Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

मन्त्री खड्काको कम्पनीले अझै तिरेन स्काउटको ५ करोड भाडा, भन्छन्- पुरानो कुरा मैले बिर्सी सकें

खबरडबली संवाददाता

काठमाडौं ।  ऊर्जामन्त्री दीपक खड्का सञ्चालक रहेको कम्पनीले सम्झौताअनुसार जग्गा र भवनको भाडा नबुझाएको भन्दै नेपाल स्काउटले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा दिएको निवेदन १० महिना बित्दा पनि छलफल चलाइएको छैन ।

ऊर्जामन्त्री खड्काले भने नेपाल स्काउटको लैनचौरस्थित जग्गा भाडा छुट गराउन निरन्तर ‘लबिइङ’ गरिरहेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा संखुवासभाबाट निर्वाचित सांसद खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्वयंसेवी संस्था स्काउटको ३ रोपनी जग्गा भाडामा लिएको थियो । उक्त कम्पनीले भाडाबापत ५ करोडभन्दा बढी बुझाउन बाँकी छ ।

तीन रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएका खड्काको कम्पनीले सम्झौताविपरीत ९ रोपनी जग्गा हडपेर १५ वर्षसम्म भोगचलन गरेको थियो, सम्झौता सकिएपछि पनि जग्गा नछाडेको र समयमा नै भाडा भुक्तानी नगरेको विषय अदालत प्रवेश गरेको थियो ।

स्काउटको सम्पत्ति खाली गर्न उच्च अदालत पाटनले आदेश दिएको २ वर्षसम्म उनले अवज्ञा गरेका थिए । चौतर्फी दबाबपछि गत वैशाख ७ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गरेर जग्गा खाली गराई ‘सिल’ गरेको थियो । प्रशासनले त्यतिबेला जग्गा तथा भवनमा सिलबन्दी गरे पनि मन्त्री खड्काको कम्पनीले बक्यौता भाडा नतिरेको स्काउटले जनाएको छ ।

राष्ट्रपति, प्रधानमन्त्रीदेखि वडा कार्यालयसम्मलाई पत्र लेख्दा पनि कुनै सुनुवाइ नभएपछि नेपाल स्काउटले अदालतको फैसलाअनुसार खड्का सञ्चालक रहेको कम्पनीबाट भाडा उठाउन राज्यव्यवस्था तथा सुशासन समितिसँग सहयोग मागेको थियो ।

नेपाल स्काउटले २०८० माघ १४ मा दिएको निवेदनलाई समितिले बेवास्ता गरिरहेको छ । निवेदनमा समिति सभापति रामहरि खतिवडाले समिति सचिवलाई आवश्यक कारबाहीका लागि तोक लगाएका थिए । समिति सचिव सुरज दुराले शाखा अधिकृत विकास श्रेष्ठका नाममा तोक लगाए । त्यसपछि निवेदन थन्किएको छ । सचिवालयले उक्त निवेदनका बारेमा समितिका सदस्यहरूलाई जानकारी गराएको छैन ।

स्काउटले राज्यव्यवस्था समिति सभापतिलाई सम्बोधन गरी लेखेको पत्रमा ऊर्जामन्त्री दीपक खड्काको नाम किटान गरिएको छ ।

निवेदनमा नेपाल स्काउटको एकलौटी भोगाधिकार रहेको काठमाडौं महानगरपालिका साविक वडा नं ९ (हाल वडा नं २६) लैनचौरस्थित कित्ता नम्बर १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोगचलन सम्बन्धमा सांसद खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका बीचमा २०६५ मा सम्झौता भएको र त्यसको म्याद २०७५ मा सकिएको उल्लेख छ ।

सम्झौतामा उल्लेख नभएको पार्किङलगायतका विषयमा खड्काले फर्जी कागजात तयार पारेको र सम्झौतापत्रमा केरमेट गरेर १० वर्षको करार अवधिलाई १५ वर्ष बनाएको जानकारी पनि राज्यव्यवस्था समितिलाई गराइएको छ ।

स्काउटले राज्यव्यवस्था समितिमा दर्ता गराएको पत्रमा काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतमा खड्काले मुद्दा हारेको पनि उल्लेख छ । खड्काले स्काउटलाई भाडाबापत २०७५ सालमा ५ करोड ४१ लाख ७० हजार ३ सय १४ रुपैयाँ ८५ पैसा तिर्न बाँकी रहेको जानकारी गराइएको थियो ।

स्काउटले राज्यव्यवस्था समितिलाई अनुरोध गर्दै भनेको छ, ‘स्थान खाली गराउन सहयोग गर्नॅपर्ने अधिकारप्राप्त निकायबाट पत्राचार गरिएको लगभग १ वर्ष पुग्दासम्म पनि कुनै प्रभावकारी भूमिका ननिभाएको हुँदा बक्यौता रकम चुक्ता गर्न र स्थान खाली गराउन त्यस समितिमा छलफल चलाई नेपाल सरकारलाई आवश्यक निर्देशन दिई सम्मानित अदालतको फैसला कार्यान्वयन गर्ने वातावरण सुनिश्चितताका लागि आवश्यक सहयोग गरिदिने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ ।’

राष्ट्रपति, उपराष्ट्रपति, तत्कालीन प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता (केपी शर्मा ओली), उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, प्रतिनिधिसभाका सबै सांसद, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं २६ को कार्यालयलगायतमा गरिएका पत्राचार पनि स्काउटले राज्यव्यवस्था समितिलाई पठाएको थियो । तर राज्यव्यवस्था समितिले स्काउटको पत्रलाई वास्ता गरेको छैन ।

राज्यव्यवस्था समितिका सभापति खतिवडा भने तत्कालीन गृहमन्त्री रवि लामिछानेले विवाद समाधान गर्ने बताएपछि स्काउटको जग्गा र खड्काका विषयमा थप छलफल नगरिएको बताए । 

‘हामीले त्यतिबेला गृह मन्त्रालयलाई पत्र लेखेका थियौं । त्यसपछि गृह मन्त्रालयले रातारात स्काउटको भवनमा ताला लगायो,’ उनले भने, ‘तत्कालीन गृहमन्त्री रवि लामिछानेले स्काउटको जग्गाबारे मन्त्रालयमार्फत काम गर्ने भन्नुभयो । समितिले पनि गृह मन्त्रालयलाई नै पत्र लेख्ने हो, त्यही भएर हामी रोकिएका हौं । ताला लगाइएपछि के काम भयो भन्ने जानकारी पनि आएन ।’

खड्काले स्काउटलाई तिर्नॅपर्ने बक्यौताबारे पनि फरक–फरक धारणा आएको संसदीय समिति सभापति खतिवडाको भनाइ छ । 

‘पैसा उठाउने कुराको हकमा ठेक्का लिने र दिनेले के–के सर्तका आधारमा गरेका थिए, त्यसअनुसार होला । कति तिर्नॅपर्ने भन्नेबारे स्काउट र खड्काको फरक–फरकबार धारणा थियो,’ उनले भने । स्काउटको पत्रबारे समितिमा छलफल गर्न सकिने खतिवडाको भनाइ छ । 

‘यसबीचमा भएका कामको तथ्यगत जानकारी हामीलाई चाहिएको छ,’ सभापति खतिवडाले भने, ‘म राज्यव्यवस्था समितिमा कांग्रेस, एमाले, माओवादी भनेर चिन्दिनँ । कांग्रेस नेताका आधारमा कुनै पनि कुरामा विभेद गरेर छलफल नचलाउने गर्दैनौं ।’

सांसद तथा मन्त्री नै सञ्चालक रहेको खड्का ल्यान्डबाट ‘बक्यौता उठाइपाउँ भनी’ जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको स्काउटले जनाएको छ । स्काउटका अनुसार प्रशासनले हस्तक्षेप गर्दासम्म खड्का ल्यान्डले ६ करोड ६२ लाख भुक्तानी गर्न बाँकी थियो । त्यसयता पटक–पटक गरी करिब १ करोड रुपैयाँ मात्र भुक्तानी भएको स्काउटका निर्देशक रामप्रसाद भट्टराईले जनाए ।

‘खड्का ल्यान्ड प्रालिबाट जग्गा फिर्ता लिइसकेका छौं । बक्यौता उठिसकेको छैन,’ उनले भने, ‘सबै पैसा दिलाउन आग्रह गर्दै स्काउटले अदालतमा मुद्दा दर्ता गरेको छ ।’ भाडा रकम भुक्तानी नहुँदा स्काउट परिसरमा प्रशासनले गरेको सिलबन्दी कायम छ ।

मन्त्रीले नै भाडाबापत रकम नबुझाएर विवाद कायमै राख्दा जग्गा तथा भवन प्रयोग तथा अन्य पक्षलाई भाडामा लगाउन नपाएर संस्थालाई घाटा भएको स्काउटका अर्का अधिकारीले गुनासो गरे । ‘तोकिएको भाडामा पनि छुट चाहिन्छ भन्दै राजनीतिक तहबाट लबिइङ भइरहेको छ,’ उनले भने, ‘प्रमुख आयुक्तको अध्यक्षतामा हुने बैठकमा युवा तथा खेलकुदमन्त्री नै उपस्थित भएर यस विषयमा हस्तक्षेप गर्दै आउनुभएको छ ।’

कांग्रेस सांसदसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जरिवाना छुट दिन स्काउटलाई निर्देशन दिँदै आएको स्रोतले जनाएको छ । सम्झौतामा प्रत्येक महिनाको बहाल सोही महिनाको १५ गतेभित्र बैंकमा दाखिला गरी सक्कल भौचर स्काउटमा बुझाउनुपर्ने उल्लेख छ । भाडा रकम समयमा भुक्तानी नगरे दैनिक दुई सय ५० रुपैयाँ जरिवाना लाग्ने दुईपक्षीय सम्झौतामा उल्लेख छ ।

मन्त्री खड्काले आफूले प्रालि छाडेको दाबी गर्दै भाडा बुझाउन सम्बन्धित पक्षलाई भनिसकेको बताए । ‘सबै रकम बुझाइसकेको हुनुपर्छ । कति भाडा लिन बाँकी छ, त्यो स्काउटलाई थाहा होला,’ उनले भने, ‘पुरानो कुरा मैले त बिर्सी पनि सकें ।’

स्काउटको जग्गा भाडामा लिएका सांसद खड्काले आसपासमा थप ९ रोपनी जग्गासमेत हडपेर भाडामा लगाएका थिए । स्काउटको जग्गा र भवन नियन्त्रणमा लिएका खड्काले १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा उठाउँथे । स्काउटको जग्गाभित्र लैनचौर ब्यांकेट र माई च्वाइस रेस्टुरेन्टको संरचना ५ रोपनीमा फैलिएको छ । बाँकी करिब ७ रोपनी जग्गामा सशुल्क पार्किङका लागि प्रयोग गरिएको थियो ।

खड्काले आफ्नो सम्पर्क कार्यालयसमेत स्काउट परिसरमै स्थापना गरेका थिए, जहाँ पार्टीको झन्डा राख्ने गरिएको थियो । भाडामा दिएको भवनमा विद्युत् र पानीको महसुलसमेत स्काउटका नाममा उठ्थ्यो । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending