काठमाडाैं । मान्छेलाई हरेक क्षणमा परिवारको साथ चाहिन्छ । बच्चाहरुलाई बुवाआमा या अभिभावकको साथ चाहिएजस्तै बुढेसकालमा आफ्नो सन्तानको साथ अनिवार्य हुन्छ । बुढेसकालको सहारका लागि सन्तान जन्माउने नेपाली समाजको संकृति नै हो । तर, सन्तानको सहाराले बाँच्नुपर्ने बेला पुगेका बूढाबूढीहरु एक्लिरहेका छन् ।
पछिल्लो समयमा परिवारबाट एक्लिदै गएका बूढाबूढीहरुको संख्या बढिरहेको छ । कोही बाध्यताले एक्लिएका छन्, त कोही रहरले पनि एक्लिएको पाइन्छ । कसैको एक्लै बस्ने स्वभाव पाइन्छ भने कसैलाई परिवर्तित पारिवारिक ढाँचाले एक्लाएको छ । कोही बूढापाकाहरु सन्तानले वास्ता नगरेपछि एक्लिएका छन् । समाजको बिकासक्रमसँगै आधुनिक बन्ने नाममा सन्तानले बृद्धबृद्धाको भावना नबुझेपछि परिवारमा बेमेलको स्थिति बनेको पाईन्छ । अवसर र रोजगारीको खोजीका कारण परिवारहरु टुक्रिरहेका छन् । पछिल्लो समयमा एकल परिवारको परिपाटीले बूढापाकाहरु एक्लिएको पाइन्छ ।
सिन्धुलीकाे सुनकोशी १ स्थित आँपघारीमा ७२ वर्षिय पदम माया नेपालको सव आफ्नै घरमा सडेको अवस्थामा गत आइतवार फेला पर्यो । पाँच जना छोराको आमा उनी घरमा एक्लै बस्दै आएकी थिइन् । वृद्ध महिलालाई धेरै दिनदेखि नदेखेपछि छिमेकीहरुले काठमाडौँ बस्दै आएका छोराहरुलाई खबर गरेका थिए । घरमा बाहिरबाट बन्द भएको ढोका खोलेर हेर्दा अलि समय अगाडिनै मृत भएको र टाउकोमा किरा परेको र सडेगलेको अवस्थामा फेला परेको थियो ।
सुनकोसी गाँउपलिका–२ ओट्रेकोटका नरबहादुर पुलामीको दुई छोरी र चार भाई छोरा थिए । चार भाई मध्ये कान्छो छोराको करिब पाँच बर्ष अगाडी नै मृत्यु भयो । बाँकी रहेका छोरा पनि उनको साथमा रहेका छैनन् । कोहि बैदेशिक रोजगारमा गएका छन् भने कोहि सहरमा गएर बसेका छन् । घरमा दुई बुढाबुढी मात्रै छन् । “छोरा यस्तो विकट ठाँउमा के बस्थे, जमानै यस्तै अयो,” बृद्ध नरबहादुरले भने, “बाठाटाठा जति सहरतिर लागेका छन् । म र श्रीमती यहि घरमा छौ, ।”
त्यसो त बृद्ध नरबहादुर २००६ सालमा जन्मिनु भएको हो । तर उनलाई छोराले अपहेलना गरेको भन्ने लाग्दैन । समयको चक्रसँगै आफुहरु एक्लिएको भन्दै उनले चित्त बुझाए । “हातगोडा लागुन्जेल काम गरेर शहर बस्ने गर्छन्, यहाँ आउदैनन्,” उनले भने, “चाडपर्वमा आउछन्, यस्तै छ ।” सुविधा र सुख खोज्दै छोराहरु सहर पस्ने क्रम बढेपछि यतिखेर गाँउ बृद्धाश्रम जस्तै बन्दै गएको उले बताए ।
यस्तै सोही ठाँउका ७३ बर्षिय केशबकुमार सुनुवारको समस्या पनि उस्तै छ । उनी पनि पाँच सन्तानका बाबु हुन् । “सबैका छोरा सुकिलामुकिला भएर चाडपर्वमा निस्कन्छन्, खास धेरै प्रगति नगरेपनि छोरा घरमा बस्दैनन्,” उनले भने, “छोरीको विहे गरेर अर्कैको घरमा दिइन्छ, अनि बुढाबुढी मात्रै बस्नुको अर्को विकल्प के छ र ? पछिल्लो समय दुर्गम गाँउमा बृद्धबृद्धा एक्लिदै गएका छन् ।”
पछिल्लो पुस्ता सहर उन्मुख र सुविधा भोगी भएसँगै गाँउ नबस्दा बृद्धबृद्धा एक्लिदै गएका छन् । सबै बालबच्चाका साथमै रहदा र सँगै खाना खादा रमाइलो हुने बृद्ध आमाबा संझना मात्रै गर्दछन् । “एउटा छोरा बाहिर छ, अरु काठमाडाैंमा बस्छन्,” उनले भने, “यहाँ त हामी दुई बुढाबुढी बस्छौ । सबै बच्चा घरमै हुँदा जे पकाएपनि खाइन्थ्यो, अहिले दुई जना मात्रै छौ, खाना पनि राम्रोसँग रुच्दैन ।”
“छोराहरु गाँउमा खेतबारीमा दुःख गर्न मान्दैनन्, सहरमै बस्छन्,” उहाँले थप्नुभयो, “यहाँ घर खाली छ, तर छोराहरु कोठा लिएर सहरमा बस्न रुचाउछन् ।” उनीलाई आफ्नो छोराहरु घर नबसेको कुनै चिन्ता देखिदैन । “जमाना नै आधुनिक आयो । उनिहरु त दशै तिहारमा यसो दुई दिन घरबस्ने गरि आउछन्, अनि गइहाल्छन्,” उनले सुनाए ।
आफ्नो जमानामा काठमाडौँ लगायत देशका विभिन्न सहरमा घरायसी दैनिक सामान लिन पुग्नु पर्ने समस्या रहेको सम्झदै बृद्धबृद्धाहरु हाल गाँउमै सुविधा थपिएको बताउँछन् ।
“घर अगाडी जे चाहिए पनि छ,” कमलामाई नगरपालिका–२ निवासी ७५ बर्षिय बृद्ध सोमबहादुर घलानले भने, “हामी युवा अवस्था हुदाको भन्दा अहिले धेरै सुविधा गाँउमै छ ।” गाँउमा सुविधा बढेपनि छोराहरुलाई शहर बस्ने मोह बढेकाले गाँउमा बृद्धबृद्धा एक्लिदै गएको उनको ठम्याई छ । “हामी मात्रै होइन बाबु, गाँउमा धेरै घर बृद्धबृद्धाको मात्रै भएको छ,” उनले भने, “गाँउका एका÷दुई घर बाहेक बृद्धबृद्धा गाँउ कुरेर बसेका छन् ।” उनी पनि चार छोरोको बाबु हुन्, तर यतिखेर उनकाे साथमा काेही पनि छैनन् ।
प्रतिकृया लेख्नुहोस्: