Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

रित्तिँदै लिमी उपत्यका, सारिँदै मान्छेसँगै सयौं वर्ष पुरानो गुम्बा

खबरडबली संवाददाता
‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाए पनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरू न्यूनतम आधारभूत सेवाको अभावमा बसाइँ सर्न बाध्य भएका छन् । जलवायु परिवर्तनजन्य समस्या र त्यस्ता समस्या खेप्न बाध्य आफ्ना नागरिकलाई सरकारले विशेष सहुलियत प्रदान गर्न नसक्दा अहिले हिमाली क्षेत्रका बस्तीहरू रित्तिन थालेका हुन् । 

कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ । २०५५ सालमा ६५ घरधुरी रहेको जाङका स्थानीयहरू बसाइँ सरेर अन्यत्र गएका हुन् । अहिले गाउँमा ३ परिवारको मात्रै बसाइँ छ । उनीहरू पनि बसाइँसराइका लागि तयारी अवस्थामा छन् । बाटो माथि र बाटो तल दन्तलहर जसरी ढुंगाले कुँदिएका घरहरूमा ताल्चा लागेको छ । खेतीयोग्य फाँटहरू बाँझो छन् । अन्न बालीको लागि उर्वर जाँङका अधिकांश खेतीयोग्य जमिन घाँसले ढाकिएको छ । घाँसे मैदानको बीचमा काम गर्दै गरेका स्थानीय मिङमा थिङ्लेले तामाङ गाउँमा मान्छे नै नभएपछि खेती कसरी हुन्छ भनी प्रश्न गर्छन् ।

उनी भन्छन् ‘खेतमा ‘उवा’(एक प्रकारको हिमाली जौ) नहालेपछि केही हुँदैन । बीउ नहालेपछि केही हुँदैन । म एक्लै छु ।  खेत जोत्ने मान्छे छैन । सबै खेत छ । तर सबै घाँसै घाँस छ । नजोतेपछि के हुन्छ । सबै सरिसक्यो काठमाडौं तिर । ’

अर्का स्थानीयको गुनासो पनि मिङमा थिङलेले भन्दा फरक छैन । ‘गाउँमा मान्छे नै नभएपछि खेती कसरी हुन्छ ? ऊ सबै घरहरू रित्तो छ । हामी ३ घर मात्रै छौँ यहाँ । हामी पनि कहिले कता जाने भनेर बसिरहेका छौ ।’ बस्ती बीच ठडिएका बन्द घरहरूलाई देखाउँदै उनले भने,‘बस्ती सरिसक्यो । गाउँमा रहेको गुम्बा सार्ने सल्लाह गर्न मान्छेहरू आएका छन् । धर्मशालामा मिटिङ छ । मान्छेहरू त्यहीँ भेटिन्छन् । गाउँ त राम्रै छ । तर सबै काठमाडौं गइसके ।’

खाली भएको बस्तीका बारेमा धेरै बोल्न मन थिएन उनलाई । फेरि घाँस उखेल्नमै व्यस्त बने । अनकन्टार स्थान । सम्पर्कका लागि न सञ्चार छ न सवारी साधनको पहुँच । न त स्वास्थ्य उपचारको सुविधा ।  सिंगो लिमी उपत्यकाका तीन गाउँ मध्येको पहिलो गाउँ जाङमा बाँकी रहेका ३ घरपरिवारका सदस्यमा दुष्कर बन्दै गएको जीवनप्रतिको भय स्पष्ट देखिन्थ्यो । अनिश्चित गन्तव्यको भीमकाय ढुंगाले थिचिएको जस्तो अनुहारमा नैराश्यता सजिलै पढ्न सकिन्थ्यो ।

गुम्बा व्यवस्थापनका लागि आयोजना गरिएको बैठकमा सहभागी हुन जाङ पुगेका स्थानीय कुन्चोक पेम्बा लामा सरकारले हिमाली क्षेत्रका जनतालाई नहेरेका कारण बसाई सर्न बाध्य भएको दुखेसो गरे । उनले भने  ‘समस्यै समस्या छ । न यहाँ स्वास्थ्य चौकी छ । बिरामी भएपछि हेलिकोप्टर हायर गर्नुपर्‍यो भने २० लाखसम्म खर्च हुन्छ । त्यो गाउँलेले तिर्न सक्दैनन् । शिक्षा प्राइमेरि स्कुल छ । अहिले त स्कुल पनि खालि हुन लागिसक्यो । उपचारका लागि चीनको ताक्लाकोट जानुपर्छ । उनीहरू (चीनीया) नेपाली सीमाभित्र मनपरि छिर्छन् तर हामीलाई छिर्न कडाइ गरिन्छ । हाम्रै प्रशासनले हामीलाई कडाइ गर्छ । सीमा पास लिन गाह्रो छ ।’

संघीयता आयो । राज्य सत्ताको बागडोर जनताका छोराछोरीले गरे तर लिमीबासीका लागि ती सबै दन्त्य कथा जस्तै छन् । उनले भने ‘आधारभूत सुविधा भएको भए आफ्नो जन्मस्थान छोडेर जान कसलाई मन हुन्छ र ? गाउँ गाउँमा सिंहदरबार पुगेको कुरा सबैले सुनेको हो । लिमी बासीले त्यो महशुस गरेको छैन । यहाँ त सरकारले आँखै देखेको छ जस्तो लाग्दैन । त्यही कारणले त मान्छेहरू विस्थापित भएका छन् । सुविधायुक्त भएको भए को पो जान्छ र आफ्नो गाउँ छोडेर ? यस्तो रमाइलो ठाउँ छ । सरकार ठाउँ ठाउँमा आएको होला तर लिमीमा आएजस्तो मैले महसुस गरेको छैन ।’

स्थानीय तम्जी पेमा लामा सरकारले नहेरेपछि आफूहरू बसाई सर्न बाध्य भएको बताउँछन् । उनी भन्छन्, ‘ठाउँ एकदम राम्रो नै हो । पहिला ६०/६५ घरहरू थिए । मान्छे पनि धेरै नै थियो । पहिले हिउँदमा चौरीहरू तिब्बतमा चर्न जान्थ्यो, बर्सातमा हाम्रै गाउँमा चर्थ्यो । सरकारले नहेरेर गाह्रो भयो । आफ्नै देशमा याकहरू,च्याङ्ग्रााहरु चराउनु भन्यो । चरनको लागि अर्को ठाउँ दिन्छौ भन्यो । तर चरनको व्यवस्था भएन । हामीले च्याङग्रााहरू, याकहरू बेच्यौँ । याकहरू त हिउँमा नै बस्ने जनावर हो । अन्त लगेर चरन नै हुँदैन । बाच्नै सक्दैन । सरकारले पानी, बाटो केही हेरेन ।’ मुलुकको राजनीतिक अस्थिरताप्रति जानकार उनले कुनै पनि सरकारले लिमीवासीको समस्या सम्बोधन नगरेको गुनासो गरे ।

लिमीमा कुनै पनि राजनैतिक दलको संगठन छैन । स्थानीय सरकारको नेतृत्वमा स्वतन्त्र उम्मेदवार आएका छन् । तर राजनितिक स्थिरता भने उनीहरू पनि चाहन्छन् । लामा भन्छन्, ‘जुन सरकार आए पनि हामीलाई हेरेको छैन । सरकार त २/२ बर्षमा नै नयाँ नयाँ आउँछ । घरको परिवार एक जना बिरामी भयो भने हेलिकप्टर ल्याउँदा १४/१५ लाख जान्छ । पहिला ६५ घरधुरी थियो । अहिले ३ परिवार मात्रै छ । बस्ती सरेपछि गुम्बा पनि सार्नुपर्ने भयो । काठमाडौंको सुन्दरी जलस्थित गुम्बामा नै यहाँको गुम्बा पनि सार्ने निर्णय गरेर सामान सार्ने तयारीमा लागेका छौ । ’

२०७२ सालमा नेपालको संविधान जारी भएपछि दलहरूले गाउँ गाउँमा सिंहदरबार भन्दै मुलुकका सबै क्षेत्रमा विकासको मूल फुट्ने आश्वासन बाँडे । संघीयता कार्यान्वयनको पहिलो ५ वर्ष सकिएर दोस्रो कार्यालयमा प्रवेश गर्दे गर्दा पनि ती धुर दराजका सर्वसाधारणले संघीयताको अनुभूति गर्न सकेनन् । नेपालकै सबै भन्दा ठूलो गाउँपालिका नाम्खाको वडा नम्बर ६ अन्तर्गतका तीनवटा गाउँ मध्येको एउटा गाउँ जाङ रित्तो भएपछि त्यसको झण्डै १० र १५ किलोमिटर दूरीमा रहेका हल्जी र तील गाउँमा पनि बसाइसराइको प्रभाव पर्न सक्ने खतरा बढेको छ ।  वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ हिमाली क्षेत्रको बसाई सराई सुईटर फुकाले जस्तै हुने र एउटाले फुकालेपछि अर्कोले पनि फुकाल्ने भएकाले अन्य दुई गाउँमा पनि यसको प्रभाव पर्न सक्ने खतरा औँल्याउँछन् ।

उनी भन्छन्, ‘यो चाइना सिमानामा पर्‍यो । लिमी लाप्चाको नाकामा हामी बसिरहेका छौ ।  न यहाँ कुनै सुरक्षा निकाय छ । यहाँको सीमा सुरक्षा लिमिवासीले मात्रै गरेका छन् । अब यो जाँङबासीहरू तल जान थालेको छ । यो वर्ष यिनीहरू (जाँङका स्थानीय) गयो भयो त्यसपछि उता गाउँ(तील)को पनि जाला । त्यसपछि हाम्रो यो (हल्जी)को पनि जाला । पछि पछि पूरा लिमि नै तल झर्यो भने त यहाँ त सुरक्षा पनि छैन । केही पनि छैन । यो विषयमा संघ र प्रदेश सरकारले विशेष हेर्नुपर्ने देखिन्छ । ’

गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात लगायत न्यूनतम आधारभूत सेवाको अभावमा स्थानीयहरू बसाइँसराइ गर्न बाध्य भएका हुन् । आर्थिक उपार्जनको बलियो आधारसँगै, स्वास्थ्य, शिक्षा र यातायात पूर्वाधारको सहज व्यवस्था नगर्ने हो भने हिमाली क्षेत्रको बसाइँसराइलाई नियन्त्रण गर्न सहज देखिँदैन ।

चीनको सबै भन्दा नजिकको सीमा लाप्चामा कुनै पनि सुरक्षा संयन्त्र छैन । सिमिकोट देखि झण्डै १ सय ५ किलोमिटरको दुरीमा कुनै पनि सुरक्षा निकायको उपस्थिति छैन । जाँङ र हल्जीको बीचमा नेपाल प्रहरीको सुरक्षा चेक पोस्ट छ । जसले न त सीमा सुरक्षामा प्रभावकारी उपस्थिति जनाउन सकेको छ न त गाउँलेको सुरक्षामा भूमिका निर्वाह गर्न सकेको छ । अहिले सो क्षेत्रमा लिमी बासी नै सीमा सुरक्षाको रूपमा रहेका छन् । बसाइँसराइ पछि गाई गोठ जानेहरू हुँदैनन् ।  खर्क जाने हुँदैनन् । यसले सीमा सुरक्षामा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending