झापा । झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् ।
आज दिउँसो भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए । मानवीय क्षति नभए पनि ती हात्तीले स्थानीयको पाकेको धानबालीमा क्षति गरायो ।
वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना होइन । तर दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मान्न थालेका छन् । जङ्गल छेउछाउका बस्तीमा हात्तीबाट सुरक्षित हुने समाधानका ठोस उपाय निकाल्न सकिएको छैन ।
“मानिसहरु आ–आफ्नो काम धन्धामा व्यस्त थिए”, भद्रपुर–९ मिलचोकका दीपेन्द्र कटुवाल भन्छन्, “हात्ती आयो, हात्ती आयो भनेर हल्ला चल्यो । हेर्न जाँदा घर नजिकैको धानखेतमा हात्ती चरिरहेको रहेछ ।” नुनिया र बासमती धानको बाला भर्खर निस्किएको थियो। त्यही धान खाएर हात्ती निचाझोडा जङ्गलतिर गएको उनले बताए।
झापामा एक दर्जन बढी हात्तीले स्थानीय जङ्गलमा आश्रय लिँदै आएको वन कार्यालयले जनाएको छ । जिल्लाको दक्षिणस्थित जलथल जङ्गल, मध्यभागस्थित निचाझोडा जङ्गल र उत्तरतिरको चुरेभावर जङ्गलमा हात्ती बस्ने गर्छन् ।
उत्तरी झापाको बाहुनडाँगी छिचोलेर भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती र रैथाने हात्तीबाट जिल्लावासी पिरोलिएका छन्। १५ स्थानीय तहमा हात्तीले नडुलेको कुनै वडा छैन। हात्तीको आक्रमणमा मानिसको मृत्यु नभएको कुनै स्थानीय तह जिल्लामा बाँकी छैन ।
प्रायः जङ्गली हात्तीहरु दिउँसो जङ्गलभित्र लुक्ने र राति भएपछि आहाराका लागि गाउँ पस्ने गर्छन् । तर, अब हात्तीले आफ्नो प्राकृतिक आनीबानीमा परिवर्तन गर्न थालेको र दिउँसो पनि चरनमा हिँड्न थालेको हुनसक्ने पर्यावरण संरक्षण अभियन्ता देवेन्द्र खरेल बताउँछन् ।
“हरेक दिन दुई केजीसम्म आहारा नखाए हात्तीको पेट भरिँदैन”, चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेल भन्छन्, “जङ्गलमा उसका लागि केही पनि खानेकुरा बाँकी छैन । राति गाउँ पस्दा पेट नअघाएपछि दिउँसो गाउँ पस्नु उसको बाध्यता हुनसक्छ ।”
जनावरहरुले पनि मानिसले जस्तै अस्तित्व रक्षाका लागि आफ्ना आनीबानी बदल्ने उनी बताउँछन् । जङ्गलमा मात्र डुल्ने बाँदरहरु अचेल राजमार्ग छेउछाउ मानिसले गाडीबाट फ्याँक्ने खानेकुराको पर्खाइमा बसिरहेका भेटिन्छन् । कागलगायत चराहरु मानिसले खाएर फ्याँक्ने खाद्यान्नमा निर्भर भइसकेको तथ्यलाई उनीहरुको आनीबानी परिवर्तनका रुपमा लिनुपर्ने खरेल बताउँछन् ।
जङ्गलभित्र पेटभरि खान पाउने हो भने जङ्गली हात्ती गाउँ नपस्ने खरेल बताउँछन् । जङ्गल फँडानी र जङ्गलभित्र पर्यटकीय पूर्वाधारका नाममा भएका गतिविधिले हात्तीलाई जङ्गलमा शान्तले बस्ने वातावरण नभएको उनको विश्लेषण छ ।
प्रतिकृया लेख्नुहोस्: