Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

देवतालाई आराम दिन एक महिना गाउँ छाड्ने दिङबोचेको चलन

खबरडबली संवाददाता

सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यस वर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन्।

यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन्। बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान्यता यहाँको शेर्पा समुदायमा छ।

दिङ्बोचे समुन्द्री सतहबाट ४ हजार ४१० मिटरको उचाइमा पर्छ। विश्वकै आकर्षक हिमाल आमादब्लमको काखमा अवस्थित दिङबोचे हुँदै सगरमाथा जानुपर्ने भएकाले यस गाउँको आफ्नै पहिचान छ। 

यहाँ ६० घर शेर्पा समुदाय बस्छन्। जसमा ३० वटा जति होटल तथा लज  छन्। गाउँलेको मुख्य पेशा होटल व्यवसाय हो। केहीले पशुपालन तथा खेती गर्छन्।

असार–साउनमा पर्ने गरी बर्सेनि एकपटक ‘डिइ’ बार्ने यहाँका शेर्पाहरुको संस्कार हो। यो चलन निकै प्राचीन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडा सदस्य पासाङ नुरु शेर्पाले बताए। 

‘डिइ’ भनेको यहाँको समुदायको संस्कारअनुसार करिब एक महिनाभर घरमा ताला लगाउने र मानिसहरु सबैले गाउँ छाड्नु हो। 

उनीहरु बौद्ध धर्मगुरु अर्थात् लामा पुरोहितलाई साइत हेराएर बौद्ध परम्पराअनुसार पूजापाठ गराएर गाउँ छाड्ने गर्छन्। पर्यटनका लागि ‘अफ–सिजन’ भएकाले पनि एक महिनाभर अन्यत्र बसाइँ जाने चलन रहेको स्थानीय बताउँछन्।

सोही संस्कारअनुसार दिङ्बोचेवासीले गत बुधवारदेखि सबै घरमा ताला लगाएर गाउँ छाडेका छन्।

गाउँ छोड्नुअघि गाउँलेले स्थानीय गुम्बामा गएर बौद्ध परम्पराअनुसार पूजापाठ गर्ने र लामाबाट प्रसाद ग्रहण गर्ने चलन छ। यसो गर्दा पशुपालन र खेती फस्टाउने जनविश्वास छ। 

अधिकांश दिङबोचेवासीको घर पाङ्बोचे, खुम्जुङ, नाम्चे, लुक्लालगायत क्षेत्रमा पनि रहेकाले उनीहरु दिङ्बोचे छाडेपछि त्यता जाने स्थानीय बताउँछन्। डिइ अवधिमा उनीहरु वस्तुभाउसमेत लिएर अन्यत्र सर्ने गर्छन्। 

पर्यटकीय रुपले अफसिजन भएकाले कतिपय काठमाडौँ, पोखरा, भारतको बोधगयालगायतका स्थान घुम्न निस्किएका छन्। डिइको प्रचलन दिङ्बोचेबाहेक खुम्बुको अन्य स्थानमा नरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए। 

“मैले धेरै पहिलादेखि यो कुरा सुनेको हुँ तर हाम्रो नाम्चेतिर यस्तो चलन छैन त्यहाँ मात्रै हो, त्यो उनीहरुको आफ्नो संस्कार हो”, उनले भने।

करिब ४ सय जनसङ्ख्या रहेको उक्त गाउँ एक महिनाका लागि सुनसान भएको छ। ‘डिइ’को अवधिमा कुनै पनि मानिसहरु घर तथा बारीमा जान नमिल्ने वडा सदस्य शेर्पाको भनाइ छ। 

उनले भने, “यतिखेर हामी सबैले गाउँ छोडिसकेका छौँ, अब एक महिनाभर कसैको होटल तथा घरमा ताल्चा खोल्न मिल्दैन र हामी कोही पनि जाँदैनौँ, कहिलेकाहीँ विदेशीहरु घुम्न गएमा त्यहाँ बास बस्ने गरी जाँदैनन्, उनीहरु घुम्छन् र नजिकैको अरू बस्तीमा बास बस्न पुग्छन्।”

‘डिइ’ का लागि उर्दी गर्न समुदायले वर्षैपिच्छे दुईजना व्यक्ति शेर्पा भाषामा ‘नवा’ चुन्ने चलन छ। 

गाउँलेबाट चुनिने ती व्यक्ति (नवा)ले कहिलेबाट गाउँ छोड्ने कहिले प्रवेश गर्ने, कहिलेबाट घरमा आगो बाल्न पाउने, कहिले बारीमा पस्ने जस्ता कुराहरुको उर्दी गर्ने गर्छ। 

नवाले हरेक कुरा लामा गुरुहरुसँग समन्वय गर्ने भएकाले सबै गाउँलेले मान्नुपर्ने चलन छ। 

सोहीअनुसार यस वर्ष पनि असार २६ गतेदेखि पूजापाठ गरेर सबैले गाउँ छाडेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए। संस्कार तोडेमा अनिष्ट हुने, गाउँमा मानिसहरुको मृत्यु हुने, बाढी आउने, बालीनाली बिग्रन्छ भन्नेजस्ता मान्यता छ।

स्थानीय पासाङ शेर्पाले भने, “यो हाम्रो पुस्तौँदेखिको संस्कार हो, यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूलो लामा भिक्षुहरुले यसलाई तोडेको खण्डमा गाउँमा अनिष्ट हुने भनेपछि कसैले हिम्मत गर्न सकेका छैनन्, यहाँ यो नियम सबैले मान्छन्, कसैले विरोध गर्दैनन्।” 

यसअवधिमा  दिङ्बोचे प्रहरी चौकीका प्रहरीसमेत नाम्चे सरेका छन्। एक महिनाभर गाउँमा मानिस नहुने भएपछि प्रहरी चौकी सर्नु परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।

यो चलनलाई कतिपयले रूढीवादको संज्ञा दिने गरेका छन्। यो समयमा फुर्सद हुने भएकाले भ्रमण तथा रमाइलो गर्न विगतमा गाउँ छाड्ने चलन थियो। 

विस्तारै यसलाई संस्कारका रुपमा विकास गर्दै लगिएको छिमेकी गाउँका स्थानीय बताउँछन्। आरोहण तथा पदयात्रा याममा सगरमाथा क्षेत्र जाने पर्यटकले यहाँका होटलहरु भरिभराउ हुने गर्छन्। 

पदयात्रीहरु लेक पचाउन दिङबोचेमा दुई रात बिताउने गर्छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending