काठमाडाैं । एमाले नेता महेश बस्नेत विरूद्ध एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन्। आफूलाई पटक पटक बलात्कार गरेको र जबरजस्ती गर्भपत गराइदिएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी हुन् ।
जाहेरी हुलाकबाट र जिल्ला सरकारी वकिल कार्यालयबाट पनि आएको र जाहेरीका बारेमा नै बुझ्ने काम गरिरहेको प्रहरीले जनाएकाे छ।
प्रहरीले मुलुकी फौजदारी संहिताअनुसार जाहेरी दर्ता गरेपनि उनले राखेका मागबारे अनुसन्धान गरिरहेकाे काठमाडौं प्रहरी परिसर प्रमुख भुपेन्द्र खत्रीले बताए। अब एक दुई दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा टुंगो लाग्ने बताउँदै उनले पक्राउ पूर्जीका लागि अनुमति लिन अदालत नगएको बताए।
यत्तिका प्रमाणसहित यस्तै जाहेरी लिएर सामान्य व्यक्तिविरूद्ध कोही आएको भए प्रहरीले के गर्थ्यो? कति दिनसम्म बुझ्थ्यो? भन्ने प्रश्नमा खत्रीले भने- हामीले ठूलो सानो सबैलाई बराबर गर्छौं। 'रूल अफ ल' मा सबैलाई बराबर हुन्छ।
केहीसमय अघि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी अघि नबढाएको भन्दै उनी सुरूमा सरकारी वकिल कार्यालय काठमाडौंमा गएकी थिइन्। पछि उनले हुलाकमार्फत उजुरी दिएकी थिइन् । उक्त उजुरीमाथि छानविन गर्न भन्दै आफूहरूले केही समयअघि काठमाडौं प्रहरी परिसरमा पठाएको सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।
‘आजभन्दा १०/१२ दिन अघि नै हामीकहाँ गुनासो आएको थियो पछि हुलाकमार्फत जाहेरी आयो,’ उनले भने, 'हामीले यसमा आवश्यक कारबाही अघि बढाउनु भनेर काठमाडौं प्रहरीलाई लेखी पठाएका थियौं। प्रहरीले बुझ्दै होला।’
बस्नेत र आफ्नो १० वर्षदेखि प्रेम सम्बन्ध रहेको तर पछिल्लो समय बस्नेतले आफूलाई झुक्याएर गलत औषधि खान दिई गर्भपतन गराइदिएको, बिरामी अवस्थामा बलात्कार गरेको पीडित महिलाको दाबी छ।
मंसिरमा भारतको तुलसी हेल्थकेयर अस्पताल र फागुन ७ गते आफू बस्ने काठमाडौंस्थित अपार्टमेन्टमा महेशले जबरजस्ती करणी गरेको पीडितको दाबी छ।
'यसरी निज कसुरदारले म जाहेरवालालाई मिति २०८० मंसिरमा भारतको तुलसी हेल्थकेयर अस्पतालमा १ पटक र मिति २०६०/११/०७ मा अपार्टमेन्टमा १ पटक गरी २ पटक जबरजस्ती करणी गरेको हुँदा निजलाई तत्काल पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २१९ बमोजिमको कसुरमा हदै सम्मको कारबाही गरी न्याय इन्साफ दिलाई पाउँ,' जाहेरीमा भनिएको छ, 'त्यस्तै निज कसुरदारले म जाहेरवालालाई झुक्काएर थाहा/जानकारी नदिई औषधि खुवाएर म जाहेरवालाको पेटमा रहेको दुई महिना १५ दिनको गर्भलाई गर्भपतन गराएको हुँदा निज कसुरदारको उल्लेखित कार्य मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को विपरितको कसुर भएको हुनाले निज कसुरदारहरूलाई उक्त कसुरमा समेत हदैसम्मको सजाय गरी पाउँ।'
फागुन ८ गते बिहान महेशले दुईजना व्यक्ति पठाएर आफ्नो मोबाइल, ल्यापटप सुनका गहना हिराको औँठी लगायत सामानहरू लुटेर लगेको आरोप पनि पीडित महिलाले लगाएकी छन्।
'कसुरदारले मिति २०८०/११/०८ गते प्रमाण नष्ट गराउने उद्देश्यले म जाहेरवालाको अपार्टमेन्टमा २ जना मान्छे पठाइ मोबाइल थान ३, ल्यापटपको हार्डडिस्क, साढे तीन तोलाको सुनको ब्रासलेट, डेढ तोलाको बेरुवा औँठी, एउटा सुन र अर्को हिरा समेत दुईवटा रिङ समेत चोरी गरेको हुँदा निज महेश बस्नेत र नाम नखुलेको अर्का २ जनालाई समेत अनुसन्धान गरी निजहरूलाई समेत मुलुकी अपराध संहिता २०७४ को दफा २४४ (१) (घ) बमोजिमको कसुरमा समेत हदै सम्मको कारबाही गरी पाउँ,' जाहेरीमा भनिएको छ।
प्रतिकृया लेख्नुहोस्: