउन सक्छ ।
दूषित पानीकै कारण टाइफाइड, जन्डिस गराउने भाइरस हेपाटाइटिस पनि लाग्न सक्छ । यतिबेला हेपाटाइटिस ई संक्रमण हुन सक्छ, जसको जोखिम गर्भवतीलाई हुने गर्छ ।
टाइफाइड
धारा, इनार आदिको पानीले सागसब्जी, फलफूल पखाल्ने गरिन्छ । यसै माध्यमबाट टाइफाइड गराउने जीवाणु शरीरमा प्रवेश गर्छ । टाइफाइड एक जनाबाट अर्कोमा चाँडै फैलिन सक्छ । खासगरी दिसापिसाबमा हुने कीटाणुबाट यो संक्रमण एकअर्कामा सर्ने गर्छ । टाइफाइड हुँदा उच्च ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने गर्छ ।
ज्वरो
वर्षायाममा जोर्नी दुख्ने, रुघाखोकी लाग्ने र ज्वरोले सताउने भय पनि धेरै हुन्छ । ज्वरो तीनदेखि सात दिनसम्म रहन सक्छ ।
लामखुट्टेबाट सर्ने रोग
वर्षायाममा घर वरपर सरसफाइमा कमी हुँदा लामखुट्टेको प्रकोप बढ्छ । यसको टोकाइबाट मलेरिया, कालाजार, जापनी इन्सेफलाइटिसजस्ता रोगको प्रकोप बढ्छ । पानीको प्रभाव कम भएपछि विभिन्न किसिमले पानीमा जमेर बस्ने फूलपार्ने र फैलिने लामखुट्टेको अर्को प्रकारको घनत्व बढ्न थाल्दछ । जसले डेंगु, चिकेनगुनिया रोगका विषाणु सार्ने काम गर्छ । यो लामखुट्टेले एकैपटक धेरै मानिसलाई टोक्ने हुनाले यस्ता रोगको प्रकोप महामारीका रुपमा आउन सक्छ ।
स्क्रब टाइफस
स्क्रब टाइफस रोग मुसामा लाग्ने एक प्रकारको किर्नाजस्तै ‘माइट’ नामक संक्रमित जीवाणुले टोकेमा स्क्रब टाइफस रोग लाग्छ । यो जीवाणु झाडी, खेतबारी, वनजंगल, घरवरिपरि घाँस भएको ठाउँमा हुन्छ । मुसाले एक प्रकारको तरल पदार्थ खाएर अघाएपछि माइट जातको किर्ना घाँसपातमा झर्छ र उक्त घाँसपातमा का गर्दा वा टेक्दा शरीरमा टाँसिएर संक्रमितले टोक्दा सर्छ । स्क्रब टाइफस संक्रमित व्यक्तिमा टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थि सुनिनेलगायत लक्षण देखिन्छ ।
सर्पदंश
त्यस्तै कहिले पानी र कहिले चर्को घाम लाग्ने कारण खेतबारीमा काम गर्नेहरुमा सर्पदंशको जोखिम हुन्छ । यो मौसममा सर्पले टोकेर अस्पताल आउने मानिसको संख्या बढ्न सक्छ ।
सरुवारोग विशेषज्ञ डा, शेरबहादुर पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत छन् ।
प्रतिकृया लेख्नुहोस्: