रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर लु ३ त ३४०२ नम्बरको पानी ट्यांकर दुर्घटनामा परेको थियो । सोही ट्यांकरमा सवार रोल्पाको लुङरी गाउँपालिका ६ गुम्चालकी ४३ वर्षीया रुपसरी विष्टलाई च्यापेको थियो ।
घाइतेलाई उपचारका लागि रोल्पा अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । दुर्घटनापछि ट्यांकर चालक सिन्धुलीका १७ वर्षका राज थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशवराज बराकोटीका अनुसार नयाँ बन्दै गरेको उकालो सडकबाट उक्त ट्यांकर लैजान खोज्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार मृतकका आफन्तले क्षतिपूर्ति दिन माग गर्दै प्रहरीमा छलफल गर्न आग्रह गरेका छन् । उक्त विषयलाई लिएर छलफल भइरहेको पूर्वसांसद लेखनाथ आचार्यले बताए ।
मृतक महिला लामो समयदेखि लिवाङमा बस्दै आएकी थिइन् । श्रीमान्बाट अलग बस्दै आएकी उनका लिवाङमा छोरा र छोरी छन् । उनले ज्यालादारीमा काम गर्दै छोराछोरीलाई पढाउने गर्थिन् । शव पोस्टमार्टमका लागि रोल्पा अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: