Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

समानुपातिक कोटामा छानिने सांसदबारे सर्वोच्च अदालतको आदेशको अर्थ के हो ?

खबरडबली संवाददाता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेमा पहुँचवालाको हालीमुहाली देखिएको भन्दै आगामी निर्वाचनअघि नै कानुन संशोधन गरेर त्यस्तो प्रवृत्ति रोक्ने पहल गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।

गत फागुन ३० गते संवैधानिक इजलासले दिएको उक्त निर्देशनात्मक आदेशको हालै आएको पूर्णपाठमा "समानुपातिक समावेशी सिद्धान्तको व्यावहारिक कार्यान्वयनका लागि विद्यमान कानुनमा थप परिमार्जन गर्नु" आवश्यक देखिएको उल्लेख छ।

राष्ट्रिय समावेशी आयोगका एक पूर्वअध्यक्ष तथा एक जना संविधानविद्ले उक्त आदेशअनुरूप सरकारले अब आगामी निर्वाचनअघि नै सरकारले "समानुपातिक र समावेशी सिद्धान्त व्यावहारिक रूपमा पनि लागु हुने खालको कानुन" बनाउनुपर्ने देखिएको बताएका छन्।

नेपालमा विसं २०८४ सालमा स्थानीय, प्रदेश र सङ्घ सबै तहका निर्वाचनहरू हुँदै छन्। उक्त आदेशअनुसार त्यसअघि नै सरकारले चुनावसम्बन्धी कानुन संशोधन गर्नुपर्ने देखिएको छ।

रिट निवेदनमा गरिएको माग

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेलगायतले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० जना सांसदहरूको चयन संविधानको मर्म र भावनाविपरीत भएको दाबी गर्दै रिट निवेदन दिएका थिए।

त्यसमा उनीहरूले सरकार, निर्वाचन आयोग र समानुपातिक सांसदहरू चयन गर्ने सबै दलहरू एवं चुनिएका ११० जना सांसदहरूलाई समेत प्रतिवादी बनाएका थिए।

समानुपातिक समावेशी सिद्धान्त र नेपालको संविधानविपरीत भएको भन्दै निवेदकहरूले सबै सांसदहरूको नियुक्ति बदर गर्न माग गरेका थिए। तर सर्वोच्च अदालतले उनीहरूको नियुक्ति संविधानसम्मत भएको भन्दै बदर गर्नुपर्ने कारण नरहेको भन्दै उक्त रिट निवेदन खारेज गर्ने आदेश दिएको छ।

न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाशकुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलासले रिट निवेदन खारेज गरेसँगै सरकारलाई निर्देशनात्मक आदेश पनि जारी गरेको हो।

किन भयो रिट निवेदन खारेज

अदालतले निवेदकहरूको मागदाबी नपुगेको भन्दै सांसदहरूको नियुक्ति बदर गर्नुनपर्ने निर्णय गरेको छ।

त्यसमा "… समानुपातिक निर्वाचन प्रणालीबाट विजयी घोषित भएका ११० जना सांसदहरू आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेका व्यक्ति नभई आर्थिक रूपले सम्पन्न, उच्च शिक्षा हासिल गरेका, पटक-पटक मन्त्री/सांसद भइसकेका, उच्च सामाजिक अवस्था भएका व्यक्तिहरू रहेको भन्नेबाहेक…" दाबी नगरिएको उल्लेख गरिएको छ।

उक्त आदेशमा भनिएको छ, "संविधानको धारा ८४ वा प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को यो दफाको योग्यता पुगेन वा उक्त ऐन वा नियमावलीको प्रयोगमा यो यस्तो त्रुटि भयो भन्ने जिकिर गरेको अवस्था नदेखिएको, विद्यमान कानुन र निर्वाचन आयोगद्वारा अनुसरण गरिएको प्रक्रियाअनुरूप नै निजहरू निर्वाचित भएको देखिँदा निवेदकको मागबमोजिमको आदेश जारी गर्नु परेन। प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ।"

निर्देशनात्मक आदेशमा के छ?

उक्त रिट निवेदन खारेज गरे पनि अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

उक्त आदेशमा अदालतले सीमित र प्रभावशाली व्यक्तिहरूले समानुपातिक निर्वाचन प्रणालीको फाइदा उठाएको कुरालाई स्वीकार गर्दै व्यावहारिक रूपमा त्यस्तो प्रवृत्ति हटाउनुपर्नेमा जोड दिएको छ।

सर्वोच्च अदालतको आदेशमा "प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा विद्यमान निर्वाचनसम्बन्धी ऐनको त्रुटि भएको नदेखिएको कारणले रिट निवेदन खारेज भएको" उल्लेख गरिएको छ।

तर उसले संविधानमा रहेको समानुपातिक सहभागितासम्बन्धी हकलाई प्रत्याभूत गर्न त्यसको व्याख्या आवश्यक परेको कुरामा जोड दिएको छ।

अदालतको आदेशमा भनिएको छ, "समावेशिताको अर्थ नै समाजका अगुवाद्वारा निर्वाचित निकायहरू कब्जा (एलिट क्याप्चर) लाई रोक्नु रहेकोसमेत सन्दर्भमा उल्लेखित वर्गमा परे पनि आर्थिक रूपले सम्पन्न, उच्च शिक्षा हासिल गरेका, पटकपटक मन्त्री/सांसद भइसकेका, उच्च आर्थिक र सामाजिक हैसियत बनाएका सो वर्गका माथिल्लो तह (क्रीमी लेयर)मा रहेका व्यक्तिहरू नै राज्यका निर्वाचित निकायमा पुग्दा समावेशी राज्य संरचनाको स्थापना गर्ने संविधानको प्रमुख उद्देश्य नै परास्त हुन जाने सम्भावना रहन्छ।"

"साथै प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा २८ ले समावेशी सिद्धान्तलाई स्वीकार गरेकोसमेत अवस्थामा संविधानको प्रस्तावना, मौलिक हकसम्बन्धी व्यवस्था, राज्यका निर्देशक सिद्धान्त र संविधानमा समानुपातिक समावेशिताबारेमा गरिएका समस्त व्यवस्थाहरूलाई दृष्टिगत गर्दा समानुपातिक समावेशी सिद्धान्तको व्यावहारिक कार्यान्वयनका लागि विद्यमान कानुनमा थप परिमार्जन गरिनु वाञ्छनीय देखिन्छ।"

"तसर्थ उपर्युक्त परिप्रेक्ष्यमा प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ मा संविधानद्वारा प्रत्याभूत समानुपातिक समावेशिताको हकअनुरूप थप परिमार्जन आवश्यक हुँदा आगामी निर्वाचनपूर्व प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ समेतका विभिन्न तहका निर्वाचनसँगसम्बन्धित प्रचलित कानुनमा संविधानको शब्द, भाव र मर्मअनुरूप आवश्यक पुनरावलोकन गर्नू गराउनू भनी प्रत्यर्थीहरूका नाममा निर्देशनात्मक आदेश जारी हुने ठहर्छ।"

आदेशको अर्थ के?

सर्वोच्च अदालतले दिएको आदेशले समावेशी सिद्धान्तको अर्थ सबैभन्दा पिछडिएको वर्गलाई राज्यका निर्णायक निकायमा पुर्‍याउने संविधानको मर्मविपरीतको काम रोक्नु भन्ने अर्थ बोकेको विज्ञहरूको भनाइ छ।

संविधानविद् चन्द्रकान्त ज्ञवालीका अनुसार अदालतले संविधानमा भएका व्यवस्थाहरूलाई कानुनमा पुनरवलोकन गरेर थप स्पष्ट गर्दै कार्यान्वयन हुने गरी अभ्यास गर्नुपर्‍यो भन्ने आदेश दिएको बताए।

'के त्यसो भए कानुनमा लेखिँदैमा अहिलेकै जस्तो व्यावहारिक रूपमा उस्तै अवस्था आउन सक्दैन र?' भन्ने प्रश्नमा उनले भने, "संविधानमा लेखियो, व्यापक भयो। कानुनमा त्यो स्पष्ट हुन्छ र त्योभन्दा बाहिर जान पाउँदैन।"

"संविधान र कानुनभन्दा बाहिर गएर अभ्यास भयो भने अदालतले तत्कालको तत्कालै बदर गर्न सक्छ।" उनले त्यस्तो भए पनि एकाध पटक हुनसक्ने तर कानुनै स्पष्ट व्याख्यासहित लेखेपछि दुरुपयोग गर्न अहिलेजस्तो सजिलो नहुने दाबी बताए।

राष्ट्रिय समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमल्सेनाले उक्त आदेशमार्फत् "न्यायपालिकाले कार्यपालिकालाई अहिलेका प्रचलित निर्वाचनसम्बन्धी ऐनमा सुधार गर्नू" भनेको बताए।

उनले भने, "समानुपातिक प्रणालीबाट चयन गर्दा प्रभावशालीहरूले त्यसलाई कब्जा गरेको र तरमारा प्रवृत्ति देखियो त्यसैले त्यस्तो नहुने खालको कानुन बनाउनू भन्ने अदालतको आदेश हो।"

उनी अध्यक्ष रहेकै बेला गरिएको "विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव" विषयमा गरिएको अध्ययनले पनि आरक्षणको कार्यान्वयनका क्रममा "तरमारा वर्ग"ले मात्र पटकपटक सुविधा पाएको देखाएको थियो।

सोही अध्ययनका आधारमा आयोगले एक पटक आरक्षणको सुविधा लिएकालाई पटकपटक सुविधा लिने परिपाटी अन्त्य गर्नुपर्ने सिफारिस गरेको थियो।

तिमल्सेनाले संविधानले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछि पारिएका सीमान्तकृतहरूलाई समावेश गर्नुपर्ने परिकल्पना गरेको तर "त्यसो भन्दैमा प्रतिस्पर्धात्मक क्षमता नभएकालाई ल्याउनू" भन्ने परिकल्पना नगरेको र पटकपटक प्रभावशालीले सुविधा पाउने लक्ष्य पनि नराखेको बताए।

अहिलेको आदेशले पनि संविधानको सोही लक्ष्यलाई कार्यान्वयन गर्ने "ठोस कानुनी आधारको व्यवस्था गर्नू" भनेको उनको बुझाइ छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending