काठमाडौं । माथिल्लो सदनका रुपमा लिईने राष्ट्रियसभामा दलहरूले हरेक समय जस्तै यो पटकपनि जनमत नपाएका हरुवाहरूलाई उम्मेदवार बनाएका छन् । विगतदेखि नै दलहरूले हरुवाहरुको भर्ति केन्द्र जस्तै बनाएका राष्ट्रियसभामा पछिल्लो निर्वाचनमा पनि उस्तै हर्कत देखाएका हुन् ।
हरेकदलहरुले निर्वाचनमा पराजितहरुलाई पाँच वर्ष नपुग्दै जस्केलाबाट संसद्मा छिराउन लागेका छन् । सोमबार भएको माथिल्लो सदनमा जाने उम्मेदवारको मनोनयनमा केही हारेका नेताहरूले मनोनयन गराएका छन् । यसबाहेक संसदीय चुनावमा टिकट दिन नसकेको, पार्टीभित्रको गुट उपगुटको सन्तुलनका लागि आश्वासन दिएर थमथमाइएकाहरू राष्ट्रिय सभाको उम्मेदवार बनेका छन् ।
कांग्रेसबाट पटकपटक चुनाव हार्दैआएका कृष्ण सिटौला कोशीप्रदेशबाट उम्मेदवार बनेका छन् । २०७४ र २०७९ मा लगातार चुनाव हारेका कृष्ण सिटौला गत वर्ष चुनावमा पराजित हुनेबित्तिकै राष्ट्रपतिको दौडमा पनि सामेल हुन अनेक तिकडमबाजी गर्न कस्सिएका थिए । त्यो प्रयास पनि असफल भयो । अन्ततः प्रतिनिधिसभामा चुनाव हारेको १३ महिनामै उनी राष्ट्रिय सभाको जित्ने निश्चित जस्तै उम्मेदवार बने ।
संविधान निर्माणका बेला संविधान मस्यौदा समितिको नेतृत्व गरेका सिटौला संविधान जारी भएपछि २०७४ र २०७९ का दुवै निर्वाचनमा झापा ३ बाट हारेका थिए । उनलाई दुवैपटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका थिए । तर, आम निर्वाचनमा पराजित उनी पाँच वर्ष नपुग्दै जस्केलाबाट संसद्मा छिर्दैछन् । उनको उम्मेदवारीको पार्टीबाटै विरोध भइरहेको छ । तैपनि राष्ट्रिय सभाको अध्यक्ष पनि उनी नै हुने निश्चित जस्तै भएको छ ।
सत्ता गठबन्धनले सिटौलाजस्तै दुर्गा पौडेललाई पनि राष्ट्रियसभामा मनोनीत गर्ने तयारी गरेको छ । उनी राष्ट्रिय जनमोर्चाकी पूर्व सांसद हुन् । अघिल्लो प्रतिनिधिसभा चुनावमा उनलाई प्युठानबाट एमाले नेता सूर्य थापाले हराएका थिए । गठबन्धनकी उम्मेदवार रहेकी उनलाई एमालेका थापाले ५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । प्रतिनिधि सभामा पराजित भएर फेरि मनोनीत सिटमै राष्ट्रियसभा छिर्ने तयारी भएपछि उनको सबैतिर आलोचना सुरू भएको छ ।
गठबन्धनकै जनता समाजवादी पार्टीले आफूले पाएको एक सिटमा हारेकै उम्मेदवार बनाएको छ । पूजा चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी गत मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन् । उनी जसपाकी कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन् ।
यसेैगरी गठबन्धनकै माओवादी केन्द्रले पनि चारचार पटक जनप्रतिनिधि बन्न नसकेकी पर्वतकी मनरुपा शर्मालाई उमेदवार बनाएको छ । उनी २०६४ देखि निरन्तर प्रत्यक्ष तथा समानुपातिक उमेदवार बन्दै आएकी नेतृ हुन । २०६४ मा कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित भएकी उनलाई नेकपा (माओवादी केन्द्र)ले २०७० को दोस्रो संविधानसभा चुनाव, २०७४ र २०७९ को प्रदेशसभा चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । उनी पनि यो पटक जस्केलाबाट छिरेर सांसद बन्दै छन् ।
चुनाव हारेर पाँच वर्ष पर्खिन नसक्नेमा प्रमूख प्रतिपक्षी एमालेका पनि उम्मेदवार रहेका छन् । मतभार हेर्दा एमाले लगभग नजित्ने अवस्थामा छ । तैपनि उसले फेरि हराउन अघिल्लो पटक पराजित व्यक्तिलाई छानेको छ । महिला क्लष्टरमा टिकट पाएकी संझाना देवकोटा गोरखा नगरपालिकाको मेयरमा पराजित व्यक्ति हुन् । उनी उक्त चुनावमा तेस्रो बनेकी थिइन् ।
२०७७ असोज १ गते तत्कालीन नेकपा र प्रधानमन्त्री ओलीले २०७४ मा चुनाव हारेका र धेरै पटक सांसद मन्त्री भएका बामदेव गौतमलाई राष्ट्रियसभामा लगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्य मनोनीत गरेर विधि र पद्धतिको शासनको उपहास भए लगतै चुनाव हारेकै नारायणकाजी श्रेष्ठ सोही पदमा पुगे । २०७४ सालमा गोरखा २ मा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पराजित भएपछि श्रेष्ठको सांसद बन्ने प्रयास असफल भएको थियो । दुवै नेताले २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजय भोगेका थिए । श्रेष्ठ त अहिले गृहमन्त्री नै छन् ।
आफ्ना मान्छे नियुक्त गर्ने नाममा सधैँ अवसर पाएका त्यो पनि जनमतबाट अस्वीकृत नेतालाई मात्र अवसर दिनुले विधि र पद्धतिको अवमूल्यन भएकाे छ । यहाँ नियुक्त गर्ने नेताको मात्र होइन, नियुक्ति लिन जाने नेताको नैतिकतामा पनि क्षय भएको छ । उनीहरू जनताको लागि लायक हुँदैनन् । किनकि उनीहरू जनमतबाट नभई पावर र पहुँचबाट त्यहाँ पुगेका हुन् ।
नेताहरूकै यस्तै कार्यशैलीका कारण माथिल्लो सदनमाथि तल्लो व्यवहार देखिएको कतिपयको तर्क छ । यही कारण लोकतान्त्रिक गणतन्त्रमाथि वर्षने तिखा तिखा प्रश्नहरू आउन थालेका छन् ।
प्रतिकृया लेख्नुहोस्: