काठमाडौं । मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हिनामिना प्रकरणमा एमाले सांसद एवं सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई राजनीतिक दबाबमा उन्मुक्ति दिने गरी फाइल अगाडि बढाइएको छ ।
कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले उनको नाम काटेर प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको छ । जब कि अञ्जला ६ वर्ष सहकारीको सञ्चालक सदस्य थिइन् । त्यो अवधिसहितको १० वर्षका कागजपत्र नै सहकारीबाट गायब पारिएका छन् ।
धनपालथाल गाउँपालिका– ४ मा रहेको सहकारीका पीडितले अध्यक्ष, पदाधिकारी र सञ्चालक सदस्यविरुद्ध प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए, जसमा पोखरेलकी पत्नी अञ्जलाको नाम पनि किटान गरिएको थियो ।
तर, राजनीतिक पहुँचका आधारमा रजिस्ट्रारको कार्यालयले उनको नाम हटाएको छ । करिब डेढ वर्षअघि नै पीडितहरूले दिएको उजुरीमा रजिस्ट्रार कार्यालयले बेवास्ता गर्दै आएको थियो । मुद्दा र्चिदै गएपछि गत २४ भदौमा मात्र अञ्जलाको नाम काटेर अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्र पठाइएको छ ।
रजिस्ट्रार कार्यालय कोशीका सूचना अधिकारी मनोज कार्कीका अनुसार प्रहरीलाई लेखेको पत्रमा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुर तथा लेखा समिति संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासमाथि मात्रै थप अनुसन्धानका लागि प्रहरीमा पत्र पठाइएको छ । लेखा समिति सभापति पोखरेलकै अग्रसरतामा ०६८ मा स्थापना गरिएको यो सहकारीका अध्यक्ष रौनियार एमालेनिकट मानिन्छन् ।
‘अञ्जला कोइराला अहिले सञ्चालक समितिमा हुनुहुन्न । हामीले वर्तमान समितिको नाम मात्र पठाएका हौँ,’ कार्कीले भने, ‘प्रहरीले अनुसन्धानका क्रममा संलग्नता देखिए उहाँलाई पनि तान्न सक्छ । प्रहरीले आवश्यक परे लेखापरीक्षक माग्छ । त्यो वेला थप संलग्नमाथि अनुसन्धान हुनेछ ।’
१८ करोड ५१ लाख कुल पुँजी रहेकोे सहकारीमा ऋणी र सञ्चालक सदस्यको जग्गाको कागजपत्र धितो राखेर विभिन्न व्यावसायिक बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालिएको छ । सहकारीले बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार पनि फिर्ता गर्न बाँकी छ । सहकारीमा करिब पाँच हजार सेयर सदस्य छन् । कतिपय ऋणीलाई बैंकबाट ऋण लिन लागेको थाहै नदिई झुक्याएर हस्ताक्षर र ल्याप्चे लगाइएको छ । बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि करिब डेढ वर्षदेखि सहकारीमा ताला लगाइएको छ ।
तर, सहकारीमा रकम हिनामिना हुँदाको बखत अञ्जला सञ्चालक सदस्य थिइन् । उनी ०७२ देखि ०७८ सम्म सञ्चालक सदस्य थिइन् । ०६८ देखि ०७८ सम्मका सहकारीका कागजपत्र सबै गायब पारिएका छन्, जसका कारण अहिले अनुसन्धानमै पनि समस्या भएको छ ।
पोखरेलपत्नी अञ्जलाले ०७५ मा जारी भएको सहकारी नियमावलीले सञ्चालक बस्न निषेध गरेपछि आफूले राजीनामा दिएको दाबी गरिन् । तर, उनी ०७८ सम्म सञ्चालक कायम रहेको कागजातबाट देखिन्छ । उनी विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत छिन् ।
सहकारीले विभिन्न बैंकबाट लिएको ऋण समयमा नतिरेकाले बैंकले अध्यक्ष रौनियारसहित तत्कालीन सञ्चालक समिति सदस्य सबैलाई कालोसूचीमा राखिसकेको छ । लेखा समिति सभापति पोखरेलपत्नी अञ्जला पनि कालोसूचीमा छिन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र कार्कीले उमागौरी कृषि सहकारीमाथि प्रदेश सहकारी रजिस्ट्रार कार्यालय कोशीले पठाएको पत्र इलाका प्रहरी कार्यालय रंगेलीमा रहेको बताए । उनले अनुसन्धान भइरहेकाले यसबारे थप बोल्न नमिल्ने बताए ।
‘अध्यक्ष र विभिन्न समयका पदाधिकारीले बैंकबाट निकालेको रकम अपचलन नगरेको भए सहकारीमा समस्या आउने नै थिएन । कमाउनेहरूले अनेक तिकडम गरेर कमाए, तर हामी सोझा–साझाहरूचाहिँ बित्थामा बदनाम भयौँ,’ सञ्चालक समितिका एक सदस्यले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: